विद्याभूषणमा विभेद
![विद्याभूषणमा विभेद](https://annapurnapost.prixacdn.net/media/albums/20180425232910_Editorial_LSLyXbulga.jpg)
देशकै सबैभन्दा ठूलो र जेठो त्रिभुवन विश्वविद्यालय बेथिति र अव्यवस्थाको नमुना बनिरहेको छ। पछिल्लो उदाहरण बन्न पुगेको छ, उसको सिफारिसमा सरकारले प्रदान गर्ने विद्याभूषणलगायत पुरस्कार। स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक वितरणमा विश्वविद्यालयले समेस्टेर प्रणाली र वार्षिक प्रणाली पढ्ने विद्यार्थीलाई एकै तरिकाले मूल्यांकन ग¥यो। यो अवैज्ञानिक विधिले वार्षिक प्रणालीमा उच्च अंक ल्याउनेहरू पदकको हकदार बन्नबाट वञ्चित भए। दुईथरी प्रणालीलाई एउटै नापोले नापेर विश्वविद्यालयले आफ्नो अव्यावहारिकता, बेथिति र लापरबाही उजागर गरेको छ।
सेमेस्टर प्रणालीमा विद्यार्थीको मूल्यांकन गर्न दुईथरी अंक प्रणाली प्रयोग गरिन्छ। ४० प्रतिशत अंक आन्तरिक मूल्यांकन विधिबाट दिइन्छ। त्यसअन्तर्गत उपस्थिति, आन्तरिक परीक्षा, टर्म पेपर लेखनलगायत शीर्षकमा बेग्लाबेग्लै नम्बर दिइन्छ। वार्षिक प्रणालीमा भने यस्तो विधि हुँदैन। वर्षको अन्तिममा वार्षिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गरिन्छ। त्यसैले स्वाभाविक रूपमा एउटै विषय पढ्ने भए पनि सेमेस्टर प्रणालीका विद्यार्थीको अंक वार्षिक प्रणालीमा पढ्नेको भन्दा बढी हुन्छ। वार्षिक प्रणालीमा जतिसुकै राम्रो अंक ल्याए पनि सेमेस्टर प्रणालीको भन्दा बढी हुन मुस्किल हुन्छ। अर्कोतर्पm सेमेस्टर प्रणालीमा अमूक व्यक्तिलाई सर्वोत्कृष्ट भनेर घोषणा गर्नु नै विश्वविद्यालय आपैmंले अपनाएको प्रणालीविपरीत हो।
सेमेस्टरमा ग्रेडिङ प्रणालीअनुसार विद्यार्थीको मूल्यांकन गरिन्छ। उक्त प्रणालीमा जीपीए प्रणालीअनुसार अंकमा नभई अक्षरमा मूल्यांकन गरिन्छ। निश्चित अक्षरले निश्चित प्राप्तांकको दायरा बताउँछ। एउटै जीपीए ल्याउने दुई विद्यार्थीको सिकाइ स्तर समान हो भन्ने मान्यतामा आधारित हुन्छ यो प्रणाली। विद्यार्थीबीच अंकका लागि प्रतिस्पर्धाभन्दा पनि सिकाइलाई प्राथमिकता दिने प्रवृत्ति विकास होस् भनेर यो प्रणाली स्थापना गरिएको हो। तर यसैमा पनि अमूकलाई सर्वोत्कृष्ट र अन्यलाई कम उत्कृष्ट भन्नु कत्तिको जायज हो ? तसर्थ अहिले देखिएको समस्या समाधान गर्न सेमेस्टर र वार्षिक दुवै प्रणालीका उत्कृष्ट विद्यार्थीलाई विद्याभूषणका लागि सिफारिस गर्नु जायज देखिन्छ।
पदक वितरणमा देखिएको यो लापरबाही त्रिभुवन विश्वविद्यालयमा मौलाएको भद्रगोलको नमुना मात्र हो। विश्वविद्यालय अनेकन् लापरबाहीले व्याप्त भएको छ। एउटै विश्वविद्यालयभित्र दुईथरी परीक्षा र अध्ययन प्रणाली नै बेथितिको द्योतक हो। २०७२ सालमा विश्वविद्यालयले सेमेस्टर प्रणालीमा जाने घोषणा गर्दा नै यसबारे विवाद भएको थियो। विश्वबैंकको दोस्रो अनुदान कार्यक्रमअन्तर्गत संरचनागत समायोजन गर्ने सन्दर्भमा भएका तीनवटा मुख्य सुधारमध्ये यो पनि एक थियो। अन्य दुई कार्यक्रम थिए, प्रमाणपत्र तहको खारेजी र आंगिक क्याम्पसको स्वायत्तता। विश्वविद्यालयले प्रमाणपत्र तह पूर्णरूपमा खारेज गरे पनि त्यतिबेला सरकारले वाचा गरेको हरेक निर्वाचन क्षेत्रमा विज्ञान संकायसहितको बहुमुखी प्लस टु स्थापना भएका छैनन्। आंगिक क्याम्पसलाई स्वायत्ततामा लैजाने विषय विवादित नै छ। कतिपय आंगिक क्याम्पस स्वायत्ततामा गए पनि अधिकांश क्याम्पस त्यसतर्पm इच्छुक छैनन्। राज्यले हात झिकेर समुदायका भरमा छोडिदिँदा उच्च शिक्षामा व्यापारीकरण बढ्ने तर्क यसका आलोचकको छ।
यिनै बहसबीच विश्वविद्यालयले केन्द्रीय क्याम्पसबाट काठमाडौं उपत्यकाभित्र सेमेस्टर प्रणाली लागू गरेको थियो। यसै वर्षदेखि सबैतिर सेमेस्टर प्रणाली लागू गर्ने घोषणा गरेको छ। तर के विश्वविद्यालयले सेमेस्टर प्रणालीको नतिजाबारे पुनः मूल्यांकन गर्नुपर्दैन ? त्रिभुवन विश्वविद्यालयकै केन्द्रीय क्याम्पसमा केही विषय छाडेर अधिकांशमा विद्यार्थीको संख्या पातलिँदो छ। इतिहास, संस्कृतिजस्ता महŒवपूर्ण विषयमा विद्यार्थी संख्या शून्य छ। नेपाली साहित्य, भूगोलजस्ता विषयमा विद्यार्थी संख्या औंलामा गन्न सकिने जति मात्र छ। सेमेस्टर प्रणालीमा जाँदा गुणस्तर बढ्ने तर्क गरिएको थियो। विश्वविद्यालयले के साँच्चै गुणस्तर बढाएको छ ? परिणामले त्यस्तो देखाउँदैन। इतिहास र समाज अनुसन्धानमा त्रिविको उत्पादनले खासै काम नगरेको टिप्पणी गर्ने विश्लेषक थुप्रै छन्। त्रिविले आफूलाई सुधार्न निकै ढिलो भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)