प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरू भएको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बिहीबार बिहान ९:३० बजे बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट सुनुवाइ प्रक्रिया सुरू गरिएको हो।
असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदका लागि राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो।
संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्त गर्नुअघि उनीहरूको संसदीय सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार समितिले सिफारिस भएका व्यक्तिविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता,क्षमता तथा समग्र पक्षबारे छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको हो।
संसदीय सुनुवाइ समितिले सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !