नजरमा नपरेको ‘बेतेनी भञ्‍ज्याङ’

नजरमा नपरेको ‘बेतेनी भञ्‍ज्याङ’

गाईघाट : एकैछिनमा घाम, हुस्सु उड्नु र पानी पर्नु उदयपुरको कटारी नगरपालिका–११ बेतिनी भञ्ज्याङको विशेषता हो। पश्चिम, दक्षिणी क्षेत्रमा भीर र उत्तरपूर्वी क्षेत्रमा पहाडी भू–भागको पाखोवारीले घेरेको यस भञ्ज्याङ पूर्वको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो।

चार जिल्लाका बासिन्दालाई खाद्यान्नलगायत अन्य उपभोग्य सामग्री पुर्‍याउन सकिने ‘ट्रान्जिट पोइन्ट’को रूपमा चिनिएको उदयपुरकै दोस्रो व्यापारिक केन्द्र कटारी बजारबाट उत्तरी क्षेत्रको २२ किलोमिटर यात्रा तय गरेपछि बेतिनी भञ्ज्याङ पुग्न सकिन्छ। युगकवी सिद्धिचरण श्रेष्ठको नामबाट नामाकरण गरिएको ‘सिद्धिचरण राजमार्ग’मै पर्ने बेतिनी भञ्ज्याङबाट उदयपुरको उत्तरी क्षेत्र, छिमेकी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको यात्रा गर्न सकिन्छ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेवस्थान मन्दिरको दर्शन गर्न हजारौं तीर्थालु यहीँ बाटो हुँदै आवतजावत गर्छन्। तर, होटेल तथा लज र अन्य पूर्वाधार अभावमा चाहेर पनि तीर्थालु र पर्यटकले यस ठाउँमा बास बस्न भने सक्दैनन्। सामान्य खालका चार÷पाँच वटा होटेल र किराना पसल मात्र त्यहाँ सञ्चालनमा छन्। यातायातका साधन चलेकाले सिजनअनुसार पोलेको मकै, सुन्तला, काँक्रा, कागती, निबुवा, करेला, बदाम बिक्री गर्नेको संख्या भने निकै रहेको छ।

यात्रा गर्ने क्रममा बेतेनी भञ्ज्याङ पुगेपछि एकछिन नरोकिने र अवलोकन नगर्ने यात्रु कमै हुने गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार मौसममा आउने परिवर्तनकै लागि भए पनि यात्रु एकछिन रोकिने गर्छन्। पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारसँगै मिल्दोजुल्दो हावापानी रहेको यो ठाउँमा घन्टैपिच्छे मौसम परिवर्तन भइरहने र हिमाल, पहाड र तराईका सुन्दर दृश्य सहजै अवलोकन गर्न सकिन्छ।

‘बेतिनीबाट सगरमाथालगायत हिमाल र नेपालका तराई तथा भारतका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ’, वडाध्यक्ष दीपक बुढाथोकीले भने, ‘यो पूर्वकै चर्चित र महत्त्वपूर्ण पर्यटकीयस्थल हुन्छ भन्ने थाहा पाउँदा पनि वडामा आउने बजेटबाट पूर्वाधार तयार गर्न नसकेको अवस्था छ।’ वडाको मात्र स्रोतसाधनले नभ्याउने भएपछि सहयोग गर्न नगरपालिका हुँदै प्रदेश र केन्द्रीय सरकारसँग अनुरोध गरिएको उनले बताए।

पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा बेतिनीको नाम भने समावेश गरिएको छैन। हरेक दृष्टिकोणबाट महत्त्वपूर्ण भएर पनि पर्यटकीय क्षेत्रको सूचीमा नपर्नु दुर्भाग्यपूर्ण रहेको वडाध्यक्ष बुढाथोकीले बताए। पर्यटकीय क्षेत्रको रूपमा यसको विकास गर्न माथिल्लो निकायसँग समन्वय भइरहेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘बेतेनीको विकासका लागि सबैभन्दा पहिला पर्यटकीय क्षेत्र घोषणा र पर्यटक भिœयाउने गरी दीर्घकालीन योजना अघि सारिएको छ।’

व्यावसायिक लगानी गर्न सडक सञ्जाललाई व्यवस्थित गर्ने र त्यसपछि भ्यू टावरको कल्पना गरिएको उनको भनाइ छ। नगर प्रमुख श्रेष्ठका अनुसार यस क्षेत्रको विकासका लागि व्यापारी लगानी गर्न तयार भइसकेका छन्। सडक पिच हुन सके यस क्षेत्रले पर्यटकीयस्थलको रुप धारण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने उनको भनाइ छ। एसियाली विकास बैंकको सहयोगमा मिर्चैया–कटारी–घुर्मीसम्मको सडकलाई १३ मिटर चौडाइ बनाएर कालोपत्रे गर्ने तयारी रहेको बताउँदै श्रेष्ठले भने, ‘आशा गरौ चाँडै सम्पन्न गरी पर्यटकीय क्षेत्रलाई हराभरा बनाउनेछौं।’

पूर्वाधार नहुँदा ओझेलमा

मौसम र पर्यटकीय क्षेत्रका हिसाबले प्रसिद्ध पर्यटकीयस्थल भेडेटार बराबरकै उचाइ र समान मौसमी अवस्था हुँदा पनि आवश्यक पूर्वाधार नहुँदा यो क्षेत्र ओझेलमा परेको स्थानीयबासी बताउँछन्। उनीहरूका अनुसार पर्यटकीय क्षेत्र विस्तार गर्न सबैभन्दा पहिला सडक, बिजुली, सरसफाइ, खुला ठाउँ, बास बस्ने घर, होटेल, मौलिक संस्कारअनुसारका खाना, दृश्यावोलकन आवश्यक पर्छन्। स्थानीय लोकबहादुर मगरका अनुसार दृश्यावोलकनका लागि ठाउँहरू भए पनि पूर्वाधार नहुँदा यो क्षेत्रको विकास हुन सकेको छैन।

प्रचारप्रसारमा कमी, भौतिक पूर्वाधारको अभाव, सडक सञ्जालले प्राथमिकता नपाउनु र सरोकारवाला निकायले वास्ता नगर्नु यो क्षेत्रका लागि दुर्भाग्यपूर्ण बनेको उनले बताए। मगरले पर्यटकीय क्षेत्रको प्रमुख सम्भावना बोके पनि पर्यटन प्रवद्र्धन गर्नेतर्फ कसैले चासो नदिँदा बेतिनी भञ्ज्याङ विकासका हिसाबले पछि परेको बताए। यहाँको बजार व्यवस्थापन गरेर पर्यटकलाई खान र बस्न व्यवस्थित होटेल र लजको व्यवस्था गर्न तथा प्रचारप्रसार गर्न सके बेतिनी भञ्ज्याङ दोस्रो भेडेटारको रूपमा अगाडि बढ्न सक्ने स्थानीय गंगाप्रसाद पोखरेल बताउँछन्। हरेक हिसाबले महत्त्वपूर्ण मानिए पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नसक्दा यो क्षेत्र विकासका हिसाबले पछि परेको उनी बताउँछन्।

‘पर्यटकीय क्षेत्र मात्र बनाउन सकिए प्रशस्त फाइदा लिन सकिन्थ्यो। तर, यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन’, स्थानीय नेत्र कार्कीले भने, ‘हिजो कर्मचारीले नगरेको काम जनप्रतिनिधिले गर्छु भन्थे। त्यो पनि अहिलेसम्म सकिरहेका छैनन्।’ सुन्दर, मनमोहक र रमणीय भएर पनि ओझेलमा परिरहनु कटारी क्षेत्रकै दुर्भाग्य भएको पूर्वजनप्रतिनिधि रामकुमार राईको भनाइ छ। ‘एकैछिनमा घाम लाग्ने, एकैछिनमा कुहिरोसँगै पानी पर्ने विशेषता बोकेको बेतिनी भञ्ज्याङ पर्यावरणीय हिसाबले महत्वपूर्ण छ’, उनले भने, ‘यसको विकासमा स्थानीय सरकारले समेत चासो दिएको पाइँदैन।’

स्थानीय शत्रुधन कार्कीले पछिल्लो समय केन्द्रीय र प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचान र विकास गरी पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्ने र गरिबी घटाउने नीति लिई कार्यक्रम अघि सारे पनि मौका नपाएको बताए। नीति तथा कार्यक्रम नमिल्दा बेतिनीजस्ता महत्त्वपूर्ण स्थान ओझेलमा परिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.