झरीसरि बर्सिए गीत गजल

झरीसरि बर्सिए गीत गजल

काठमाडौं : मञ्चको एकातिर हार्मोनियम, गितारजस्ता वाद्यवादनका सामग्रीसहित कलाकारहरू लहरै बसेका छन्। हलमा टनाटन भरिएका दर्शक। ड्यासमा बसिरहेका छन्, नेपाल सुगम संगीतका हस्ती रामकृष्ण ढकाल, गीतकार विष्णुबाबु देवकोटा, शीतल कादम्बिनी र गजलकार ईश्वर दाहाल।

राजधानीको लेखन कुञ्जमा रहेको कुञ्ज थियटरको दृश्य हो यो। अन्य दिन कलाकारका संवाद र दृश्यमा रंगिने थिएटर शनिबार भने गीत, गजल र संगीतको स्वादमा तात्तिएको थियो। अन्तिम पुसको पट्यारलाग्दो चिसोबीच सर्जकहरू        श्रोतालाई मनोरञ्जनका साथ मर्मस्पर्शी शब्द पस्कने हतारमा थिए।

गायक रामकृष्ण ढकाललाई समर्पित गर्दै ‘गीत, गजल र शीतल’ कार्यक्रमको सातौं शृंखला भव्य तरिकाले सम्पन्न भयो। ढकालले सुगम संगीतमा पुर्‍याएको योगदानको चर्चा गर्दै अभिनन्दनपत्र र खादाले सम्मान गरिएको थियो।

‘पाउ कहाँ बिसाउँ भरपर्दो छैन ठाउँ

इमान जमान छैन बेमान सारा गाउँ

आफ्नैलाई पालु पोसु आफैंले लाउँखाउँ

फुर्सद कहाँ कसैको हेर्ने अरूको घाउ। ’

रामकृष्ण ढकालले माथिको अन्तरा गुनगुनाउँदै कार्यक्रम सुरु गरे। दर्शकले सँगसँगै गीत गाउँदै कार्यक्रमस्थलमा रौेनक बढाए। ढकालले कार्यक्रमभरमा केही गीत त केही गजल गुनगुनाएर रमाइलो माहोल सिर्जना गरे। गजल र मुक्तक लेखिरहेका सष्टालाई सम्मानस्वरूप हरेक दुईदुई महिनामा ‘गीत गजल र शीतल कार्यक्रम सञ्चालन हुने गर्छ। कार्यक्रम र दुईजना स्रष्टाबीचको गजलवाचनलाई तादम्य मिलाउन सहजकर्ताको भूमिकामा छिन् गीतकार शीतल कादम्बिनी।

‘टिप्न खोजे मनको फूल विकटमा रहेछ

अरू नै कोही उनीसँग निकटमा रहेछ

सित्तैमा पाइन्छ लाग्थ्यो सबै माया यहाँ

मलाई के थाहा उनको माया टिकटमा रहेछ।’

निकै मर्मस्पशी र प्रेमिल मुक्तकका हरफ सुनाउँदै मञ्चमा देखिए विष्णुबाबु देवकोटा। उनका मुक्तक र गीतमा दर्शक खुलेर रमाइरहेका थिए। पटकपटक वान्स मोरको प्रतिक्रिया दिइरहेका थिए। साहित्य र संगीतको न उमेर हुन्छ न कुनै विषय। जस्तोसुकै कठोर मनलाई पनि साहित्यले छुन्छ। के बूढा, के बच्चा, के वृद्ध सबै उमेरका दर्शक कार्यक्रममा उपस्थित थिए।

देवकोटाको शब्दमा रहेको गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो। उनले करिब आधा दर्जन मुक्तक र केही गीत वाचन गरे। दोस्रो चरणमा एक थान गजल लिएर मञ्चमा उक्लिए ईश्वर दाहाल। ग्रामीण जीवनको ठेट भाषा र मौलिक पहिचानका कुरा दाहालका गजलमा समेटिएका थिए। उनका अधिकांश गजलमा नेपालमा रहेको वर्गीय विभेदको आक्रोश देखिन्थ्यो।

ईश्वरले करिब एक दर्जन गजलवाचन गरे। अत्यन्तै मर्मस्पर्शी शब्द र मीठो संयोजन गरिएका उनका गजलले दर्शक तथा अतिथिको तारिफ पाए। कार्यक्रमका शीतल कादम्बिनीले पनि केही गजलवाचन गरेकी थिइन्। यस्तै गायक राज सागर र प्रदीप ढकालले पनि गीत गाएर सुनाएका थिए।

स्रष्टाहरू लेखेरै पनि बाँच्न सक्ने बनाउन आफूले साहित्य र संगीतको क्षेत्रमा निरन्तर केही नयाँ गर्न खोजेको घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.