सकियो सधैंको बाढी र पहिरोको सास्ती : कष्टपूर्ण १४ किमी दाउन्ने खण्ड अब ‘सरर...’
बुटवल : राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनिरहेको बुटवल–नारायणगढ सडकको निर्माण अन्तिम चरणमा पुगेको छ। बुटवलदेखि दाउन्नेसम्म एउटा र दाउन्नेदेखि नारायणगढसम्मको अर्को भागलाई विभाजन गरी पश्चिम र पूर्वीखण्ड बनाएर यो सडक निर्माण गरिएको छ। दुवै आयोजना कार्यालयले दिएको जानकारीअनुसार हालसम्म दुवै खण्डमा गरी कुल ९२ प्रतिशत निर्माण भौतिक प्रगति भएको छ। यात्रीहरूले धेरै सास्ती खेलिरहेको दाउन्ने खण्डमा समेत निर्माणको कामले अन्तिम रूप पाउँदै छ।
कष्टपूर्ण १४ किमी दाउन्ने खण्ड पनि सरर...
बुटवल–नारायणगढ सडकको कुल दूरी १ सय १३ किलोमिटर हो। त्यसमध्ये दाउन्ने क्षेत्र मात्र १४ किमी छ। तर, अरू क्षेत्रमा सडक सहज भए पनि दाउन्ने खण्डमा बाढी र पहिरोले सताउँदा यात्रीहरू दिक्क बनेका थिए। सधैंको वर्षामा घन्टौंसम्म सडक रोकिँदा गन्तव्यमा पुग्न नपाएका यात्रीहरूको आक्रोश चुलिने गरेको थियो। पश्चिम क्षेत्रमा १० र पूर्वीक्षेत्रमा चार किलोमिटर सडक दाउन्नेमा पर्छ।
‘दाउन्ने खण्डमा पर्ने खुर्सानी खोलाको पहिरो नियन्त्रण गर्ने काम अहिले चलिरहेको छ,’ बुटवल–नारायणगढ सडक योजना पश्चिमखण्डका सूचना अधिकारी एवं इन्जिनियर विकास खनालले भने, ‘हाम्रो क्षेत्रमा पर्ने १० किलोमिटरको दाउन्ने खण्डको धेरै काम भइसकेको छ। २ दशमलव ८ किमी कालोपत्रे र अरू ढलानको काम दाउन्नेमा पर्छ।’ दाउन्ने क्षेत्रमा बाढी र पहिरोले सताउने भएकाले ७ दशमलव २ किमी सडक ढलान गरिएको उनले जानकारी गराए। अबको केही दिनमा ढलानको काम पनि पूरा हुने उनले बताए।
दाउन्ने क्षेत्रको पूर्वी खण्डमा पर्ने चार किलोमिटरमध्ये सबैमा ढलानको काम सकिएको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए। ‘यसपालिको वर्षादेखि यात्रीहरूले सास्ती खेप्नुपर्दैन,’ उनले भने, ‘धेरै समस्या भएको दाउन्ने क्षेत्रमा पनि काम भएपछि अरूमा सहज छ।’
दुवै खण्डको भौतिक प्रगति ९२ प्रतिशत
पूर्वी र पश्चिमखण्ड बनाएर निर्माण गरिएको यो सडकको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत भएको छ। बुटवलदेखि दाउन्नेसम्म ४८ किलोमिटर र दाउन्नेदेखि नारायणगढसम्म ६५ किमी छ। योजनाको कुल दूरी १ सय १३ किमी हो। दुवै खण्डको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी–चाइना) ले निर्माणको जिम्मा लिएको थियो। यो योजनामा एसियाली विकास बैंक (एडीबी) को सहयोग रहेको छ। जंगल क्षेत्रमा फोरलेन र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ।
निर्माण कम्पनीसँग पश्चिमतर्फको सडकका लागि कुल ८ अर्ब ३१ करोड रुपैयाँ र पूर्वीखण्डमा ९ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने सम्झौता छ। योजना कार्यालयका अनुसार पूर्वी क्षेत्रमा दुवैतर्फ गरी ६८ वटा मोटरेबल पुल निर्माण गरिएको छ। निर्माणको दुई वर्षपछि चिनियाँ निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै समयमै काम नगर्दा सडक अस्तव्यस्त बनेको छ।
पटक–पटक राजनीतिक दबाब र राष्ट्रिय चासोको रूपमा योजनालाई सरकारले नै प्राथमिकतामा राखेपछि सडक निर्माणको कामले तीव्रता पाएको हो। सडक क्षेत्रमा पर्ने जिल्लाका नेताहरूले सरकारलाई दबाब दिँदै आएका थिए। अर्थमन्त्री स्वर्णिम वाग्लेले समेत आगामी आर्थिक वर्षभित्र यो योजनालाई पूर्णरूपमा सम्पन्न गर्ने बजेट वक्तव्यमा उल्लेख गरेका छन्।
दाउन्नेमै ढिलाइ किन ?
योजना ढिलाइ हुनुमा सबैभन्दा समस्याको क्षेत्र दाउन्ने खण्ड थियो। दाउन्ने क्षेत्रमा कल्भर्ट धेरै बनाउनुपर्ने भएपछि निर्माणमा ढिलाइ भएको योजना कार्यालयका सूचना अधिकारीहरूले प्रतिक्रिया दिएका छन्।
कुल १४ किलोमिटर मात्र पर्ने दाउन्ने क्षेत्रमा १ सय ३ वटा कल्भर्ट निर्माण गरिएको छ। धेरै ठाउँमा कल्भर्ट बनाउनुपर्ने र बनेका कल्भर्टसमेत खोलाले पटक–पटक बगाउने समस्याले गर्दा बाटो निरन्तर सुचारु गर्न र समयमै पूरा गर्न समस्या देखिएको पूर्वीखण्ड योजना कार्यालयका सूचना अधिकारी शिव खनालले जानकारी गराए। चार किलोमिटर क्षेत्रमा मात्रै ३३ वटा कल्भर्ट निर्माण गरिएको छ। ‘बन्दै गर्छ, खोलाले बगाउँछ। एकतर्फी बाटो चलाउँदै, बनाउँदै गर्दा धेरै गाह्रो भएको हो,’ खनालले भने, ‘दाउन्ने क्षेत्रको काम पूरा हुनेबित्तिकै सबै समाधान भएको छ।’
उत्साहित यातायात व्यवसायी
झन्डै २४ घण्टाको कष्टपूर्ण यात्रा अहिले बढीमा ७÷८ घण्टामै सीमित भएपछि यातायात व्यवसायीहरूलाई धेरै राहत मिलेको पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलका अध्यक्ष दधिराम खरेलले प्रतिक्रिया दिए। ‘हामी यातायात व्यवसायीहरू धेरै उत्साहित छौं,’ उनले भने, ‘सडक ढिला बन्यो तर बन्यो। यसले हामीलाई धेरै उत्साहित बनाएको छ। बढीमा ७ घण्टाको यात्रा २४ घण्टासम्म गर्नुपर्ने बाध्यता थियो।’
खरेलले केही दिनअघि आफू काठमाडौंबाट आफ्नो निजी कारमा ५ घण्टामै बुटवल आइपुगेको जानकारी गराए। ‘सबै यात्रीहरू प्लेनबाट काठमाडौं जान सक्दैनन्, सबैको आर्थिक हैसियत एउटै नहुन सक्छ,’ उनले भने, ‘पछिल्लो समय धेरै आरामदायक बसहरू सञ्चालनमा छन्। एकपटक बसमा यात्रा गर्नेहरूले अर्कोपटक अरूमा यात्रा गर्नुनपर्ने गरी हामीले सुविधा दिएका छौं।’ उनले पछिल्ला केही वर्षमै पश्चिम नेपाल बस व्यवसायी प्रालिमार्फत ६ सयभन्दा बढी आरामदायक बसहरू सञ्चालनमा आएको जानकारी गराए। बुटवल–नारायणगढ सडक नबन्दा करोडौंको क्षति व्यवसायीहरूले भोग्नुपरेको उनले गुनासो गरे।
नारायणगढ–मुग्लिन सडक यसअघि नै बनिसकेको छ। नागढुंगा सुरुङमार्ग पूर्णरूपमा सञ्चालन भएपछि यात्रीहरूलाई काठमाडौं पुग्न धेरै सहजता हुने उनले सुनाए। नेपालमै सबैभन्दा धेरै सार्वजनिक यातायात भएको ठूलो कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्रालि हो। यही सडक भएर दैनिक ४ सयभन्दा बढी सवारीसाधन यसै कम्पनीका आवतजावत गर्छन्। काठमाडौं पुग्ने गाडीहरू पाल्पा, पोखरा हुँदै घुमेर गए पनि पूर्वी नेपालमा जाने गाडीहरूलाई धेरै कठिनाइ भोग्नुपरेको खरेलले गुनासो गरे।
पूर्वी नेपालका सबै जिल्लाहरूमा आफ्नो कम्पनीका गाडीहरू बुटवलबाट छुट्ने गर्छन्। ‘दाउन्ने क्षेत्रमा बाटो सहज भएपछि यातायात व्यवसायीहरू धेरै उत्साहित छन्,’ खरेल भन्छन्, ‘सरकारले यही क्षेत्रमा काम गर्न ढिलासुस्ती गरेको भन्दै धेरैपटक गुनासो गर्यौं। अब बाटो बन्यो, हामी खुसी छौं।’ व्यावसायिक हिसाबले पनि पश्चिम नेपालको प्रमुख सहरको रूपमा परिचित छ बुटवल। काठमाडौं र पूर्वी नेपालका प्रमुख सहर वीरगन्ज, विराटनगरसहित चितवनबाट बुटवलमा मालसामान ओसारपसार गर्ने व्यवसायीहरूले बुटवल–नारायणगढ सडक सहज नहुँदा हैरानी खेपेका थिए।
बाटो सरर... भयो
विनयी त्रिवेणी गाउँपालिका (पूर्वीनवलपरासी) का अध्यक्ष घनश्याम गिरीले दाउन्ने क्षेत्रको चार सय मिटरबाहेक सबै क्षेत्रमा सडक बनेको जानकारी गराए। दाउन्ने क्षेत्रमा बाँकी रहेको काम पूरा गर्नका लागि गाउँपालिकाले समेत सहयोग गरिरहेको उनले बताए। ‘सडक बनाउन आवश्यक पर्ने नदीजन्य सामग्रीहरू पालिकाबाट उपलब्ध गराएका छौं,’ उनले भने, ‘सबैको साथ र सहयोगबाट यो योजना पूरा हुने चरणमा छ। नागरिकहरू
उत्साहित बनेका छन्।’
६ लेनको सडकमा यात्रा गर्न पाउँदा नागरिकहरू दंग परेको उनले सुनाए। ‘बाटो नबन्दा बुटवलदेखि नारायणगढ यात्रा गर्न ४÷५ घन्टा यात्रा गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब, दुई घन्टामै आउजाउ गर्न सकिन्छ।’
उनले यो सडक पश्चिम नेपालकै भाग्य र भविष्यसँग जोडिएको योजनाको रूपमा रहेको समेत प्रतिक्रिया दिए। सडक बनेपछि यस क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन कोसेढुंगा सावित हुनेसमेत उनको विश्वास छ।
अप्ठ्यारो सडक हुँदा यात्रीहरूको उद्धारमा दिनरात गाउँपालिकाले सेवा गरेको विगत उनले सुनाए। ‘राति एक्कासि खोलाले बस बगाउँछ। यात्रीहरू बिचल्लीमा पर्छन्,’ गिरीले भने, ‘गाउँपालिकाको एक्साभेटर पठाएर कैयौंपटक यात्रीहरूको उद्धार गर्यौं।’ पानी पर्नेबित्तिकै सडकको समस्याले यात्रीहरूलाई हैरानी पारेको विगत उनले सुनाए। ‘सडक धेरै पहिले नै बन्नुपर्ने थियो,’ गिरीले भने, ‘ढिला भए पनि बन्यो, यसैमा हामी खुसी छौं।’
दुई खण्डमा विभाजन गरेर निर्माण गरिएको बुटवल–नारायणगढ सडक आयोजनाको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ। १४ किलोमिटरको दाउन्ने खण्डको सडकमा ढलान गरिएको छ। सिमसिम पानी पर्नेबित्तिाकै गाडी चिप्लिएर दिनहुँ दुर्घटना हुने गरेको दाउन्ने क्षेत्रको सडक सहज बन्दा यात्रीहरू उत्साहित भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने यस सडक भएर दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन्। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मको यात्रामा निस्किएका यात्रीहरू गन्तव्यमा नपुग्दासम्म यही सडकका कारण आफन्तलाई रातमा निद्रा पर्ने गरेको थिएन।
दाउन्ने खण्डको ४ सय मिटरबाहेक सबै क्षेत्रमा सडक बनेको छ। दाउन्ने क्षेत्रमा बाँकी रहेको काम पूरा गर्नका लागि गाउँपालिकाले समेत सहयोग गरिरहेको छ। जेठभित्र यो पनि पूरा हुन्छ। पालिकाबाट नदीजन्य सामग्रीहरू उपलब्ध गराएका छौं। ६ लेनको सडकमा यात्रा गर्न पाउँदा नागरिकहरू दंग छन्। अप्ठ्यारो सडक हुँदा यात्रीहरूको उद्धारमा दिनरात गाउँपालिकाले सेवा गर्नुपथ्र्यो। पानी पर्नेबित्तिकै सडकको समस्याले यात्रीहरूलाई हैरानी पारेका कैयौं अनुभव छन्। ढिला भए पनि सडक बनेकोमा हामी खुसी छौं।
घनश्याम गिरी, अध्यक्ष, विनयी त्रिवेणी गाउँपालिका, पूर्वीनवलपरासीझन्डै २४ घन्टाको कष्टपूर्ण यात्रा अहिले बढीमा ७÷८ घन्टामै सीमित भएको छ। म आफ्नो कारमा केही दिनअघि ५ घण्टामै काठमाडौंबाट बुटवल आइपुगेको थिएँ। यातायात व्यवसायीहरू उत्साहित छौं। सडक ढिला बन्यो तर बन्यो, यो नै ठूलो खुसी हो। सबै यात्रीहरू जहाजबाट काठमाडौं जान सक्दैनन्, सबैको आर्थिक हैसियत एउटै नहुन सक्छ। अहिले धेरै बसहरू आरामदायक छन्। एकपटक बसमा यात्रा गर्नेहरूले अर्कोपटक अरूमा यात्रा गर्नुनपर्ने गरी हामीले सुविधा दिएका छौं। नारायणगढ–मुंग्लिन सडक यसअघि नै बनिसकेको छ। नागढुंगा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालन भएपछि यात्रीहरूलाई काठमाडौं पुग्न धेरै सहजता हुनेछ। सडक सहज हुँदा हामी यात्रीहरूलाई अझ आरामदायक सेवा दिन सक्छौं।।
दधिराम खरेल, अध्यक्ष, पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवलदाउन्ने खण्डमा पर्ने खुर्सानी खोलाको पहिरो नियन्त्रण गर्ने काम अहिले चलिरहेको छ। हाम्रो क्षेत्रमा पर्ने १० किलोमिटरको दाउन्ने खण्डको धेरै काम भइसकेको छ। २ दशमलव ८ किमी कालोपत्रे र अरू ढलानको काम दाउन्नेमा पर्छ। दाउन्ने क्षेत्रमा बाढी र पहिरोले सताउने भएकाले ७ दशमलव २ किमी सडक ढलान गरिएको छ। केही दिनमा ढलानको काम पनि पूरा हुन्छ। चार किमी दाउन्ने खण्डको भाग पूर्वी क्षेत्रमा पर्छ। यसपालिको वर्षामा यात्रीहरूले सास्ती खेप्नुपर्दैन।
विकास खनाल, सूचना अधिकारी एवं इन्जिनियर, बुटवल नारायणगढ सडक योजना (पश्चिम)
गति लिएन बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकले
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको अर्को महत्वपूर्ण योजना हो, बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक। यो सडक निर्माणको काम धमाधम चलिहरको थियो। तर, बीचमा निर्माण सामग्री र कामदार अभावले कामले सोंचेअनुसार गति लिन सकेको छैन। सडक अहिले भत्काएर भताभुंग छ, तर कामले तीव्रता पाउन सकेको छैन।
दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक तोकिएकै मितिमा सम्पन्न हुनेमा नागरिकहरू ढुक्क छैनन्। यो सडक पनि एडीबीको अनुदानमा विस्तार गर्न थालिएको हो। बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकअन्तर्गत बुटवल गोरुसिंगे ५० किलोमिटर २०८१ कात्तिक १२ गतेदेखि निर्माण थालिएको हो।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले कुल १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा ठेक्का लिई काम थालेका छन्। निर्माण कम्पनीले २०८४ कात्तिक ३ गतेसम्म योजना सम्पन्न गर्ने सम्झौता छ।
निर्माणाधीन बुटवल–गोरुसिंगे सडकको बुटवल उपमहानगरपालिकाको बेल्वास क्षेत्र । : केशरराज क्षेत्री
सडक निर्माणका लागि माटोलगायत अन्य सामग्रीको अभाव देखाउँदै ठेकेदारले कामको गति दिन सकेका छैनन्। सडक निर्माण क्षेत्रभित्र पर्ने स्थानीय तहसँग निर्माण सामग्री दिनका लागि आयोजना कार्यालयले समन्वय गरे पनि त्यसले मूर्तरूप पाउन सकेको छैन। स्थानीय तह आफैंलाई निर्माण सामग्री अपुग हुने भएकाले उनीहरूले यो योजनालाई सामग्री दिन मानिरहेका छैनन्।
हाल सडक निर्माणको कामले त्यति गति लिन नसके पनि पुल निर्माणको काम चलिरहेको आयोजना कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन्। ‘सडक नबन्दासम्म नागरिकहरूले योजना बनिरहेको महसुस नगर्नुहुँदो रहेछ’, उनले भनिन्, ‘पुल बनिरहेको छ। निर्माण सामग्री उपलब्ध गराउनका लागि कार्यालयले समन्वय गरिरहेको छ।’ निर्माणस्थलमा पहिले ८ सय बढी मजदुर लगाएर काम थाले पनि अहिले ४ सय ५० जना मात्रले काम गरिरहेको न्यौपानेले बताइन्। यो योजनाको हाल २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
बुटवल गोरुसिंगे सडक विस्तारलाई ५० किलोमिटर दूरीमा दुई खण्डमा बाढेर काम गरिएको छ। सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७ दशमलव ४ मिटर र वन क्षेत्रमा २४ मिटर चौडाइको फराकिलो सडक निर्माण गर्ने योजना छ। यो आयोजना निर्माणलाई समयमै सक्ने गरी निर्माण क्षेत्रमा रहेका स्थानीयले नागरिक स्तरबाट निगरानी समितिसमेत गठन गरेका छन्।
बुटवल नारायणगढ सडककै जस्तै दर्दशा नहोस् भन्नका लागि नागरिकहरूले समिति बनाएर निगरानी गरे पनि योजनाले चाहेअनुसार गति भने लिन सकेको छैन। बुटवल नारायणगढ सडककै जस्तै अवस्था हुनेमा नागरिकहरू त्रसित छन्। सम्बन्धित निकायले योजनालाई समयमै पूरा गर्ने गरी चासो दिएर काम गर्न नागरिकहरूले सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस !