गीतमा नयाँपन भर्ने दिपक शर्मा

गीतमा नयाँपन भर्ने दिपक शर्मा

मलाई आफ्नो बनाएर दुखी बन्छौ भने, जिन्दगीकै सवाल हुन्छ, छुट्टिएर तिमीसँग बाँच्न सक्ने, आधीखोला उर्लिएर, जस्ता आधुनिक गीत, पिरिम लगाउने, तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, तिम्रो पिक्चर हिट्, पर्ख पर्ख मायालु, देखन चम्पा, पहिलो नम्बरमा जस्ता अनगिन्ती चर्चित गीतका संगीतकार हुन् दीपक शर्मा

पछिल्लो समय बजारमा आएका उनका गीतहरु निकै चर्चित छन्। म्याग्दी जिल्लाको विकट गाउँमा जन्मेका शर्माले अहिलेको अवस्थासम्म आइपुग्न निकै संघर्ष गरेका छन्। उनले संगीत भरेका लोक आधुनिक, तथा फिल्मका अनगीन्ती गीतहरुले बजार तताए। एकपछि अर्को गीत दिएर संगीतको क्षेत्रमा योगदान दिइरहेका दीपकसँग अन्नपूर्णका लागि अजवी पौड्यालले गरेको कुराकानी। 

के गर्दै हुनुहुन्छ?

कोठाभित्र बसेर काम गर्ने मानिस म प्राय संगीतकर्म मै व्यस्त छु। नेपथ्य वा पर्दा पछाडि बसेर काम गर्ने मानिस प्राय एकान्तमा बसेरै काम गरिरहन्छ। कहाँबाट नयाँ धुन र लय निस्कन्छ त्यहि विषयमा अध्ययन गरिरहेको हुन्छु। 

संगीतमा लागेको कति भयो?

करिब १५ वर्षदेखि यहि क्षेत्रमा छु। सुरुवातमा लोकगीतमा संगीत कम्जोज गरेको थिएँ। त्यो बेला राम्रा गीतको अडियो अत्यन्तै बिक्थ्यो। ‘ढल्के पिपल’ भन्ने गीतमा पहिलो पटक संगीत गरेको थिएँ। 

के गर्नुहुन्छ संगीतमा, जुन छोयो त्यहि हिट हुन्छ त ?

गीत हिट गराउन त्यस्तो कुनै बेग्लैे आइडिया छैन मसँग। अरु संगीतकारले जे गर्छन् त्यहि ने गर्ने हो मैले पनि। कुनैे पनि गीत चर्चित हुनका लागि शब्द, संगीत, गायकी, सबै कुराको राम्रो तालमेल हुनुपर्छ। गीतको टेस्ट बजारमा नयाँ पनि हुन जरुरी छ।

गीतको शब्द हातमा परेपछि के गर्नुहुन्छ ?

कुनै पनि गीतको शब्द हातमा परेपछि शब्दले के भन्न खोजेको छ ? कस्तो अर्थ लाग्छ, त्यसमा लुकेको भाव बुझ्ने कोसिस गर्छु। शब्द अगाडि बसेर संगीतका १२ सुरहरु ‘सा रे ग म  प ध नी सा’ भित्रै लय बनाउने हो। शब्दमा लय भर्ने कुनै मापन छैन। सुरलाई भाँचेर हुन्छ नयाँ जोडेर हुन्छ गीतमा नयाँ लय दिने प्रयत्न गनुपर्छ। शब्दबाटै गीतकोे शैली थाहा हुन्छ। लय बनाउने क्षमता ७० प्रतिशत संगीतकारकै कला हो। बाँकी ३० प्रतिशत मात्र सिकाइले काम गर्छ। संगीत भर्ने खास क्षमता संगीतकारसँग छैन भने राम्रो धुन बन्दैन। 

कम्पोजिसन कसरी गर्नुहुन्छ ?

यो एउटा मेडिटेसन हो। मेलोडी बनाउने समयमा म हातमा हार्मोनियम, गीतार वा पियानो लिएर बसेको हुन्छु। कसरी नयाँ धुन निस्कन्छ ? शब्लाई फिल गर्दै गुनगुनाउने गर्छु। यो एउटा ध्यान गर्नु जस्ते हो। 

नयाँ धुन निकाल्न कत्तिको गाह्रो छ ? 

संसारमा सबैभन्दा गाह्रो काम नै सिर्जना गर्नु हो। यो निकै पावरफुल काम पनि हो। कहीँ पनि नभएको स्वरुपलाई नयाँ आकार दिनु पक्कै पनि चुनौतिपूर्ण छ। मेलोडी (धुन) ब्रह्माण्डमा नै छरिएर रहेको छ। खोलाको कलकलमा पनि एउटा बेग्लै ताल हुन्छ। बहिरहेको हावा होस् या झरी पर्दाको झमझम त्यहाँ पनि सुमधुर धुन हुन्छ। यसरी यत्रतत्र छरिएको मेलोडीलाई आफूअनुकुल बनाउनु नै धुन सिर्जना गर्नु हो। 

गीत बनाउँदा केलाई विशेष ध्यान दिनुपर्छ ?

श्रोता र दर्शककोको मनोभाव मुख्य कुरा हो। बजारमा आइरहेका, सुनिरहेका शैलीभन्दा केही फरक र केही विशेष बनाउँछु भन्ने हुनु नै पर्छ। संगीत गर्नु एउटा काम पक्कै हो तर त्यसमा लगाव हुनुपर्छ। 

तपाईँले फरक तरिकाले बनाएको कुनै गीत ?

‘देखन चम्पा, सुनन चम्पा’ गीतलाई सुदुरपश्चिमको लवज र टोन भन्ने गरिन्छ। तर यसमा मैले नयाँ प्रयोग गरेको छु। गीत हातमा परेपछि मैले त्यसलाई सुदुरपश्चिमेली बिट चेन्ज गरेर मेलोडी पप र आधुनिकको बेसमा बसेर लोक शैलीमा काम गरेका थिएँ। सुदुरपश्चिमेली शैली मात्र अपनाएको भए त्यो गीतका श्रोता सीमित हुन्थे। तर मैले सबै श्रोतालाई समेट्नको लागि यसमा अलिकति फरक काम गरेको थिएँ। 

संगीत सिक्नु भयो ?

अहिले पनि म संगीतकै विद्यार्थी हुँ। पियानो सिक्न गुरुसँग गैरहेको हुन्छु। करिब ८ वर्ष क्लासिकल संगीत सिकेँ। २ वर्ष तबला, २ वर्ष गीतार र अहिले पियानो सिकिरहेको छु। अझै धेरै सिक्न र जान्न बाँकी छ। 

बाद्यबाधक पनि बजाउनुहुन्छ ?

मलाई काम लाग्ने र संगीतका लागि नर्भइ नहुने बाजा बजाएर काम चलाउन सक्छु। प्रोफेसनको हिसावले म बाद्यबादक होइन तर पियानो, गीतार, मादल, तवला, हार्मोनियम बजाउन सक्छु। 

गीत लेख्ने गर्नुभएको छ ? 

संगीत संगसंगै मैले आफैँले लेखेका गीत पनि बजारमा आएका छन्। करिब २०० भन्दाबढि गीत लेखेको छु।

एक महिनामा कतिवटा गीतमा संगीत गर्नुहुन्छ ?

म निकै कम काम गर्छु। संगीत कठिन साधना हो। जुन भित्रैबाट लगाव आउनुपर्छ। लगातार खट्न सक्दिनँ। म अलिकति डल माइन्ड भएको मान्छे हुँ। एउटा गीत सकेपछि केहि दिन रेस्ट गर्छु। लगत्तै काममा लाग्दा राम्रो धुन जन्मँदेैन। म हरेक गीतमा उत्तिकै खट्ने गरेको छु। एक महिनामा ७-८ वटा गीत गरिरहेको हुन्छु।

तपाईँका सबै गीत हिट हुन्छ ?

अवस्य होइन। जति पनि काम गर्छु। त्यसको एक प्रतिशत मात्रै हिट भए पनि पुग्छ मलाई। करिब ८०० जति गीतमा संगीत गरिसकेको छु। त्यस्तै दुई दर्जन गीतले  मात्रै दिपक शर्मा बनाएको हो। 

गीत बजारमा गएपछि तपाईँलाई कस्तो लाग्छ ?

गीतको प्रतिक्रिया कस्तो आयो म बुझिरहेको हुन्छु।  हिट भयो भने खुसियाली मनाउने र फ्लप भयो भने निर्मातासँग बसेर समीक्षा गर्ने गरेको छु। 

परिवारमा सांगीतिको माहोल कस्तो थियो ?

परिवारका कोहि पनि संगीतमा लागेका छैनन्। म्याग्दी जिल्लामा नै निकै कम हुनुहुन्छ यो क्षेत्रमा। मलाई भने सानैदेखि संगीतले साथ दियो। यही क्षेत्रमा केही गर्छु भनेर काठमाडौँ आएको हो। निकै दुख भोगियो। आफ्ना मान्छे नहुँदा क्षमता नै भए पनि कसैले सहयोग नगर्ने रहेछन्। आफ्नै बलबुताले यहाँसम्म पुगे। सर्जकले विश्वास गर्न सक्ने भएको छु। यही मुख्य कुरा हो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.