समाज जोड्ने पर्व माघी

समाज जोड्ने पर्व माघी

पुस मसान्तका दिन सुँगुर मारेर ढिक्रीलगायत परिकारसँग जाँरको डब्कोमा रमाउँदै, गाउँदै र मघौटा नाच्दै माघीको स्वागत गर्छ थारू समुदाय। आहानै छ– पुस पकावा, माघ खावा। माघ १ मा रातो रगत देखाउन नहुने मान्यता छ। वास्तवमा माघीको तयारी पुस अन्तिम साताबाट नै सुरु हुन्छ। पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनोटलगायतका कार्य पुसमा नै गरिन्छ।

माछा मार्न माघीअगावै कुलो, खोलानालामा चिनो राखिन्छ, जसलाई झुक्का डर्ना÷भ्युँरा–डर्ना भनिन्छ। झुक्का राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन। पुस महिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ। यस दिन बिहानैदेखि झुक्का हालेर रख्वारी गरेका माछा र सुँगुर मारिन्छ।

माघीको बिहान स्नान गर्न जाने बेलामा थारूहरूले ‘सुरुजमा लागे गहनवा रे चोलो, कासी रे लहान’ भाकामा गीत गाउँछन्। यसको अर्थ हो, आजको स्नान भनेको सूर्यग्रहण लाग्दा काशीमा स्नान गर्नुभन्दा पुण्य हुन्छ। यसरी शक्ति, अस्तित्व, बुद्धि र स्वाभिमानको प्रतीकका रूपमा थारूहरूले सूर्यको आरधना गर्छन्। स्नान गरेर आएपछि चामल, दाल, गेडागुडी, नुनलगायत निसराउको नाममा छुट्ट्याउने चलन छ। जसमा केही नगदसमेत थपथाप गरी विवाहित चेलीलाई दिइन्छ। यसले दाजुभाइ र दिदीबहिनीबीच प्रगाढ र सुमधुर सम्बन्धलाई गाढा बनाउँछ। थारूहरूको धार्मिक पात्रोअनुसार सूर्यले माघ १ बाट उत्तरी ध्रुवको यात्रा गर्छ। माघबाटै नयाँ वर्षको सुरुवात हुन्छ।

माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व हो। उनीहरूले साता दिनसम्म मनाउँछन् माघी। खासगरी थारू समुदायमा यस पर्वलाई विगत वर्षको समीक्षा र आउने नयाँ वर्षको योजना तथा तदअनुरूपको नेतृत्व चयन गर्ने पर्वका रूपमा लिन्छन्। यस पर्वमा बखेरी (बृहत् बैठक) बसी गत वर्ष भएका मनमुटावलाई तिलाञ्जली दिई आपसमा क्षमादान माग्ने, क्षमा दिने तथा सुमधुर सम्बन्ध नवीकरण गर्ने गरिन्छ।

माघ २ मा खिचडी खाने चलन छ, जसलाई खिचरहवा भनिन्छ। कपिलवस्तु र रूपन्देही क्षेत्रमा माघी चाडलाई खिचरी महोत्सव तथा चितवनमा खिचरा महोत्सवको रूपमा मनाइन्छ। खिचडीको दिनमा नै खेतपाती, कमैया, ग्वाला, घँस्कटुवा, कमलरी आदिको चाँजोपाँजो मिलाउने गरिन्छ। २०५७ साउन २ बाट कमैया प्रथा प्रतिबन्धित भएको छ, यसले अब कमैया÷कमलरी प्रथा हराएको छ।

माघी थारू समुदायको सामान्य खानपीनको चाड मात्रै नभएर परिवारदेखि गाउँसमाज सञ्चालनको रीतिथिति बाँध्ने महान उत्सव हो।

माघ ३ मा गाउँको गरढुरिया अर्थात् घरमूलीहरूको कचहरी हुन्छ। ख्याल भनिने यो कचहरी माघ ३ मा गर्न सम्भव नभए माघको पहिलो साताभित्र कुनै दिन सम्पन्न गरिन्छ। यसमा सबैजनालाई आफ्नो मनमा लागेका वर्षभरि गाउँमा गरिएका राम्रानराम्रा कामको समीक्षा गरिन्छ। कचहरीमा गाउँका अगुवा बरघर÷महटाँवाले वर्ष दिनको आय–व्यय सुनाउँछन् र कसैले उठाएको सवालको सामूहिक छलफल गरी निष्कर्षमा पुग्ने गरिन्छ। सोही बैठकमा सबैको सर्वसम्मतमा आगामी वर्षका लागि गाउँका अगुवा, अघरिया र चौकीदार आदि चुनिन्छन्। बैठकले गाउँमा नियम, दण्ड सजायको नियम पनि पारित गर्छ। गाउँलेले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकोमा अब लिखित हुन थालेको छ।

माघीमा गाउँको अगुवा चुनिए झैं घरको अगुवा पनि चुनिन्छ। प्रायः जेठो भाइ नै गरढुरिया (घरमूली) बन्ने चलन छ। तर अरू भाइलाई उसको कामकारबाहीप्रति चित्त नबुझे निर्धक्कसाथ माघीमा गुनासोको पोको फुकाउँछन्। कुरा नमिले अलग हुन्छन्। माघीबाहेक अघिपछि छुट्टिएको परिवारलाई राम्रो दृष्टिले हेरिँदैन। परिवारमा विवाहलायक सदस्य भए बिहे गर्ने छिनोफानो, अनि केकसरी तयारी गर्ने भन्ने विषय पनि माघीमै टुंग्याइन्छ। त्यसैले माघी थारू समुदायको सामान्य खानपिनको चाडमात्रै नभएर परिवारदेखि गाउँ, समाज सञ्चालनको रीतिथिति बाँध्ने महान् उत्सव हो।

माघीको राष्ट्रियकरण भएको धेरै भएको छैन। २०५९ सालमा नेपाल सरकारले माघीलाई राष्ट्रिय पर्व घोषणा गरेपछि महोत्सवका रूपमा मनाउने प्रचलन बढेको छ। यसको व्यापकताले देशका थरुहट क्षेत्र तथा विदेशमा बस्ने थारूहरूले समेत माघी महोत्सव मनाउन थालेका छन्। माघ पर्वलाई अप्रभंश गरी माघी पर्व भन्न थालिएको छ। थारू कल्याणकारिणी सभाकी अध्यक्ष इन्दु थारूको बुझाइमा माघलाई ढिक्री खाने, सेवा लाग्ने (ढोग गरी आशीर्वाद लिने) विशेष दिनका रूपमा र उकुवार भेट (एकले अर्कोलाई अँगालोमा हाल्ने) गरेर मनाइन्छ भन्ने चर्चा प्रायः कमै गरिन्छ। बरु माघलाई माघको गुरीगुरी जाँर भन्दै बुझिने र प्रचार गरिने गरेको पाइन्छ। माघमा डफला (डम्फू) बजाउँदै धमार गाएको सुन्न अब भाग्यमानी नै हुनुपर्नेे स्थिति आइसक्यो। माघको जुन असली उपयोगिता थियो, त्यो जीवनमरणको दोसाँधमा पुगिसक्यो।

सहरी थारूहरूले गाउँको खानपिनको शैली त पछ्याए तर गाउँ सञ्चालन गरिने विधि सहरमा भित्याउन जाँगर देखाएनन्। गाउँको अगुवा चुनिए झैं सहरको अगुवा पनि चुनिनुपथ्र्यो। गाउँमा चौकीदरवा चुनिए झैं यहाँ पनि प्रवक्ता चुनिनुपथ्र्यो। थारू गाउँले विगतको वर्ष आफ्नो गाउँले केकस्तो प्रगति गर्‍यो भने समीक्षा गर्छन्। भनेअनुसार प्रगति नभए अगुवालाई केरकार गर्छन्। सहरमा बसोवास गर्ने थारूहरूले पनि आफू बस्ने सहरका लागि, आफ्नो समुदायका लागि केकस्तो योगदान गर्न सकियो भन्ने समीक्षा गर्नुपर्ने होइन र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.