यात्रा पोखरामा, तरंग देशैभरि
पोखरा : राजनीतिमा पछिल्लो समय सर्वाधिक चर्चा र प्रश्नको विषय बनेको छ, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी के सक्रिय राजनीतिमा आउने तयारीमा छिन् ? ’
पूर्वराष्ट्रपति भण्डारीको गत साता भएको पोखराको केही लामो बसाइसँग यो प्रसंगको सम्बन्ध जोड्ने पनि छन्। पोखरा बसाइकै क्रममा एक कार्यकर्ताको यस्तै प्रश्नमा उनले भनिन्, ‘पार्टीले मलाई सांसदको उम्मेदवार बनायो, सांसद बनायो, मन्त्री पनि पार्टीले बनाएको हो। राष्ट्रपति पनि मेरो व्यक्तिगत चाहना होइन। पार्टीले नै बनाएको हो। देश र जनताको सेवा गर्न आवश्यक परे जुनसुकै जिम्मेवारीबाट म पछि हट्ने छैन।’
पोखरेली स्वागत
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान युनिभर्सिटीले पुस ४ गते पोखरामा एउटा बौद्धिक छलफल चलाए। फेवा डाइलग नाम दिइएको संवादमूलक कार्यक्रमको उद्घाटनका निम्ति पूर्वराष्ट्रपति भण्डारी डाकिएकी थिइन्। उनले उद्घाटन गरिन् र मन्तव्यसमेत राखिन्। डाइलगमा उनको प्रमुख अतिथि भूमिका सोही दिनका लागि मात्रै र त्यति नै थियो।
तर, चिनियाँ विश्वविद्यालयको कार्यक्रमका लागि भण्डारी २ दिनअघि नै पोखरा आइपुगेकी थिइन्। त्यसो त कार्यक्रमपछि पनि उनी थप ४ दिन पोखरा र सेरोफेरोमा भुलिन्।
पोखरा रहँदा बस्दा भण्डारीले केही धार्मिक स्थलको भ्रमण गरिन्। अनि थुप्रै भेटघाट पनि। भेटघाट राज्यका पदाधिकारीसँगमात्रै सीमित रहेन राजनीतिक नेतादेखि कार्यकर्तासम्म चल्यो। पूर्वराष्ट्रपति भण्डारी फेरि राजनीतिमा सक्रिय हुने, एमालेको पार्टी राजनीतिमा आउने जस्ता चर्चा त्यही कारण पनि निकै बढ्यो। पोखरामा राजनीतिकर्मीहरूसँग उनले गरेका भेटघाटलाई त्यही सन्दर्भमा हेर्दै विभिन्न अड्कलमात्रै काटिएको छैन, अनेक अर्थ पनि लगाइएको छ। त्यसले राजनीतिक वृत्तमा फेरि एउटा तरंग पैदा गरेको छ।
उनीनिकटस्थहरू भने पूर्वराष्ट्रपति भण्डारीको पोखरा केन्द्रित भ्रमणलाई नितान्त निजीको संज्ञा दिइरहेका छन्।
पुस २ मा पोखरा विमानस्थलमा भण्डारी ओर्लिंदा स्वागतार्थ एमाले नेता, कार्यकर्ता र सांसदहरूको ठूलो समूह खडा थियो। अरू बेला पोखरा आउँदा भण्डारी आफ्नै सैनी (मितिनी) पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङकहाँ बस्थिन्। राष्ट्रपति भएयता त्यो मौका जुरेको छैन। यसपालि पोखराको एकमात्रै पाँचतारे होटल ग्रान्डमा बसिन्।
पूर्वराष्ट्रपतिले आउँदाकै दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटिन्। प्रदेश प्रमुख डिल्लीराज भट्ट पनि भण्डारीसँग भेटघाट गर्ने राज्यका पदाधिकारीको सूचीमा छन्। ६ पुसमा भट्टले भण्डारीलाई भेटेका थिए।
पूर्वमुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारी, एमाले गण्डकी इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा लगायतले भण्डारीलाई पोखरा बसाइका क्रममा भेटे। त्यसमा गण्डकी प्रदेश सरकारमा एमालेबाट सामेल मन्त्रीहरू पद्मा जिसी श्रेष्ठ, कृष्ष्ण पाठक, प्रकाश केसी, सांसदहरू लीलबहादुर थापा, भीम कार्की, देवका पहारीलगायत थिए। मन्त्री मित्रलाल बस्यालचाहिँ काठमाडौं भएकाले छुटे।
त्यतिका मन्त्री, सांसद, नेता र कार्यकर्तासँग भण्डारीको सामान्य भलाकुसारीमात्रै भयो ? कि राजनीतिक संवाद नै ? भेटेकाहरू सबैजसो सामान्य शिष्टाचार भेटमात्रै भन्छन्। एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा भन्छन्, ‘राजनीतिक रूपमा सक्रिय हुने भनेर भन्या छन्, मेसो ठ्याक्कै यही बेला परेको मात्रै हो। नितान्त व्यक्तिगत भेटघाटभन्दा केही भएन। व्यक्तिगत शुभेच्छाका बाहेक कुरा भएनन्। काठमाडौंभन्दा पोखरा केही न्यायो छ भनेरमात्रै अलिक दिन यतै बस्नुभएको हो।’
एमाले गण्डकी इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य किरण गुरुङ आफूले सुरु दिन भेटेर कार्यक्रम के–के छन्, केही सहयोग गर्नुपर्छ भने भन्नुहोला भनेर हिँडेको बताउँछन्। आफू त्यस दिन त्यत्ति कुरा गरेर लमजुङ गएको उनले सुनाए। ‘लमजुङमा कार्यक्रम थियो र म हिँडे अनि कसकसले भेट्नुभयो भन्ने मैले सोध्दा पनि सोधिनँ। पत्रपत्रिकामा आएका कुरा पढियो। तर, राजनीतिमा सक्रिय हुन्छु भनेर उहाँले भन्नुभयो होला भन्ने लाग्दैन,’ गुरुङ भन्छन्, ‘भेट्नेहरूले के के भने भन्ने कुरामात्रै हो।’
पोखरा ग्रान्डमा रहँदा बस्दा भण्डारीसँग भेट्न चाहेकहरूलाई प्रदेशका भौतिक मन्त्री प्रकाशबहादुर केसी, उनको सचिवालय, एमाले कास्की इन्चार्ज कृष्ण थापा तथा पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले सहजीकरण गरिदिएका थिए। त्यसो त भण्डारी स्याङ्जा पनि पुगिन्। जसका लागि पार्टी सचिव पद्मा अर्यालले तारतम्य मिलाएकी थिइन्। उनकै पहलमा भण्डारी स्याङ्जा फेदीखोलाको साल्मेडाँडास्थित गोर्खा स्मारक घुमिन्। र, पश्चिमी स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवी दर्शनका लागि पनि पुगिन्।
संयोग कस्तो भने आलमदेवी नेपालका पूर्वराष्ट्रप्रमुख अर्थात् राजाहरूले कुलदेवता मान्दै आएको मन्दिर हो। गणतन्त्रकालीन राष्ट्र प्रमुख बनिसकेकी भण्डारीले दर्शनका लागि सोही मन्दिर रोजिन्। त्यसो त उनले पोखराकै सराङकोटस्थित शिव मन्दिर र पुम्दीभुम्दीस्थित महादेव मूर्तिस्थल पनि भ्रमण गरिन्। त्यसका लागि कास्कीकै एमाले नेताहरूले चाँजोपाजो मिलाएका थिए।
स्याङ्जाको साल्मेडाँडा जाँदा होस् र आलमदेवी दुवैतिर पूर्वराष्ट्रपति भण्डारीलाई स्थानीयले स्वागतमा फूलमाला चढाए। सँगसँगै एमाले जिल्ला अध्यक्ष सूर्यप्रकाश गैरे पारस, पूर्वमन्त्री तथा गण्डकी प्रदेश सांसद सीता सुन्दास, एमाले गण्डकी कमिटी उपाध्यक्ष मोहन रेग्मीलगायत राजनीतिकर्मीसँग भण्डारीको भलाकुसारी पनि भयो। गोर्खा स्मारक सञ्चालक समितिका महासचिव डा चन्द्रबहादुर गुरुङ कुनै राजनीतिक उद्देश्य नभई स्मारक भ्रमणका लागि आफूहरूले निम्तो दिएको बताउँछन्।
गुरुङकै भनाइमा भण्डारी स्मारक घुम्न जाँदा स्थानीय जनप्रतिनिधि र नेता कार्यकर्ताहरू भेट्न गएका भने थिए।
खासगरी महिला जनप्रतिनिधि र अनेमसंघका नेता कार्यकर्ताहरूसँगको भेटघाटमा भण्डारीको राजनीतिक पुनरागमनको प्रसंगमा बढी कुरा भएको स्रोत बताउँछ। अनेमसंघ गण्डकीकी कोषाध्यक्ष अञ्जु क्षेत्री महिला नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले भण्डारीको अभिभावकत्व खोजेको सुनाइन्। ‘उहाँले ३३ प्रतिशत महिला सहभागिताका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको हो। त्यो लागु भयो। उहाँ अखिल नेपाल महिला संघ (अनेमसंघ) को संस्थापक हो,’ क्षेत्रीले भनिन्, ‘यही अनेमसंघमा रहेर काम गरिरहँदा अझै पनि उहाँको संरक्षकत्व भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो। त्यो आवश्यकता हो भन्ने लाग्छ।’
सक्रिय हुन्छु भन्नुभएन होला : किरण गुरुङ,
इन्चार्ज, एमाले गण्डकी प्रदेश
पूर्वराष्ट्रपति भण्डारी ‘फेवा डाइलग’ भन्ने कार्यक्रममा सहभागी हुन पोखरा आउने र स्याङ्जा जाने भन्ने तय भएको रहेछ। त्यो थाहा पाएपछि भेट्न जाने भन्ने स्वाभाविकै भयो। गएर भेटियो। यहाँ बसाइ के हो ? कार्यक्रम के–के हो ? के सहयोग गर्नुपर्छ भने भन्नुस् भनेँ। भेट्न खोज्नेहरू पनि होलान्। भेट्नु पनि पर्ला। समय मिलाएर भेटघाट गर्नुहोला भन्ने कुरा भयो र म हिँडे।
मेरो त लमजुङमा कार्यक्रम थियो र म हिँडे अनि कसकसले भेट्नुभयो भन्ने मैले सोध्दा पनि सोधिनँ। पत्रपत्रिकामा आएका कुरा पढियो। तर, राजनीतिमा सक्रिय हुन्छु भनेर उहाँले भन्नुभयो होला भन्ने लाग्दैन। भेट्नेहरूले के–के भने भन्ने कुरामात्रै हो। यहाँ त मान्छेहरू हुन्छन् कि उकास्दिने ! अब त तपाईं आउनुपर्छ राजनीतिमा भन्नेहरू प्रशस्तै भेटिन्छ। जे भन्दा खुसी हुन्छ भन्ने लाग्छ, त्यही भन्दिन्छन्। त्यसमा पनि धेरै महिलाहरूले भेट्नुभयो जस्तो लाग्छ मलाई।
उहाँहरूले त भन्ने नै भए। एयरपोर्टमा पनि भिडै भएको थियो, महिलाहरूको। अरु बेला पनि भिडै भएको थियो। मैले पनि नचिनेकाहरू हुनुहुन्थ्यो। जनप्रतिनिधिहरू कोको कोको हुनुहुन्थ्यो। पार्टीका नेताहरूले औपचारिक कुरा गरेर हिँडेको हुनुपर्छ। स्याङ्जा लगायत ठाउँमा स्वागत कार्यक्रमहरूमात्रै भएजस्तो लाग्छ।
अब नेकपा भन्ने पनि सुनिन्छ यहाँ। नेकपा बनाउने हो भने तपाईले गर्नुपर्छ भन्ने मान्छे पनि होलान्। तपाईंले नेतृत्व गर्नुपर्छ भनेर भन्छन् अरे भनेर भनेको पत्रपत्रिकामा आइराखेको छ। मलाई त त्यस्तो कुरा थाहा छैन, हो वा होइन। एउटै सिंगै एकीकृत नेकपा बनाउन भूमिका खेल्नुपर्यो भनेर भन्दिने होलान्। उकासिदिने र भोलि उकासिसकेपछि सबैभन्दा उसैले पहिला विरोध गर्नेहरू पनि हुन्छन्।
अभिभावकत्व गरिदिए हुन्थ्यो : अञ्जु क्षेत्री, अनेमसंघ गण्डकी कोशाध्यक्ष
देशकै अभिभावक हुनुभएको मान्छेसँग अझै पनि नेपाली दिदीबैनीहरूको उहाँसँग आशा स्वाभाविक हो। अझै पनि उहाँले हामीलाई अभिभावकत्व प्रदान गरिदिए हुन्थ्यो। उहाँले ३३ प्रतिशत महिला सहभागिताका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको हो। त्यो लागू भयो। उहाँ अखिल नेपाल महिला संघ (अनेमसंघ)को संस्थापक हो। यही अनेमसंघमा रहेर काम गरिरहँदा अझै पनि उहाँको सरक्षकत्व भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो। त्यो आवश्यकता हो भन्ने लाग्छ। अझै पनि महिलालाई ५० प्रतिशत सहभागिताका लागि लाग्नुपर्ने छ। कार्यकारिणी पदमा महिला आइसकेको अवस्था छैन। नेतृत्वमा महिला आउनका लागि उहाँजस्तो व्यक्तित्वको अझै पनि हामीलाई खाँचो छ।
उहाँसँगको भेट पनि हामीलाई प्रेरणा भयो। युवा महिलाहरू राजनीतिका लागि तयार हुनुपर्यो भन्नुभयो। अनेमसंघले पहल गरोस् भन्नुभयो। हाम्रो इच्छा त उहाँ राजनीतिमा आइदिए हुन्थ्यो भन्ने हो। आम दिदीबैनीहरूको चाहना उहाँ आइदिए हुन्थ्यो भन्ने थियो। तर, उहाँले आउँछु, आउँदिनँ केही पनि भन्नुभएन। उहाँ आफैंको कुरा गर्दा उहाँ राजनीतिमा फेरि नआए पनि उहाँको बोली त अझै बिक्छ। महिलाका लागि उहाँले अभियान थाल्न सक्नुहुन्छ।
समग्र महिलाका लागि शैक्षिक, सामाजिक र राजनीतिक क्रान्तिमा अझै पनि उहाँको हात हुन सक्छ। त्यस्तो भूमिका रह्यो भने धेरै राम्रो। उहाँले पनि देशमा जति विकास हुनुपर्ने हो त्यो भइसकेको छैन भन्ने त उहाँले पनि महसुस गर्नुभएको छ। महिला अगाडि बढून् भन्नेमा उहाँको जोड थियो। हामीलाई अगाडि बढ्न प्रेरित गर्नुभयो।
प्रतिक्रिया दिनुहोस !