अञ्चल अस्पताल तनावग्रस्त
राजविराज : उपचारका क्रममा एक बिरामीको बुधबार मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ। बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ५० बर्से सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त र बिद्यार्थी, युवाले प्रदर्शन गरेका छन्। प्रदर्शनपछि स्वास्थ्य सेवा प्रभावित भएको छ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्त आरोप लगाएका छन्। काँग्रेससम्बद्ध नेविसंघ र तरुण दलले प्रदर्शनको नेतृत्व गरेका छन्। प्रदर्शनकारीले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्ने, लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग राख्दै जुलुस निकालेका छन्। राजविराज नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा डेलिगेसनसमेत गएका प्रदर्शनकारीले पुनः अस्पताल पुगेका थिए। हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदालाई सुई लगाएर स्लाइन चढाएपछि मृत्यु भएको छोरी बिनकलादेवी सदाको आरोप छ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका डीएसपी भावेश रिमालको कमान्डमा अस्पतालको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। प्रहरीसँग प्रदर्शनकारीहरूको ठेलमठेल भएपछि हुलदंगा मच्चिएको थियो। प्रदर्शनपछि अस्पतालका आकस्मिक विभागका केही कर्मचारी सेवा बन्द गरी बाहिरिएका थिए।
डा. रन्जित झाले उपचार गर्दागर्दै भएको मृत्युप्रति दुःख व्यक्त गर्दै चिकित्सकले उपचार गरेकै कारण मृत्यु भएको भ्रम फैलाएर चिकित्सकले बिरामी नै हेर्न नपाउने अवस्था र्सिजना गर्न खोजिएको दुखेसो पोखे।