केसी र थापा भेट्न शिक्षण अस्पताल जानेलाई खानतलासी

केसी र थापा भेट्न शिक्षण अस्पताल जानेलाई खानतलासी

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औं पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनीविरुद्ध माग राखेर विजय थापा अनशनमा बसिरहेका छन्। थापाको विरुद्धमा पनि अनशन बस्ने जनाउँदै कैलालीका खेमबहादुर मगरले अस्पतालमा ठाउँ मागेका छन्। केसीको विरोध र समर्थनमा अनशनकारी बढ्न थालेपछि शिक्षण अस्पताल अनशनस्थलमा परिणत हुने देखिएको छ।

मगरले सोमबार अनशन बस्ने ठाउँ दिन अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्कासमक्ष सोमबार निवेदन दिएका हुन्।

केसीसँग १५ औं अनशनका बेला गत साउन १० गते सरकारले राष्ट्रिय चिकित्सा विधेयक संशोधनको सम्झौता गरेको थियो। संसद्मा विचाराधीन त्यही विधेयक संशोधनसहित पारित गर्नुपर्ने केसीको माग छ। केसीलाई अहिले अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ। केसी १४ दिनदेखि अनशनमा छन्। पुस २५ गतेदेखि इलाममा अनशन सुरु गरेका उनको स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। आईसीयूमा भर्ना भएको तीन दिनपछि उनी वार्डमा सरेका थिए।

थापा भने विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने माग राखेर अनशनरत छन्। पुस २७ देखि उनले इलामबाटै अनशन सुरु गरेका थिए। उनलाई पनि सेनाको हेलिकोप्टरबाटै सरकारले काठमाडौं ल्याएको थियो। शिक्षण अस्पतालको मेडिकल आईसीयूको ५ नम्बर शड्ढयामा छन्।

अनशन बस्न लागेका अर्का व्यक्ति खेमबहादुर मगरले भने आफू केसीको समर्थनमा रहेको बताएका छन्। ‘मेरो अनशनमा कुनै पार्टीगत स्वार्थ छैन। स्वतन्त्र युवाको नाताले केसीको समर्थनस्वरुप अनशन बस्न चाहेको हुँ,’ मगरले दिएको निवेदनमा उल्लेख छ। विधेयकको समर्थनमा थापा अनशन बस्दा केसीको अपमान भएको ठहर गर्दै आफू अनशन बस्न चाहेको उनले बताए।

अस्पतालका कार्यकारी निर्देशक डा. खड्काले केसी र थापाको टोली बनाएर उपचार भइरहेको जनाए। उनले आफूहरु अस्पतालमा उपचार गर्न आउने बिरामीको सेवामा कमी नहोस् भन्नेतर्फ संवेदनशील रहेको समेत बताए।

शिक्षण अस्पतालको भवनमा असईको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। केसीको निगरानीमा दुई जना प्रहरी छन् भने थापाको निगरानीमा एक प्रहरी जवान खटिएका छन्। सादा पोसाकका प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी समेत तैनाथ छन्। प्रहरीले केसी र थापालाई भेट्न आउनेको जिउ खानतलासी लिने गरेका छन्।

अस्पतालले स्वास्थ्योपचारका लागि दिने सेवामा बन्द हडताल नगर्न र सरिक नहुन प्राध्यापक, डाक्टर, नर्सिङ कर्मचारी, प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई सोमबार अपिल गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. खड्काले आवश्यक सेवा सञ्चालन ऐन, २०१४को दफा ३ (१) अनुसार अपिल गरिएको बताए। स्वास्थ्य सेवामा हड्ताल गर्न निषेध गरिएको छ। ऐनविरुद्ध जानेलाई कानुनबमोजिम सजाय गरिने अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.