दोलखाका पाँच हजार भूकम्प पीडितले अझै सम्झौता गरेनन्
चरिकोट : निजी आवास पुनर्निर्माण सुरु भएको करिब ३ बर्ष पुग्नै लाग्दा समेत दोलखाका अझै ५ हजार भूकम्प पीडितले घर बनाउन सम्झौता नै गरेका छैनन् ।
माघ १७ गतेसम्म जिल्लाका ६७ प्रतिशतले निजी आवास पुनर्निर्माण गरिसक्दासमेत अझै साढे ७ प्रतिशत भूकम्प पीडितले पहिलो किस्ताको लागि सम्झौता नै गरेका छैनन् । जिल्लाको दुई नगरपालिका र ७ गाउँपालिका गरी नौ स्थानीय तहका चार हजार नौ सय १७ भूकम्प पीडितले सम्झौता नगरेका हुन् । यो संख्या सुरु भूकम्प पीडित, गुनासो सुनुवाई र पुनःजाँच तथा सर्वेक्षणबाट आएको तथ्याङ्कबाट लिइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले जानकारी दिए । जिल्लामा कूल ६९ हजार ६ सय आठ जना भूकम्प पीडित पुगेको प्राधिकरण दोलखाले जनाएको छ ।
भीमेश्वर नगरपालिकाको एक हजार दुई सय ४७, जिरी नगरपालिकाको एकसय ६१, गौरीशंकर गाउँपालिकाको दुईसय २१, कालिञ्चोक गाउँपालिकाको चारसय ७१, मेलुङ गाउँपालिकाको पाँचसय ३९, तामाकोशी गाउँपालिकाको छ सय एक, बैत्यश्वर गाउँपालिकाको एक सय चार, विगु गाउँपालिकाको चार सय ४२ र शैलुङ गाउँपालिकाको एघार सय ३१ जनाले अझै सम्झौता नगरेको प्रमुख आचार्यले जानकारी दिए ।
कूल भूकम्प पीडित मध्ये ६२ हजार ५ सय २२ भूकम्प पीडितले पहिलोकिस्ता लिएका छन् भने ५० हजार ६ सय ४९ ले दोस्रो किस्ता लिईसकेका छन् । प्रवलीकरण अर्थात मर्मत गर्ने भूकम्प पीडिततर्फ सबैभन्दा न्यून नौ प्रतिशत मात्र प्रगति भएको पाइएको छ । कूल दुई हजार २ सय ३८ प्रवलीकरण भूकम्प पीडितमध्ये एकसय ९२ जनाले मात्र प्रथम किस्ताको लागि सम्झौता गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस !