‘एन्फा निलम्बन यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो’
काठमाडौं : सांसद रमेश मल्लले फिफाले एन्फालाई निलम्बन गर्दा राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले नेपालको फुटबलमाथि फिफाको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन्।
उनले यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी गरे। 
‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो।’ उनले भने,‘फिफा र एएफसीले पटक–पटक निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न र अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएका थिए। तर सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन। राष्ट्रिय खेलकुद परिषद निर्वाचन रोक्ने, एन्फालाई निलम्बन गर्ने र आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने काम भयो। अन्ततः फिफा ले यही हस्तक्षेपलाई आधार मानेर नेपाललाई निलम्बन गर्यो।’
उनले फिफाको निर्णयले हजारौँ खेलाडी, प्रशिक्षक, रेफ्री र नेपाली फुटबलप्रेमीको सपना प्रभावित भएको बताए। ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा परेको छ र राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ।’ उनले भने,त्यसैले सरकारसँग मेरो स्पष्ट माग छ, तत्काल कूटनीतिक र संस्थागत पहलमार्फत फिफा सँग विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गरियोस्। खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै यस्ता हस्तक्षेप फेरि नदोहोरिने सुनिश्चित गरियोस्।’
प्रतिक्रिया दिनुहोस !