सडक पेटीबाट ४० को उद्धार
पोखरा : मानव सेवा आश्रम पोखराले सडक पेटीमा रात बिताउन बाध्य ४० जना असहायलाई उद्धार गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख समेतको सहभागितामा जाडो मौसममा काप्दै सडक किनारमा सुतिरहेका तीनजना महिलासहित ४० जनाको उद्धार गरिएको हो।
मानव सेवा आश्रम गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले उद्धार गरिएकालाई पोखराको छोरेपाटनस्थित मानव सेवा आ श्रममा राखिएको जानकारी दिए। उद्धार गर्न पुगेका मानव सेवा आश्रमका स्वंसेवीले पोखराको सिर्जनाचोकको पार्क, शिवचोकको मन्दिर छेउ र अन्य सडक पेटीमा सुतिरहेका वृद्ध, युवा र बालबालिकालाई उद्धार गरी खाना खुवाएका थिए। तातो चिया र बिस्कुट दिएपछि ठेगाना र सडकमा सुत्नुपर्ने बाध्यता बारे जानकारी लिँदै स्वंसेवीले मानव सेवा आ श्रममा जान अनुरोध गरेका थिए।
सडक किनारमा सुतेका केहीले भने आफू सडकमै सुरक्षित हुने भन्दै आफ्नै हालतमा छाड्न भनेका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले सडक किनारमा सुतेकालाई सम्झाएर आश्रममा लग्न सहयोग गरेका थिए। उद्धार गरिएकामध्ये दिउँसो पोखरा बजारमा भारी बोक्ने, प्लास्टिक टिप्ने र राति सडक पेटिमै सुत्ने धेरै थिए।