बालिका बलात्कारको प्रयास गर्नेलाई पाँच वर्ष कैद
![बालिका बलात्कारको प्रयास गर्नेलाई पाँच वर्ष कैद](https://annapurnapost.prixacdn.net/media/albums/Jail-792x500_20181007030204_LLV9pRlBcM.jpg)
राजविराज : बाख्रा चराउन गएकी बालिकालाई बलात्कार प्रयास गर्ने राजगढ गाउँपालिका २ कमलपुरका १९ वर्षीय महबुद मियाँलाई अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ।
आठ वर्षीया बालिकालाई कमलपुरस्थित नहरको कल्भर्टमुनि ०७३ भदौ १५ गते बलात्कार गरेको भन्दै पीडितका आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन्। उजुरीमा बाख्रा चराउन गएकी बालिकालाई नहरमा नुहाउन लगेर बलात्कार गरेको पीडितकी आमाले बताएकी छिन्।
प्रहरीद्वारा तत्कालै पक्राउ गरेका आरोपितहरु नाबालक देखिएको भन्दै जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलाशले ०७३ भदौ १६ गते छाड्न आदेश दिएको थियो। आरोपित महबुदको उमेर १९ वर्ष भएको प्रमाणित भएपछि प्रहरीले पुनः भदौ २१ गते पक्राउ गरी कारवाही प्रकृया अगाडि बढाएको हो।
तत्कालीन जिल्ला न्यायाधीश राईकै आदेशमा आरोपित महबुद १५ हजार धरौटी राखी ०७३ असोज १२ गते तारेखमा रिहा भएका थिए भने आरोपित दुई नाबालक साधारण तारेखमा रिहा भएका थिए। जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित महमद हाल फरार छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)