बिमार सर्ला, हात नमिलाऊँ

बिमार सर्ला, हात नमिलाऊँ

काठमाडौं : खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा भन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस्। चिकित्सकहरूको सुझाव छ– ‘भरसक हात नमिलाउनुस्। नमस्कार गर्नुहोस्।’

श्वासप्रश्वास प्रणालीमा भाइरस संक्रमणबाट लाग्ने संक्रामक रोग मानिने सिजनल एन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसीरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍याल परीक्षण गर्दा १ सय ६८ जनामा एन्फ्लुएन्जा पाइएको थियो। तीमध्ये १ सय ४६ जनामा एन्फ्लुएन्जा एएचवन, ९ जनामा एन्फ्लुएन्जा एएच ३ र १३ जनामा एन्फ्लुएन्जा बी प्रमाणित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गत पुसमा एन्फ्लुएन्जाग्रस्त एक जनाको मृत्यु भएको थियो।

मौसमी रुघाखोकी सहितको ज्वरो (सिजनल एन्फ्लुएन्जा) बाट प्रभावित बिरामीको संख्या बढिरहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताए। उनले भने, ‘अरु बेलाभन्दा जाडो र मौसम फेरिने बेला प्रभावित हुनेको संख्या धेरै हुन्छ।’

देशको एकमात्र कान्ति बाल अस्पतालमा दैनिक झण्डै २ सय बालबालिका मौसमी रुघाखोकीग्रस्त भई उपचार गराउन आउने गरेका छन्।

कसरी सर्छ ?

खोक्दा वा हाच्छिउँ गर्दा यो रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ। सुरुमा सामान्य रुघाखोकी जस्तो देखिए पनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्तिमा आफैं निको हुने चिकित्सक बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका र ज्येष्ठ नागरिकमा भने जटिलता देखिन सक्छ।

विशेषगरी गर्भवती, दीर्घरोगीहरू बढी जोखिममा छन्। जोखिम बढी भएका व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ। कान्ति बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईका अनुसार बालबालिकामा वाकवाकी लाग्ने, पेट मडारिने, झाडापखाला देखा पर्न सक्छ। उनले भने, ‘रुघाखोकी लाग्नासाथ आत्तिहाल्न पर्दैन।’

मौसमी रुघाखोकीका लक्षण

हाच्छिउँ आउने, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, टाउको दुख्ने ,मांसपेसी तथा हाडजोर्नी दुख्ने, अल्छी लाग्नेलगायत एन्फ्लुएन्जाको सामान्य लक्षण भएको चिकित्सक बताउँछन्। खोक्दा वा हाच्छिउँ गर्दा सफा रुमालले नाकमुख छोप्न र साबुनपानीले हात धुन चिकित्सकको सुझाव छ। निर्देशक डा.लालले भने, ‘हात नमिलाई नमस्कार गर्दा मौसमी रुघाखोकीबाट बच्न सकिन्छ। रुघाखोकी लागेका व्यक्तिबाट कम्तीमा एक मिटर वा दुई हात टाढा रहनु उपयुक्त हुन्छ।’

के गर्ने, के नगर्ने ?

बिरामीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने र सम्भव भएसम्म अन्य व्यक्तिभन्दा अलग्गै राख्नु पर्छ। जथाभावी नथुक्ने वा सिँगान नफाल्ने, शंकास्पद रोगीबाट सकभर टाढै बस्नु पर्छ। रुघाखोकी लागेका व्यक्तिहरू ३–५ दिनसम्म घरमै आराम गर्नु पर्छ।

रोगीलाई पौष्टिक भोजन र प्रसस्त झोलिलो खानेकुरा, भातको माड, दाल एवं तरकारी र गेडागुडीको रस खुवाउनु पर्ने चिकित्सकको सुझाव छ। दूध चुस्ने उमेरका बालबालिकालाई साबिक बमोजिम स्तनपान गराउने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नखुवाउन रोग नियन्त्रण महाशाखाले आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.