बहुमत सदस्य नआएपछि नगरसभा प्रभावित

बहुमत सदस्य नआएपछि नगरसभा प्रभावित

बाह्रबिसे : चालु आर्थिक वर्षको बजेट संसोधनलगायत विषयमा छलफल गर्न बोलाइएको बाह्रबिसे नगरपालिकाको नगरसभा  बहुमत सदस्यले  ‘बहिष्कार’ गरेपछि  स्थगित भएको छ।

विभिन्न ६ प्रस्तावमा छलफल गरी निर्णय गर्न नगरकार्यपालिकाले शुक्रबार बोलाएको नगरसभामा कांग्रेसका निर्वाचित बहुमत सदस्य अनुपस्थित भएपछि बस्न नसकेको हो। 

गत १२ गतेको कार्यपालिका बैठकबाट शुक्रबारको लागि नगरसभा आह्वान गर्ने निर्णय भएको थियो। नगरसभा सञ्चालन हुन नसकेपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख निमफुञ्जो शेर्पाले प्रत्यक्ष जनसरोकार राख्ने विषयमा हुनलागेको छलफलमा अनुपस्थित हुनु प्रतिनिधिको गैरजिम्मेवारी भएको बताइन्। 

नगरसभामा कांग्रेसबाट निर्वाचित बहुमत सदस्य अनुपस्थित भएपछि नगरसभा बस्न नसकेको हो। नगर प्रमुख  शेर्पा र उपप्रमुख सुशीला पाख्रिनले बाह्रबिसे बजारको सडकमै पत्रकार सम्मेलन गरेर कांग्रेस नेताले नियोजित रुपमा नगरसभामा जानबाट सदस्यलाई रोकेको आरोप लगाए। 

सभामा जानबाट रोक्न सदस्यलाई बन्धक बनाएको उनीहरुको आरोप थियो। ‘बहुमतको दम्भले नगरको विकासमा राम्रो गर्दैन,’ प्रमुख शेर्पाले भने, ‘नगरसभामा आइसकेका सदस्यलाई समेत फिर्ता बोलाएर बन्धक बनाइयो।’

बाह्रबिसे नगरसभामा कांग्रेसका स्पष्ट बहुमत छ। ५० सदस्यीय नगरसभामध्ये ३० सदस्य कांग्रेसबाट निर्वाचित छन्। प्रमुख र उपप्रमुखसहित नेकपाका २० सदस्यले मात्र नगरसभामा प्रतिनिधित्व गर्छन्।  नगरसभामा भाग लिन आइसकेका कांग्रेसबाट प्रतिनिधित्व  सदस्य सभा सुरु हुनै लाग्दा उनीहरु एक–एक गर्दै हिँडेका थिए। 

विकासमा मिलेर जान र राजनीतिमा प्रतिस्पर्धा गर्न शेर्पाले कांग्रेस नेतालाई चेतावनी दिए। कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले दुई पटक कार्यपालिका बैठक बहिष्कार गरेको शेर्पाले जानकारी दिए। 

एकीकृत घुम्ती शिविर, आर्थिक सहायता अनुदान, म्याचिङफण्ड र नगरस्तरीय योजनाको रकम रकमान्तर गर्नेलगायत प्रस्ताव नगरसभामा लैजाने तयारी थियो। नगरसभामा लैजाने प्रस्ताव बहिष्कार गर्ने सदस्य सम्मिलित कार्यपालिका बैठकले निर्णय गरेको पनि प्रमुख शेर्पाले जानकारी दिए। 

नगरसभामा अनुपस्थित वडा नम्बर २ का वडाध्यक्ष बमबहादुर तामाङले आफूहरुले सभा बहिष्कार नगरेको बताए। कार्यविधि संशोधन सम्बन्धी आन्तरिक छलफल लम्बिएकाले बैठकमा जान नभ्याएको उनको भनाइ छ। 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भेलामा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको समेत सहभागिता  रहेको तामाङले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.