डार्बिन, डावकिस र हरारी
जीव विज्ञानको मतमा, मानव मस्तिष्क मूलतः घटनाको प्रमुख कारणलाई विश्लेषण गर्न बनेको छ।सहायक कारणहरूको यथोचित विश्लेषण गर्न नसक्नु यसको सीमा छ।बहुकारणहरू (मल्टी भ्यारिएट) मिहिनसँग खुट्टाउने हिसाबले मानव मस्तिष्क बनेको छैन।यसको डिफल्ट चरित्र।यस मानेमा, गणितज्ञ, मनोचिकित्सक र वैज्ञानिकहरू अपवाद देखिन्छन्।त्यसैले होला, एकाध अनुभवकै आधारमा मानिस आफ्नो धारणा बनाउन हिच्किचाउँदैन।जुन तसर्थ रेखीय हुन्छ।असल कि खराब।अग्रगामी कि पश्चगामी।
ब्ल्याक कि ह्वाइट।मानौं मान्छेका स्वभाव, विचार र व्यवहारहरू दुई भागमा प्रस्ट बाँडिएको छ।यससँग मेल खाने मनोविज्ञानमा एउटा चर्चित पूर्वाग्रह छ।कन्फरमेसन वायस।आफ्नो धारणालाई पुष्टि गर्न अनुकूल तर्कहरू मात्र देख्ने, विरोधी तथ्य छ भने नदेखिने।मस्तिष्क सट डाउनै हुने।सत्य जतै ढल्कियोस्, औचित्य पुष्टि वा कन्फर्म गर्ने।यो पूर्वाग्रह व्यवहारमा कसरी परिलक्षित हुन्छ भने मन परेको मान्छेको अवगुणै नदेखिने।मन नपरेको मान्छेको गुणै नदेखिने।‘पोर चार्ली अलमानक’ पुस्तकमा २४ किसिमका यस्ता मनोवैज्ञानिक विचलनको बारेमा पढ्न सकिन्छ ।
तर प्रसंग जीवविज्ञानको छ।मानव जाति यो रूपमा यहाँसम्म कसरी आइपुग्यो भन्ने प्रश्नको छ।एक प्रमुख सिद्धान्त डार्बिनियन विकासवादको सिद्धान्त हो।विकासवादबारे आधारभूत जानकारी नराखी ईश्वरीय सत्ताको भ्रमलाई चिर्न सकिँदैन।ईश्वर भ्रम हो।धर्म अफिम मात्र भनेर वैचारिक तहमा अब हस्तक्षेप हुँदैन।पार्टीमा शपथ खाएकै भरमा अनिश्वरवादी वन्न सकिन्थ्यो भने ईश्वरको अवधारणा यतिबिघ्न सर्वव्यापी हुन्नथ्यो।ईश्वर वा अज्ञात सत्ताप्रति मानिसको आलम्ब, छालामा बसेको धुलो कदाचित होइन कि सजिलै खुर्कन सकियोस्।
नेपालको नेल्सन मण्डेला भनिएको मोहनचन्द्र अधिकारी जेलबाट निस्केपछि किन धार्मिक बस्त्र गेरुवा लगाउछ ? ‘देवासुर संग्राम’ लेख्ने माक्र्सवादी अध्येता मोदनाथ प्रश्रित किन राजावादी साहित्यिक मण्डलीको अगुवा नगेन्द्र प्रसाईंको पुरस्कार थाप्छ ? पेचिलो प्रश्न हो।जीवनको उत्पत्तिसम्बन्धी जीववैज्ञानिक डार्बिन, एल्फ्रेड रस्सेल वालेस, रिचर्ड डवकिन्स, इतिहासकार युभाल नोवा हरारी र मनोविश्लेषक कार्ल युगको सामूहिक अवचेतन र आद्यबिम्बको अध्ययन नगर्ने हो भने पेचिलो प्रश्नको चित्तबुझ्दो जवाफ खोज्न कठिन पर्छ ।
उत्पादनको साधनमा स्वामित्व हुने र नहुने बीचको अन्तरविरोध र द्वन्द्व नै इतिहासको चालक शक्ति हो भन्ने माक्र्सको अवधारणा ऐतिहासिक भौतिक प्रकृतिको थियो, जसले विश्वको इतिहासलाई नै बदलिदियो।यो भौतिक जगत्को कुरो।तर ईश्वर र आद्यबिम्बप्रति मानवजातिको आलम्ब वा आशक्तिको इतिहास लाखौं वर्षअघि पुग्छ।भनिन्छ, विज्ञान नहँदा अलौकिक शक्तिलाई मान्नुका पछाडि पूर्वजका इभलुसनरी बाध्यताहरू थिए।
बाँच्नैपर्ने र वंश परम्परा जोगाउनुपर्ने।कार्यकारणको सम्बन्ध विकसित नभइसकेको अवस्थामा अलौकिक शक्तिले बचाउने विश्वासमा अमूर्त खगोलीय पिण्ड, सूर्य, चन्द्रमा वा ग्रहणदेखि पर्वतसम्म पुज्न थाले।रोगव्याधी, खडेरी, अल्पवृष्टि आदि अनिष्टबाट बच्न अनेकन् प्रकारका पूजाआजा र कर्मकाण्डको थालनी गरे।मान्छेले आफ्नो सत्ता जोगाउन अन्य कविलाका मान्छेलाई बलिसमेत दिए।मेल गिब्सन निर्देशित सिनेमा ‘एपोक्लाइप्टो’मा नरवलिका भयावह दृश्य छन्।त्यस सिनेमाले मानवजातिको हिंस्रक र बर्बर मनोविज्ञानतिर संकेत गर्छ।मान्छे त्यस्तो बीभत्स कृत्य गर्थे भनेर विश्वास गर्न पनि कठिन पर्छ।मध्ययुगीन विचारका केही अवशेषहरू हाम्रो समाजमा अझै छ।जस्तै, गढिमाईको पशुबलि।त्यस प्रथा निरन्तर रहनुमा मान्छेको आदिमवृत्ति जिम्मेवार छ।धर्म त आवरण मात्र हो ।
इतिहासकार हरारीको लेखाजोखा छ, पछिल्लो केही दशक मानवजातिकै सबैभन्दा शान्तिपूर्ण समय हो।एक्काइसौं शताब्दीमा न त विश्वयुद्व भएको छ, न होलोकास्ट तहको कुनै नरसंहार ।
डार्बिनको सिद्धान्तबाट माक्र्स गहिरोसँग प्रभावित थिए।माक्र्स सोच्थे, फरक क्षेत्रका सिद्धान्त भए पनि विकासवादको सिद्धान्त द्वन्द्वात्मक भौतिकवादसँग सामीप्यभाव (कम्पाटिविलिटी) राख्छ।प्रमाणको रूपमा जीवाशेषहरू थिए।गालापागोस द्वीपमा वर्षौं लाएर डार्बिनले असंख्य चरा, स्तनधारी जीव, जीवाशेष र ढुंगाका नमुनाहरू संकलन गरे।डार्बिनका अनुसार जुन प्रजातिले प्राकृतिक वातावरणमा आफूलाई अनुकूल बनाउँदै लैजान्छ, त्यही प्रजाति कालान्तरसम्म बाँचिरहन्छ।
अरू प्राकृतिक छनोटमा पर्छ।डार्बिनको सिद्धान्तमा फिटेस्टको अर्थ बलियोभन्दा पनि बाह्य वातावरणअनुसार ढाल्न सक्ने लचिलोपना हो।स्वार्थ पर्दा अनुकूल हुने र अस्तित्व रक्षाको निम्ति शत्रुसँग पनि मिल्ने व्यावहारकै कारण सापियन्स प्राकृतिक वातावरणमा बढी फिट छ।डार्बिनको उक्त निष्कर्ष मानवजातिकै महान् प्राप्ति थियो ‘द भोयाज् अफ चाल्र्स डार्बिन’ शीर्षकको वृत्तचित्र छ।सात खण्डको त्यो वृत्तचित्र बीबीसीले सन् १९७८ मा प्रसारण गर्यो।त्यसमा प्रकृतिप्रति मान्छेको अद्भुत जिज्ञासा र अनवरत अन्वेषण छ ।
डार्बिनको सिद्धान्त फैलाउने अर्का जीव वैज्ञानिक रिचार्ड डावकिन्स हुन्।डावकिन्सको प्रयास मान्छेको चेतनालाई सदैव वैज्ञानिक सत्यको नजिक लग्ने रह्यो।ईश्वर मिथ मात्र हो।हामी एककोषिय जलचरहरूबाटै उद्भव भई यहाँसम्म आएका हौं।डावकिन्स किटानै गरेर भन्छन्, ‘बाँदर हाम्रो पुर्खा होइन।अनुमानित ५० देखि ७० लाख वर्ष अघि बाँदर र मान्छेको पुर्खा साझा थियो।बाँदरलाई बरु काकाभन्दा उचित हुन्छ ।’ उनको सवचारमा पहिलो बूढो मान्छे वा पहिलो युवक देख्न नसकेझैं पहिलो होमोसापियन्स देख्न सम्भव छैन।हामी आज राति सुत्दा किशोर र भोलि बिहान उठ्दा युवा पक्कै हँदैन।अत्यन्तै धिमा गतिमा घटित हुने जीवनका चरणहरू ठ्याक्कै देख्न असम्भव छ।पुराना फोटोहरू हेर्दा चाल पाउने भिन्नता फोटोमा समय फ्रिज हुनाले हो।गतिशील जीवनमा समय फ्रिज हँदैन, निरन्तर प्रवाहमा हुन्छ।तसर्थ हामी बुढ्यौली अनुभव गर्छौ तर बुढ्यौलीको पहिलो दिन यो हो भन्न सक्दैनौ।अझ लाखौं करोडौं वर्ष लिदै एक प्रजाति अर्कै प्रजातिमा उद्भव हुने प्रक्रिया बुझ्न मानवमस्तिष्कलाई कठिन पर्छ ।
जीव वैज्ञानिकका पुस्तकहरू पढेपछि, तर्कहरू सुनेपछि, मानव जीवनका सबै आयाम, प्रवृत्ति र व्यवहारहरू सामाजिक निर्मिती (सोसल कन्स्ट्रक्ट) मात्र हुन् भन्ने तर्क एकांगी लाग्छ।जिनले वहन गर्ने आनुवांशिक गुणहरू नदेख्नु समस्या हो।जिन हस्तान्तरण प्राकृतिक प्रक्रिया हो।एउटा उदाहरण, कास्की रूपाताल वरपर एक समय वासनादार प्रशस्त रैथाने घिरौंला पाइन्थ्यो।स्थानीयहरू भन्छन्, ‘त्यो घिरौंला पकाउँदा भान्सै बसाउथ्यो।अहिले नासिँदै गएको छ ।’ विश्वको उत्कृष्ट सेफले पनि बजारको घिरौंलाबाट त्यसखाले बासना निकाल्न सक्दैन।कारण, बासना आउने गुण रैथाने घिरौलाको अन्तरनिहित विशेषता होे।
विकासको चरणमा त्यसको खास प्रयोजन पक्कै हुनुपर्छ।मान्छेका मनोविज्ञान, सामाजिक राजनैतिक घटना पूर्णत सामाजिक निर्मिर्ती देख्नु हातमा हथौडा हँदा वरपरका सबै सामान किलाकाँटी देखेजस्तै हो।यसले डार्बिनियन सिद्धान्तको उल्लंघन गर्छ।र, सामाजिक इन्जिनियरिङको औचित्यलाई नकार्छ।मान्छेको मनोविज्ञान जिन र बाह्य वातावरणको योग हो भन्ने निष्कर्ष धेरै वैज्ञानिकलाई लाग्छ।डावकिन्सले चर्चित पुस्तक ‘सेल्फिस जिन’मा तर्कलाई अझ एक पाइला अगाडि लग्छन्।उनको मतमा, कालजयी भनेको जिन मात्र छ, जिनले बोक्ने कोड मात्र।सक्षम जिन करोडांै वर्षसम्म पनि धेरै दृष्टिले उही स्वरूपमा मान्छेभित्र रहन्छ।शरीर त जिनको वाहक मात्र हो।जिन आफ्ना सन्ततिमा हस्तान्तरण गरेर निश्चित समयपछि शरीर थोत्रिन्छ र सकिन्छ ।
डार्बिन र डावकिन्सको विपरीत नुवाल नोवा हरारी मानिसको उत्पत्तिको इतिहास मात्र कहँदैन।सापियन्सको भविष्यबारे आकलन पनि गर्छ।‘सापियन्स, द ब्रिफ हिस्ट्री अफ होमो सापियन्स’ पछिल्लो समय अत्यन्त चर्चित बनेको छ।धेरै कोणबाट बहसहरू जन्माएको छ।नेपालमा पनि उनी तुलनात्मक रूपमा बढी पढिएझैं लाग्छ।उनी इतिहासकार हुन।डार्बिनियन पद्धतिमा विश्वास राख्छ।लचिलोपना (फ्लेक्जिविलिटी) र स्केलस्यापियन्सको उद्भवका दुई प्रमुख कारण दिन्छन् उनी।उदाहरण, सामाजिक कीराहरूजस्तै मौरी, कमिला वा धमिराहरू एक तहको सामाजिक कार्यहरू गर्छन्।
तर ती कार्यहरू जड छन्, कोलोनीमा बस्छन्।रानी मौरी र कर्मी मौरीको निश्चित जिम्मेवारी हुन्छ।मानौं प्रकृतिले कार्यसूची बनाएको छ।‘रानी मौरी निरकुंश निस्किए, कर्मी मौरीले आफ्नै खालको विद्रोह वा क्रान्ति गरेर गणतन्त्र घोषणा गर्दैन,’ हरारी व्यंग्य गर्छन्।शदीयौंदेखि त्यस्तै चलिरहेको छ।मौरीभन्दा चिम्पाञ्जीहरू बढी सामाजिक हुन्छन्।चिम्पाञ्जी परिचित चिम्पाञ्जीलाई मात्र सहयोग गर्छन्।
त्यसैले चिम्पाञ्जीको सहयोगको दायरा वा स्केल साँघुरो हुन्छ, हरारीको तर्क छ।सापियन्सको हकमा त्यस्तो छैन।सापियन्सले काल्पनिक कथ्यको निर्माण गरेका छन्।काल्पनिक भन्नुको अर्थ जैविक अस्तित्व नभएको।कथ्यहरू जस्तै राष्ट्रवाद, धर्म, सिद्धान्त, मानवअधिकार, फेमिनिज्म।समान कथ्यमा आस्था राख्दा मानिस अपरिचितलाई पनि सहयोग गर्छन्।ठूला स्केलमा साझेदारी गर्न यस्तै कथ्यहरूले सघाउछ।जलवायु परिवर्तनलाई उनी पछिल्लो शक्तिशाली कथ्य मान्छन्।काल्पनिक कथ्यले नै मानव जातिलाई पृथ्वीकै सबैभन्दा प्रभुत्वशाली जीव बनाएको तर्क उनको छ ।
होमो दिउस्को भविष्यवाणी भने अँध्यारो छ।मानवजाति इतिहासमा पहिलोपटक अनुपम संयोगको संघारमा उभ्भिएको छ।इन्फोटेक र बायोटेकको संगम।पहिलो, मानवसँग यतिखेर शक्तिशाली कम्प्युटिङ पावर छ।दोस्रो, बायमेट्रिक तथ्यांकमा पहुँच छ।जसको आर्टिफिसियल इन्टेलिजेन्स निर्माणमा स्वामित्व छ र प्रविधिमार्फत करोडौं मान्छेको बायमेट्रिक डाटामा पहुँच छ, ऊ ईश्वरजस्तै शक्तिशाली हुनेछ।उनकै शब्दमा, बाँकी युसलेज ठहरिनेछ।उनी यसलाई सम्भावित परिदृश्य मान्छन्।केही दशकभित्र सापियन्स यही स्वरूपमा नरहँला भन्ने भविष्यवाणी कहालीलाग्दो छ ।
इतिहासकार हरारीको लेखाजोखा छ, पछिल्लो केही दशक मानवजातिकै सबैभन्दा शान्तिपूर्ण समय हो।एक्काइसौं शताब्दीमा न त विश्वयुद्व भएको छ, न होलोकास्ट तहको कुनै नरसंहार।विश्वयुद्ध रोकिनु, आणविक बम नखस्नु, प्लेग र अनिकाललाई जित्नु स्यापियन्सको ठूलो उपलब्धि मान्छन् उनी।अहिले मान्छे अनिकालभन्दा पनि बढी खाएर मर्छन्।भोकमरी कतै छ भन्ने प्राकृतिक होइन, राजनैतिक प्रकारको छ।बलात्कार, भ्रष्टाचार, धर्ना जुलुस, आप्रावासीहरूको लर्कोजस्ता निरश समाचारले पत्रिका र टीभी भरिएको देख्दा उनको तर्क बेठीक जस्तो लाग्छ।तर, ग्लोबलस्तरमा पत्यारिलो लाग्छ।क्षेत्रीय समस्या र भुसभित्र सल्कँदै गरेको आगोको सन्दर्भमा जीववैज्ञानिकको मत ह्युमरस छ, स्यापियन्स भर्खर रूखबाट ओर्लेको छ र उसको बानी सुध्रिसकेको छैन ।
हरारीकै शब्दमा फेमिनिज्म अर्को काल्पनिक कथ्य हो।जुन आन्दोलन अहिले उभारमा छ।पुरुष र महिला समान हुनुपर्छ भन्ने संकथन फैलिँदो र गहिरिँदो छ।फैलिनु र गहिरिनु पनि पर्छ।त्यो भनेको मूलतः महिलाको अवसरहरूमा समानता हो।रोजगार, शिक्षा, स्वास्थ्य सुविधा, खाद्य तथा पोषण, भयरहित समाजमा पुरुषसँग बराबरी उभिने अवसर आदि।हाम्रो आर्थिक, सामाजिक, राजनैतिक संरचनाले महिलाहरूमाथि ज्यादती गरेकै हो।
तसर्थ फेमिनिस्ट आन्दोलन पुरुषकै आन्दोलन पनि हो।तर बिर्सनु नहुने तथ्य जैविक स्तरमा पुरुष र महिला भिन्न पनि हुन्।त्यही भिन्नतालाई निहुँ बनाई पितृसत्तात्मक संरचनाले महिलालाई शोषण र उत्पीडनमा पार्यो।महिलाको दुःख र पीडा समुद्रभन्दा गहिरो छ भन्ने आहुतिको भनाइमा सत्यता छ।तर जैविक भिन्नतालाई अनदेखा गर्ने वा मेटाउने प्रयास प्रकारान्तरले प्रत्युत्पादक हुन्छ।फेमिनिस्ट आन्दोलनको लक्ष्य पितृसत्तात्मक संरचनाको स्थानमा मातृसत्तात्मक संरचना ल्याउनु होइन, पुरुषसरह समानताको निम्ति हो भन्ने फेमिनिस्ट कमला भासिनको विचार मनन्योग्य छ।
अन्यथा आन्दोलनको लक्ष्य प्रतिशोध हुन्छ, रूपान्तरण हुन्न।कुनै पनि न्यायमूलक सामाजिक आन्दोलनको अन्तिम लक्ष्य भनेको सम्बन्धलाई मानवीयकरण गर्नु नै हो।महिला र पुरुष एकै नभएकैले समान हुनुपर्यो भनिएको हो।एकैनास हुन्थ्यो भने समानताको प्रश्नै उब्जिँदैनथ्यो।पुरुष र महिलाको जैविक भिन्नतालाई कदर गरिनुपर्छ।तर, त्यही भिन्नतालाई उत्पीडनको कारण बनाउने संरचनासँग लड्दै पुरुष र महिलाको परिपूरक सम्बन्धलाई समान तहमा अनुभव गर्न सकिने सामाजिक वातावरणको निर्माण आजको आवश्यकता हो।जानुपर्ने बाटो त्यतै हो जस्तो लाग्छ।फेमिनिस्ट आन्दोलनलाई ताप जत्तिकै प्रकाश पनि आवश्यक छ।परिपूरक सम्बन्धको संकथनले पर्याप्त बहस पाएको छैन।जीवविज्ञान वा अन्य ज्ञान परम्पराका अध्येताहरू सामाजिक राजनैतिक बहसमा छिर्न ढिलाइ गर्नुहुन्न।सहभागिता जति ढिलो हुन्छ, हातमा हथौंडा हुँदा वरपर सबै किलाकाँटी मात्र देखिने अवस्था उत्तिकै लम्बिन्छ ।