काठ तस्करीमा सेनाका अमलदारसहित चार पक्राउ
भैरहवा : सामुदायिक वनबाट काठ तस्करी गरिरहेको अवस्थामा नेपाली सेनाका एक अमलदारसहित चारजना पक्राउ परेका छन्। रुपन्देहीको रामनगर सामुदायिक वनबाट काठका गोलिया रिक्सामा लोड गरेर लैजाँदै लागेको अवस्थामा सेनाको एक अमलदारसहित चारजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।
पक्राउ पर्नेहरुमा नेपाली सेनामा कार्यरत ३१ वर्षीय अमलदार हिमाल नेपाली, बुटवल उमनपा ७ का ४८ वर्षीय भीम बहादुर गुरुङ, पाल्पा तिनाउ गापा १ का २४ वर्षीय रामबहादुर अर्गाली मगर, सोही गापा ४ का २६ वर्षीय पदम थापा रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।
वनमा काठ फडानी गरेर २ वटा ठूला गोलिया रिक्सामा हालेर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रमुख केसीले बताए। उनले पक्राउ परेका चारजना मध्ये काठसहित तीनजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको र सेनाको अमलदारलाई जबरजंग गण रामनगर ब्यारेक बुटवल बुझाइएको बताए।
पक्राउ परेका हिमाल नेपाली सेनाको कर्मचारी रहेको जबरजंग गण रामनगर ब्यारेक बुटवलका कर्नेल अच्युत विक्रम शाहले पुष्टि गरेका छन्।उनले भने प्रहरीले पक्राउ गरेको व्यक्ति सेनाकै 'स्टाफ' हुन तर उनी कहाँ कुन कार्यालयमा कार्यरत छन् त्यो खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस !