गोठालाको स्वदेशमोह

गोठालाको स्वदेशमोह

स्वदेशमै गाईपालन गरेर भविष्य खोज्ने युवाको कथा हो ‘गोपी’। साथै किसानको संघर्ष, प्रेमिकाको सम्बन्ध र परिवारको विदेशमोहसमेत फिल्मको कथाले समेट्छ। युवा बिदेसिनुको पहिलो कारण हो— देशमा अवसर र कामको अभाव। तर, त्यस्तै अर्को सत्य के हो भने सबै श्रमशक्ति अवसर नै नपाएर बिदेसिएका भने होइनन्।

गोपी त्यस्तो श्रमशक्तिको कथा हो जसमा पढाइमा अब्बल सन्तानलाई विदेश पठाउने मोह छ। र, त्यस्तो सन्तान स्वदेशमै अवसर जुटाउन घरभित्र र समाजमा समेत संघर्ष गरिरहेको हुन्छ। विशिष्ट श्रेणीमा एसएलसी पास भएदेखि नै सन्तानलाई अमेरिकाको ग्रिनकार्ड होल्डरका रूपमा परिकल्पना गर्ने प्रवृत्ति समाजमा छ। अर्काेतर्फ स्नातकोत्तरमा ‘गोल्ड मेडलिस्ट’ युवाको स्वदेशमै गाईपालन गर्ने सोख छ।

यसपालि ‘घामपानी’का निर्देशक दीपेन्द्र लामाले आफ्नो ध्यान यस्तै संघर्षरत युवा किसानमा केन्द्रित गरेका छन्। हरेक जीवनको एउटा संघर्ष हुन्छ। संघर्षकै क्रममा कतै सफलता त कतै असफलता मिल्छ। जीवन सफलता र असफलताको मि श्रण नै हो। असफलताले मानिसलाई परिपक्व पनि बनाउँछ। ‘गोपी’ कथा संघर्षले परिपक्व बनाएको युवा किसानकै वरिपरि घुमेको छ।

यो फिल्मले सानो छँदा पढेको कथा ‘सुनको अण्डा’को झल्कोसमेत दिन्छ। कथामा जस्तै गाईको दूध बढाउने लोभमा किसानले भिटामिन खुवाउँछ। व्यापारीको सल्लाहविपरीत दिनमा दुई बिर्काे मात्रै खुवाउनुपर्ने ठाउँमा बढी भिटामिन खुवाउँछ। बढी डोजका कारण गाई बिरामी पर्छन्। केही गाई मर्छन्। तर ‘सुनको अन्डा’मा झैं लोभले सिध्याएको किसानको कथा ‘गोपी’मा टुंगिँदैन।

गाईको गोबरको गन्ध आउने ज्याकेट लगाएर पढाउन जाने शिक्षक, दानाको भाउ बढेर आन्दोलित कृषक, पानी मिसाएर दूध बेच्ने व्यापारी, ग्रिनकार्ड हात पार्न खोज्ने सरकारी कर्मचारी, अमेरिकाको विलासी जीवनको सपना देख्ने प्रेमिका र विदेशबाट फर्किएर बेरोजगार युवालाई संघर्षरत गोठालो केटाको आँखाबाट यो फिल्मले हेर्छ। मन्त्रालय, प्रशासनिक कार्यालय, अड्डा अदालत कतै प्रवेश नगरी सरकारको कृषक हितविपरीत नीतिमाथि प्रहार गरेको छ।

अरू फिल्ममा जस्तो यसमा फाइट सिन भने छैन तर द्वन्द्व अवश्य छ। संघर्षका लागि द्वन्द्व आवश्यक हुन्छ। द्वन्द्व गोपीको समाजसँग छ, परिवारको प्रवृत्तिसँग छ, प्रेमिकाको अपेक्षासँग छ र आफू भित्रैको अन्तद्र्वन्द्व छ।

चकलेटी हिरो र विदेशतिर सोख परेकालाई गाई पाल्ने कृषकको कथा ननग्ल्यामरस लाग्न सक्छ। फिल्ममा गाई, गोठ, गोबरको गन्ध महसुस गर्न सकिन्छ। आयातीत पाउडर दूधले माग धानिरहेको बजारलाई गाईको शुद्ध दूधले झट्ट आकर्षण पनि गर्दैन। तर, पस्किन खोजिएको विषयवस्तुले फिल्मलाई पोसिलो बनाएको छ।

पौराणिक युगमा कृष्णले मुरलीको धुनले गाईलाई मोहित पारेको कथन छ। पाश्चात्य साहित्यमा पनि गाईबस्तुलाई मोजार्टका संगीत सुनाउँदै एकचित्त चराउने गरेको किस्साहरू पढ्न पाइन्छ। गोपीमा हराएको गाई पत्ता लगाउन संगीतको प्रयोग गरिएको छ। थोरै मिथकको प्रयोग भएकाले यसमा खासै तर्कले काम गर्दैन। यो फिल्मको कमजोरी हो तर कथाको विशेषता पनि यही हो।

अभिनेता विपिन कार्कीले गोपीका रूपमा मौलिक प्रभाव पार्छन्। उनको प्राकृतिक शैलीलाई निर्देशकले भरपूर उपयोग गरेका छन्। ‘प्रसाद’मा दलित समुदायको प्रतिनिधि पात्र र गोपीमा गाउँको गोठालो केटाको भूमिकालाई जीवन्त रूप दिएका विपिनले दर्शकमा छाप छोड्छन्।

कथाले कृषिमा लगनशीलताको खाँचो पहिल्याएको छ। सानो हेलचेक्य्राइँले गर्दा गाई नै गुमाउनु परेको घटनाले पटकपटक यस्तो सन्देश दिइरहन्छ। एकचोटि असफल भएर निरुत्साहित बनेका कृषकलाई हौसला दिने संघर्ष र सफलताको कथाले दर्शकलाई प्रेरित बनाउन खोजेको छ। यसमा टिम सफल देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.