पप गायिकाको डिजाइनिङ क्रेज

पप गायिकाको डिजाइनिङ क्रेज

पपस्टार श्रुति सिंहले आफ्नो व्यावसायिक बाटो तय गरेकी छन्। विगत १० वर्षदेखि पप गायनमा लागेकी यी गायिका युवा पुस्ताको रुचि बुझेर फेसन उद्योगमा लागेकी छन्। उनले हालै कुपन्डोलमा ‘क्विनडम अटायर’ बुटिक सञ्चालनमा ल्याएकी छिन्। हाल नेपाली परम्परागत शैलीका पोसाकबाट काम सुरु गरे पनि विस्तारै पश्चिमी शैलीका पहिरनमा काम फैलाउने उनको सोच छ। ‘मेरो डिजाइनमा बनेका पोसाकको मीठो रंगका कारणले ती युवती र किशोरीको रोजाइमा पर्ने गरेका छन्’, उनले प्रस्ट्याइन्।

लोकप्रिय पप गायिकाको फेसन डिजाइनिङमा झुकाव किन बढ्यो त ? धेरैलाई जिज्ञासा लाग्न सक्छ। आफ्ना श्रोता एवं दर्शकको खुल्दुली मेटाउँदै उनले भनिन्, ‘गायनलाई अझै पेसा बनाउन सकिने वातावरण यहाँ बनेको छैन।’ त्यसैगरी आफू स्वयं अलि मोटो भएकाले पहिरन खोज्न जाँदा उनलाई प्रायः समस्या पर्ने गथ्र्यो। नेपालमा मोटा मानिसलाई ध्यानमा राखेर खासै पहिरनको डिजाइन नगरिने र प्लस साइजका पोसाक पनि नबनाइने देखेर उनी स्वयंले बुटिक खोल्ने निधो गरिन्। कलाको जुनसुकै रूपमा उनको सानैदेखि रुचि थियो। तर, फेसन डिजाइनिङप्रति विशेष लगाव रहेकाले उनले भारतमा गएर यसको अध्ययन गरेकी हुन्।

फेसन डिजाइनिङलाई व्यावसायिक रूपमा लगे पनि गायन छाड्ने भने उनको विचार छैन। परिवारको सल्लाहअनुसार सुरुमा एउटा गीत रेकर्डिङ गराउन गएकी श्रुतिले त्यति बेला एउटा एल्बम नै तयार पारेकी थिइन्। उनको पहिलो गीत ‘प्रतीक्षामा’लाई धेरै श्रोताले मन पराएपछि उनले फिल्ममा गाउने अवसर पनि पाइन्। नवीन के भट्टराई, सुगम पोखरेल, राजेशपायल राई लगायतका चर्चित गायकसँग डुयट गाउने अवसरले उनलाई सांगीतिक आकाशमा सफल उडानका लागि सहयोग पु¥यायो। पप, टेक्नो र आर एन्ड बी मात्रै गाउने यी गायिका गीतमा शब्दको विशेष ख्याल गर्छिन्। एकपटक उनलाई गीतकार वसन्त चौधरीको लभ फर एभरमा गीत गाउने प्रस्ताव आयो। गीतमा आफूलाई गाउन अलि असहज हुने शब्दको प्रयोग गरिएको उनले पाइन्। शब्द चित्त नबुझेको कुरा गीतकार चौधरीलाई भनेपछि चौधरीले आफ्ना गीतका शब्दहरूलाई परिवर्तन गरिदिएको श्रुतिले बताइन्।

हिजोआज कन्सर्टमा व्यस्त हुनाले नयाँ गीत निकाल्न उनले भ्याएकी छैनन्। कन्सर्ट दर्शकसँग खुसी हुने र खुसी बाँड्ने क्षण भन्न रुचाउँछिन् उनी। यसरी खुसी भएका दर्शकले पहिले अटोग्राफ लिन्थे, अहिले उनसँगै सेल्फी खिच्ने गरेका छन्।

श्रुतिलाई हालै आरएसटीसीए फाउन्डेसनले सन् २०१८ मा नेपालका सय प्रेरणादायी महिलाको सूचीमा सूचीकृत गरेको छ। नेपाली समाजमा महिलाको भूमिका र उनले गर्ने कामले अरूलाई पार्ने प्रभावको आधारमा तयार पारिएको सूचीमा मिस नेपाल, महिला उद्यमी, बैंकर आदि रहेका छन्।

प्रविधिले ल्याएको परिवर्तनले गर्दा गीतको आयु छोटिँदै गएको उनको अनुमान छ। कुन गीत कति चल्छ भन्ने अड्कलबाजी गर्न नसके पनि जसरी इतिहास दोहोरिन्छ, त्यसरी नै संगीत र फेसन पनि दोहोरिन्छ भन्नेमा उनी विश्वास गर्छिन्। पप गीतको पारखी भए पनि लोकगीत उनलाई उत्तिकै मनपर्छ। कसैले लोकगीत गाउने प्रस्ताव राखे त्यसलाई स्वीकार्ने उनले बताइन्। ‘मलाई पनि मादलको ताल नै मन पर्छ। कहिलेकाहीँ गितारको धुन पनि मादलको तालमा सरिदिए हुन्थ्यो जस्तो लाग्छ’, उनले भनिन्, ‘लोकगीत गाउने मेरो शैली फरक होला तर लोकगीत नै नगाउने भन्ने होइन। म आफ्नै टोनमा लोकगीत गाउन मन पराउँछु।’ हालै अर्घाखाँचीको एक कन्सर्टमा आफूले लोकगीत गाउँदा युवादेखि वृद्धवृद्धासम्मका दर्शकले मन पराएको उनले सम्झिइन्।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने श्रुतिलाई हिट हुनु मात्रै सबै कुरा हो भन्ने लाग्दैन। आफूले गरेका कामलाई पछाडि फर्केर हेर्दा त्यसमा आत्मसन्तुष्टि र गौरव भेटिनुपर्छ जस्तो लाग्छ उनलाई।

अमेरिकी ओपेरा गायक डेभिड एरिकसँगको सहकार्यमा उनले चाँडै नै एक गीत निकाल्न लागेकी छन्। ‘एउटा संसार एउटै परिवार’ यही भावमा गीत बन्नेछ। विप्लव प्रतीकको उक्त गीतले यो संसारका सबै मानिसलाई आफ्नो दाजुभाइ सम्झेर एकअर्कालाई सहयोग गरौं भन्ने भाव बाँड्ने उनले बताइन्। ‘जेरुसेलममा भएका बालबालिकाको पीडामा हाम्रो पनि मन दुख्छ। अफ्रिकामा महामारी चल्दा हामीलाई दुःख लाग्छ’, उनले भनिन्। एक मानव भएकाले जाति, देश, रंग, भेषभूषाभन्दा माथि उठेर सहयोगको भाव जगाउनु गीतको उद्देश्य रहेको श्रुतिले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.