पाठेघरको क्यान्सर : हेलचेक्र्याइँले झन् जटिल
‘पहिला पतिसँगै आउनुभएको थियो। अहिले एक्लै आउनुभयो ? ’, वीर अस्पतालकी वरिष्ठ क्यान्सर रोगविशेषज्ञ डा. आरती शाहको प्रश्न सुन्नासाथ उनका आँखा रसाए। उनले आँसु पुछ्दै भनिन्, ‘रोग लागेको थाहा पाएपछि पतिले साथ छोड्नुभयो।’
तीस वर्षीया ती महिलाको पीडाले डा. शाहको मनमा चिसो पस्यो। ‘नरमाइलो लाग्यो। चार वर्षको छोरासहितकी ती महिलालाई सम्झाउनु र उपचार गर्नुसिवाय अरू सहयोग गर्न सकिएन’, डा. शाहले भनिन्।
पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) भएकी ती महिलाले अहिले केमोथेरापी लिइरहेकी छन्। अरूका घरमा घरेलु कामदारका रूपमा जीविकोपार्जन गर्ने उनले छोरालाई हेरविचार गर्न फुर्सद नमिलेपछि माइतीमा छाडेकी छिन्। श्रीमान्को अत्तोपत्तो छैन।
वीर अस्पतालमा भेटिएकी नुवाकोटकी ती महिलाको कथा अपवाद होइन। अधिकांश महिलालाई पाठेघरको क्यान्सर भएपछि उनीहरूका श्रीमान् र परिवारले बेवास्ता गर्ने गरेको पाइएको छ। क्यान्सर भएको पत्ता लागेपछि परिवारले झन् बढी स्याहार–सुसार एवं हेरविचार गर्नुको साटो बेवास्ता गर्ने प्रवृत्तिले उपचारमै समस्या पारेको छ। नभए समयमै उपचार गरे निको हुने रोग हो पाठेघरको क्यान्सर।
‘समयमै थाहा पाइयो भने क्यान्सर रोग निको हुन्छ’, सिभिल अस्पताल काठमाडौंका स्त्री क्यान्सर रोगविशेषज्ञ डा. जीतेन्द्र परियार भन्छन्, ‘तर क्यान्सर भएको थाहा पाउनेबित्तिकै पत्नीलाई घरबाट निकालदिने वा छोड्ने कार्यले बिरामीलाई झन् अप्ठेरोमा पारिरहेको छ।’
यसरी घरपरिवारले बेवास्ता गर्नुका केही कारण छन्। मुख्य कारण त चेतनाको कमी नै हो। ‘अधिकांशलाई क्यान्सर लागेपछि उपचार हुँदैन भन्ने भ्रम छ’, नेपाल क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष सुशील पन्तले बताए। पन्तका अनुसार यसरी बेवास्ता गर्नुको कारण आर्थिक विपन्नता पनि हो।
नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने अधिकांश औषधी महँगा छन्। अर्कोतर्पm सीमित अस्पतालमा मात्रै क्यान्सरको उपचार हुन्छ। त्यसैले उपचारमा सहुलियत भए पनि आउनेजाने, बस्नेखाने खर्च पुर्याउन नसक्दा अधिकांशले बीचैमा बिरामीलाई अलपत्र पारेर हिँड्ने गरेका छन्।
आँटे जितिन्छ
धेरैलाई लाग्छ– क्यान्सर उपचार नहुने रोग हो। तर यो सबैभन्दा ठूलो भ्रम हो। समयमै पत्ता लागे क्यान्सरको उपचार सम्भव छ भन्ने प्रशस्त उदाहरण छन्। त्यसका दुई उदाहरण हुन् ८२ वर्षीया आशा गुरुङ र ७० वर्षीया धनमाया गुरुङ। उनीहरू दुवैलाई १० वर्षअगाडि पाठेघरको मुख क्यान्सर भएको फेला परेको थियो। प्रारम्भिक अवस्थामै पत्ता लागेकाले दुवैको उपचार सम्भव भयो। अहिले उपचारपछि दुवैले सक्रिय जीवन बिताइरहेका छन्। उनीहरूको उपचार सफलताको खुसीमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले त माघ ९ गते केक नै काटेको थियो। केक काट्दै अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भनेका थिए, ‘सुरुवाती समयमै उपचार सुरु गर्ने हो भने रोगविरुद्ध लड्न सकिन्छ।’
नियमित परीक्षण र तुरुन्त उपचार हुने भएकाले विकसित मुलुकमा पाठेघरका क्यान्सरका बिरामी अत्यन्तै न्यून पाइन्छन्। ‘कतिपय मुलुकमा त पाठेघरको क्यान्सरका बिरामी नै छैनन्। कम विकसित देशमा अझै पनि पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये पहिलो नम्बरमा छ’, भक्तपुर क्यान्सर अस्पतालकी स्त्री क्यान्सर रोगविशेषज्ञ डा. एलिजा श्रेष्ठ भन्छिन्।
तीसदेखि ६० वर्ष उमेर समूहका महिलालाई सताइरहेको पाठेघर क्यान्सरको बेलैमा परीक्षण गर्ने हो भने भविष्यमा रोग लाग्नबाट सुरक्षित रहन सकिन्छ
खासमा क्यान्सर रोगविरुद्ध लड्छु भन्ने आँटले पनि त्यसलाई जित्न सघाउ पुर्याउँछ। अचेल क्यान्सरविरुद्ध लड्नकै लागि विभिन्न संस्था पनि खुल्न थालेका छन्। ती संस्थाले क्यान्सरपीडितसँग अन्तरक्रिया गर्ने, आर्थिक सहयोग जुटाउनेलगायतका काम गरिआएका छन्।
आउनै ढिलो
भक्तपुर क्यान्सर अस्पतालमा आएकी गोरखाकी एक महिलालाई जाँच गर्दै गर्दा उनको जनेन्द्रियबाट रगतको धारा नै छुटेपछि डाक्टरहरूले आकस्मिक कक्षमा पुर्याउनुपर्यो। यो त एक उदाहरण मात्रै हो। क्यान्सर उपचारको सबैभन्दा ठूलो समस्या नै परीक्षणमै ढिलाइ हो। डा. श्रेष्ठ भन्छिन्, ‘महिलाहरू निकै ढिलो उपचार गराउन आउने भएकाले मृत्युको मुखमा पुग्न बाध्य हुन्छन्। केही गर्न नसकिने अवस्थामा बल्ल उपचार गर्न आउँछिन्।’
यो सबैजसो क्यान्सर अस्पतालमा देखिने समस्या हो। खासमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमा थाहा भयो भने उपचार हुन्छ। तर समय घर्किसकेपछि भने उपचारमा कठिनाइ उत्पन्न हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ। तीमध्ये दुई लाखको मृत्यु हुन्छ। नेपालमा बर्सेनि कति महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक छैन। तर विभिन्न अस्पतालमा उपचार गराउन आएका महिलाको तथ्यांक हेर्दा बर्सेनि एक हजार महिलाको मृत्यु हुने गरेको स्त्री क्यान्सर रोगविशेषज्ञहरूको अनुमान छ। पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर र पाठेघरको भित्रपट्टिको क्यान्सर मुख्य मानिन्छ।
ढिलो देखिने लक्षण
डा. शाहका अनुसार पाठेघरका मुखको क्यान्सर भएका महिलामा लक्षण नदेखिन पनि सक्छ। सुरुमा लक्षण नदेखिने भएकाले एवं कतिपय अवस्थामा हेलचेक्रयाइँ गरेर महिला निकै ढिलो मात्र उपचार गर्न आउने गरेको चिकित्सकहरू बताउँछन्।
पाठेघरको क्यान्सरका लक्षण फरक–फरक हुन्छन्। डा. श्रेष्ठका अनुसार, कसैलाई सेतो र गनाउने पानी बग्ने, कहिलेकाहीं सेतो पानीमा रगत मिसिएर आउने हुन्छ। महिनावारी नहुँदा पनि रगत जाने वा यौन सम्बन्धपछि पनि रगत बग्ने हुन्छ। रोगले जटिल रूप लिँदै जाँदा पहिलेको भन्दा धेरै पानी बग्ने, पानी गनाउने, पटक÷पटक संक्रमण हुने र पानीमा रगतसमेत मिसिएको समेत हुन सक्छ। महिनावारी नभएको समयमा पनि रगत देखा पर्ने यस रोगको प्रमुख लक्षण हो।
– क्यान्सर रोग पत्ता लागेपछि परिवारले बढी स्याहार एवं हेरविचार गर्नुपर्नेमा बेवास्ता गर्ने प्रवृत्तिले उपचारमै समस्या पारेको छ।
– सीमित अस्पतालमा मात्रै क्यान्सरको उपचार हुन्छ।
– सुरुवाती समयमै उपचार सुरु गर्ने हो भने क्यान्सर रोगविरुद्ध लड्न सकिन्छ।
– निकै ढिलो उपचार गराउन आउनेहरू मृत्युको मुखमा पुग्न बाध्य हुन्छन्।
– प्याप स्मेयर परीक्षण नौ सय रुपैयाँमा र भीआईए परीक्षण दुई सय पचासमै हुन्छ।
– धेरैसँग यौनसम्पर्क गर्ने बढी जोखिममा।
‘पाठेघरको मुख र पिसाबको नली नजिकै हुन्छ। पछि पिसा फेर्न पनि धौ हुने पनि हुन्छ। मिर्गौला, पिसाबको थैलीमा समेत असर गरेर अन्य शारीरिक लक्षण पनि देखा पर्छन्’, डा. श्रेष्ठ भन्छिन्।
महिनावारी बन्द भइसकेका महिलामा फेरि रगत देखा परेमा यो रोग लागेको शंका गर्न सकिन्छ। कसैमा पेट फुल्ने समस्या पनि देखिन सक्छ। धेरै फैलिएको अवस्थामा खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने साथै दिसापिसाबमा समस्या देखा पर्न सक्छ।
‘कुनै लक्षण नै देखिएको छैन भनेर चुप लागेर बस्नु हुँदैन। अधबैंसे उमेरका महिलामा पाठेघरको क्यान्सर बढी देखिएको छ। कतिपयलाई अहिले नै लक्षण नदेखिएको हुन सक्छ’, डा. शाहको भनाइ छ।
के हो पाठेघरको मुखको क्यान्सर ?
क्यान्सरको सामान्य अर्थ हो, शरीरका कोषहरूको अनियन्त्रित वृद्धि। हाम्रो शरीर कोषैकोषले बनेको संरचना हो। कोषहरू मिलेर तन्तु बनाएका हुन्छन्, तन्तुले अंग, अंगअंगले प्रणाली। हरेक तन्तुलाई सक्रिय बनाउन रक्तनलीहरूले रगत पुर्याउने गर्छन्। तर यदि कुनै अंगका कोषहरू अनियन्त्रित रूपले वृद्धि भए भने त्यहाँ रक्तनली पुग्दैन। त्यसपछि ती वृद्धि भएका कोषहरूले शरीरलाई नै असर पुर्याउन थाल्छन्। त्यही नै हो क्यान्सर। यस्तो कोष वृद्धि पाठेघरको मुखमा भयो भने त्यसलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।
क्यान्सरका अनेक कारण छन्। पाठेघरको मुखको क्यान्सरको भने प्रमुख कारण हो, ह्युमन पापिलोमा भाइरस (एचपीभी)। यो भाइरस धेरै प्रकारको हुन्छ, जसमध्ये एचपीभी १६ र एचपीभी १८ ले संक्रमणले पाठेघरको क्यान्सर गराउने डा. बताउँछिन्। शारीरिक सरसफाइमा ध्यान नदिने र धेरैजनासँग शारीरिक सम्पर्क गर्ने महिलालाई यो भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ।
सार्ने पुरुष
ह्युमन पापिलोमा भाइरस महिलामा आफैं आउने होइन। यो पुरुषबाटै सर्ने हो। ‘पुरुषबाटै महिलामा भाइरस सर्ने हो। असुरक्षित यौन सम्पर्कबाट भाइरस सर्ने हुन्छ’, डा. श्रेष्ठले भनिन्। शारीरिक सम्पर्कका क्रममा छालाबाट छालामा भाइरस फैलिन्छ।
यसको अर्थ शारीरिक सम्पर्क नै नगरेका महिलालाई पाठेघरको मुखको क्यान्सर हुँदैन भन्ने चाहिँ होइन। तर उनीहरूमा एचपीभी भाइरसको संक्रमणको सम्भावना भने न्यून हुन्छ। यद्यपि वंशाणुगत कारण वा धूमपानजस्ता कारणले पनि पाठेघरको मुखको क्यान्सर हुन सक्छ। मद्यपान एवं धूमपान सेवन गर्ने, खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलामा यो रोग लाग्ने सम्भावना बढी हुन्छ। त्यस्तै सरसफाइको कमीले पनि सम्भावना बढाउँछ। त्यसैले प्रजननका दृष्टिले सक्षम कुनै पनि महिलालाई पाठेघरको मुखको क्यान्सर हुन सक्छ। विशेषगरी ३० वर्षदेखि माथिका बिहेवारी भइसकेका अथवा शारीरिक सम्पर्क भइसकेका महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ।
नेपालमा बालविवाह अझै हुने र धेरै बच्चा जन्माउने कारण पनि गाउँका महिलालाई पाठेघरको मुखको क्यान्सरले सताउने गरेको छ। यौन व्यवसायमा लागेका अथवा परपुरुषको संसर्गमा रहेका महिलामा पनि यो रोग लाग्ने सम्भावना हुन्छ। ‘असुरक्षित यौन सम्पर्क गर्नेहरूमा रोगको जोखिम बढी हुन्छ। सेक्स पार्टनर बढी गराउनेहरू झन् बढी सजग हुनुपर्छ। पुरुषहरूबाट भाइरस सर्छ र महिलालाई क्यान्सर गराउँछ’, डा. श्रेष्ठ भन्छिन्। क्यान्सर रोगविशेषज्ञहरूले गरेको एक अध्ययनअनुसार २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ।
चाहिन्छ नियमित जाँच
क्यान्सरले एक चरण पार गरेपछि मात्र लक्षण देखिने हुँदा यसको नियमित जाँच पहिलो आवश्यकता हो। विशेषज्ञका अनुसार पाठेघरमा ह्युमन पापिलोमा भाइरस संक्रमण भएको पाँचदेखि दस वर्षमा यसले आफ्नो वर्चश्व स्थापित गरिसक्छ। त्योभन्दा पहिल्यै उपचार गर्न आएको अवस्थामा निको हुने सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन्। तर त्यसका लागि नियमित परीक्षण आवश्यक छ। परीक्षणका अनेक विधि छन्। सबैभन्दा सहज विधि प्याप स्मेयर र भीआईए परीक्षण हो।
प्याप स्मेयर जाँच विधिमा सानो औजारको माध्यमबाट पाठेघरको मुखबाट झरेका कोषिकाहरू लिइन्छ। त्यसलाई स्लाइडमा टाँसेर प्याथोलिजिस्टसमक्ष पठाइन्छ। तीन दिनभित्र रिपोर्ट आइसक्छ। यो जाँच गर्दा बेहोस पार्नु पर्दैन। धेरै खर्च पनि लाग्दैन। प्याप जाँचले पाठेघरको तल्लो भाग अर्थात् मुखमा हुने संक्रमण, क्यान्सर हुने सम्भावना वा क्यान्सर भएनभएको पत्ता लगाउन सकिन्छ। यो जाँच गराउनु दुई दिनअघि यौन सम्पर्क गर्नु हुँदैन। महिनावारी भएको बेलामा यो जाँच गर्नु हुँदैन। एक हप्तादेखि एन्टिबायोटिक औषधि खानु हुँदैन। प्याप जाँचमा खराबी भए पुष्टि गर्न कोलपोस्कोपीको सहायताले जाँच गरी केही सानो टुक्रा मासु जाँच (बायोप्सी) परीक्षण गर्नुपर्छ। यस परीक्षणमा पनि खराबी देखिए तुरुन्तै उपचार गर्नुपर्दछ। पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ भने पाठेघरको मुख जहाँ खराबी आएको हो त्यही भाग मात्र काटेर फाले पुग्छ। तर यो गर्न दक्ष चिकित्सकको आवश्यक पर्ने हुँदा क्यान्सर अस्पतालमा जानु पर्दछ।
प्याप स्मेयर जाँचका केही अप्ठ्यारा छन्। ‘प्याप स्मेयर गर्दा फलो अपमा आइरहन कठिन हुन्छ। त्यसैले योभन्दा भीआईए जाँच बढी उपयुक्त हुन्छ’, डा. शाह भन्छिन्। भीआईए जाँच विधिमा थोरै मात्रामा एसिटिक एसिड पाठेघरको मुखमा लगाएर क्यान्सर भएनभएको हेरिन्छ। क्यान्सरजन्य कोष भए एसिडले त्यसलाई प्रस्ट चिनाउँछ। त्यसैले यो निकै सहज विधि हो। स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखामार्फत प्राथमिक स्वास्थ्य केन्द्र एवं जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता रहेको डा. शाह बताउँछिन्। ‘भीआईए परीक्षण सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउने हो भने पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न सकिन्छ। गाउँगाउँमा स्क्रिनिङ क्याम्पसमेत चलाउन सकिन्छ’, डा. शाह भन्छिन्। तर यो विधिको केही चुनौती छन्।
परीक्षणमा सामान्य हेलचेक्र्याइँ भयो भने परीक्षकले क्यान्सरजन्य कोष नचिन्न पनि सक्छन् जसले गर्दा क्यान्सर भएको पनि लुक्न सक्छ। त्यसैले दक्ष स्वास्थ्यकर्मी र संस्थामै जानु उपयुक्त हुन्छ। सबैभन्दा सजिलो विधि एउटै स्वास्थ्य संस्थामा पनि सोही सेवाग्राहीलाई विभिन्न परीक्षकले जाँच्नु हो। यी परीक्षण विधि सस्तो पनि छ। भक्तपुर क्यान्सर अस्पतालमा भीआईए जाँच गर्दा नौ सय रुपैयाँ लाग्छ भने प्याप स्मेयर गर्दा दुई सय पचास रुपैयाँ मात्र।
जोगिन सकिन्छ
ह्युमन पापिलोमा भाइरसको संक्रमण भएपछि विस्तारै पाठेघरको कोषिकामा परिवर्तन आउन थाल्छ। कोषिकामा परिवर्तन आएपछि क्यान्सर गराउन सक्छ। तर संक्रमणपछि क्यान्सर हुन सामान्यता सातदेखि १० वर्षसम्म लाग्ने हुँदा जाँच गरी योबीचको कुनै पनि समयमा कोषिका परिवर्तन पत्ता लगाई उपचार गराउने हो भने क्यान्सर रोगबाट बच्न सकिन्छ।
क्यान्सर विशेषज्ञ डा. शाह भन्छिन्, ‘दस वर्र्षपछि क्यान्सर हुने सम्भावना छ भने पनि अहिले जँचाएर सावधानी अपनाउने हो भने रोगले छुन पाउँदैन। दस वर्षपछि पाठेघरको क्यान्सर हुने जोखिम टार्न सकिन्छ।’
रोग लागे पनि वा नलागे पनि नियमित जाँच गराउनुपर्ने सुझाव डा. श्रेष्ठको छ। किशोरीहरूलाई भाइरसविरुद्ध भ्याक्सिन लगाउनु, समयसमयमा स्क्रिनिङ गर्नुका साथै उपचारलाई चुस्त र व्यवस्थित बनाउने हो भने पाठेघरको मुखको क्यान्सरबाट कोही पीडित हुनुनपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्।
‘यी सबै कार्य गर्न ठूलो धनराशि चाहिन्छ। स्वास्थ्यमा छुट्ट्याइने बजेट नै न्यून छ। पर्याप्त बजेट व्यवस्था गर्ने हो भने पाठेघरको मुखको क्यान्सरलाई मुलुकबाट बिदाइ गर्न सकिन्छ’, मन्त्रालयका प्रमुख विशेषज्ञ डा. प्याकुरेल भन्छन्। विश्व स्वास्थ्य संगठनले कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्ट्याउनुपर्ने सुझाव दिए पनि नेपालमा झन्डै चार प्रतिशत मात्र बजेट स्वास्थ्य सेवामा विनियोजन हुने गरेको छ, जसमध्ये पनि नसर्ने रोगलाई विशेष प्राथमिकतामा राखिएको छैन।
जोखिममा अधबैंसे
नेपाली महिलालाई बढी सताउने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा रहेको चिकित्सक बताउँछन्। डा. शाहका अनुसार, पाठेघरको मुखको क्यान्सर महिलामा बर्सेनि बढ्दै गएको छ। क्यान्सर रोगविशेषज्ञले गरेको एक अध्ययनअनुसार २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ। विवाहितमध्येमा अधबैंसे र प्रौढ महिला पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेको हुन्छ।
तीसदेखि साठी वर्ष उमेर समूहका महिलामा पाठेघरको क्यान्सर बढी देखिएको छ। पाठेघरका क्यान्सरबाट झन्डै १० देखि १२ हजार महिला पीडित भएको अनुमान छ। नेपालमा देखिने क्यान्सर बिरामीमध्ये झन्डै २० प्रतिशत पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भएको अनुमान छ, जसमध्ये वर्षमा झन्डै एक हजार बिरामीको ज्यान जाने गरेको चिकित्सकहरू बताउँछन्।
सरकारी बेवास्ता
क्यान्सरविरुद्ध सचेतना, परीक्षण र उपचारमा गैरसरकारी संस्था र निजी क्षेत्रसमेत संलग्न रहेका छन्। सरकार एक्लैले स्वास्थ्य सेवा प्रवाह गर्न नसकेपछि अन्य क्षेत्रसँग समन्वय गर्नुपर्नेमा बेवास्ता गरेको गुनासो गैरसरकारी क्षेत्रमा संलग्नहरूको छ।
नेपाल क्यान्सर केयर फाउन्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता सुशील पन्त सरकारले सहजीकरण गर्न नसकेको दाबी गर्छन्। ‘सरकारले जग्गा उपलब्ध गराइदिने हो भने क्यान्सर अस्पताल बनाउने आँट गर्न हुन्थ्यो। निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न झन् उत्साहित हुन सकिन्थ्यो’, उनी भन्छन्। स्रोतसाधन जुटाएर पाँच वर्षमा अस्पताल बनाउन सकिने अध्यक्ष पन्तले बताए।
समाजप्रति योगदान दिन चाहने विभिन्न पेसामा संलग्न व्यक्तिहरू मिलेर स्थापना गरिएको क्यान्सर केयर फाउन्डेसनले गाउँगाउँमा पुगी सचेतना गर्ने र निःशुल्क परीक्षण गर्दै आएको छ। यी सबै कार्यहरू संस्थामा आबद्ध व्यक्तिहरूले उठाएर गर्दै आएको अध्यक्ष पन्तले जानकारी दिए। ‘समाजमा केही गरौं भन्ने पवित्र भावना हो। दस हजारभन्दा बढी महिलालाई क्यान्सर हुनबाट जोगाउन सफल भएका छौं।’ अध्यक्ष पन्तले भने। पाठेघरको मुखको क्यान्सरका साथै स्तन क्यान्सरलगायतका अन्य क्यान्सर रोगका बिरामीलाई जनचेतना जगाउने, स्वास्थ्य परीक्षण गरिरहेको फाउन्डेसनले जनाएको छ। तर सरकारले हातेमालो नगरेको गुनासो उनले गरे।
नेसनल क्यान्सर अस्पतालका निर्देशक एवं वरिष्ठ क्यान्सर रोगविशेषज्ञ डा. एमके पिया पनि सरकार एक्लैले गर्न नसक्ने भएकोले निजी र गैरसरकारी संस्थासँग हातेमालो गर्नुपर्ने बताउँछन्। ‘सबै सरोकारवालाबीच समन्वय र सहकार्य गर्ने हो भने क्यान्सर रोगविरुद्ध जनचेतना, रोकथाम र उपचारमा योगदान गर्न सकिन्छ। त्यसका लागि सरकारले नै नेतृत्व लिनुपर्छ’, डा. पियाले भने।
उपचार छ, पहुँच छैन
क्यान्सर रोगको उपचार मुलुकका विभिन्न सरकारी एवं निजी क्षेत्रका अस्पतालमा उपलब्ध छ। सरकारले पनि एक लाखबराबरको उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ। क्यान्सरको फैलावट रोक्न शल्यक्रिया गरी पाठेघर फाल्न सकिन्छ। पाठेघरबाहिर क्यान्सर हुने सम्भावना देखिएमा पाठेघरका साथै डिम्बनली र डिम्बाशय पनि निकालिन्छ। त्यस्तै, विकिरण, केमोथेरापीलगायतका उपचार पद्धतिहरू छन्।
विकिरणको माध्यमद्वारा अनियन्त्रित कोषहरूलाई चाउरी पार्न सहयोग गर्छ। अनियन्त्रित कोषको वृद्धि हुन पाउँदैन। त्यस्तै केमोथेरापीको प्रयोगले वृद्धि भइरहेका कोषलाई शीघ्र हटाउन सहयोग पुर्याउँछ। क्यान्सर उपचारमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके हुन्छ। यसबाहेक निजी अस्पतालहरूमा परीक्षण र उपचारको व्यवस्था छ।
चितवन पश्चिममा क्यान्सर रोगको परीक्षण र उपचार हुने सुशील कोइराला क्यान्सर अस्पतालमा दैनिक तीस देखि ४० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन्। अस्पतालका अंकोलोजी सर्जन एवं कार्यकारी निर्देशक डा. विश्वराम पौडेल अस्पतालमा रेडिसनको सेवा दिन नसकिएको बताउँछन्। ‘ अस्पतालमा दरबन्दी पनि पूर्ति भएको छैन। मेसिन महँगो पर्ने भएकाले खरिद गरी सेवा दिन सकेका छैनौं’, उनले भने। अहिले केमोथेरापी, सर्जरीको सेवामा सीमित हुनुपरेको डा. पौडेलले गुनासो गरे। क्यान्सरका बिरामी बढ्दै गए पनि उपचारमा धेरैको पहुँच नपुगेको डा. पौडेलले बताए।
डा. शाहका सरकारले स्थानीय तहमा क्यान्सर रोग परीक्षणको व्यवस्था गर्ने र पहिचान भएपछि थप सेवाका लागि अस्पतालको वर्गीकरण गर्नुपर्ने बताउँछिन्। ‘सेवा प्रवाहका आधारमा क्यान्सर अस्पतालहरूको वर्गीकरण गरेर पर्याप्त दरबन्दी, बजेट र जनशक्तिको व्यवस्था गर्नुपर्छ’, उनले भनिन्।
नेपालको संविधानमै आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ। संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक सेवा पाउने हक कार्यान्वयन गर्नुपर्ने राज्यको कर्तव्य हो। राज्यबाट सुलभ रूपमा निःशुल्क उपलब्ध हुने प्रवद्र्धनात्मक, प्रतीकारात्मक, निदानात्मक, उपचारात्मक र पुनस्र्थास्पनात्मक सेवा हो। तर परीक्षण एवं उपचार सेवा सर्वसुलभ नहुँदा पाठेघरका क्यान्सरबाट बर्सेनि झन्डै एक हजार महिलाले ज्यान गुमाउनु परिरहेको छ।
खाँचो भ्याक्सिनको
पाठेघरको मुखको क्यान्सरबाट जोगिन विकसित मुलुकहरूमा किशोरीहरूलाई खोप (भ्याक्सिन) दिने गरिन्छ। सन् २००८ देखि खोप दिन थालिएको हो। विकसित मुलुकहरू अमेरिका, अस्ट्रेलिया, बेलायतमा किशोरीहरूलाई ह्युमन पापिलोमा भाइरसविरुद्धको भ्याक्सिन लगाइन्छ। अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसनसँगको सहकार्यमा नेपाल नेटवर्क फर क्यान्सर टिट्रमेन्ट एन्ड रिसर्च (एनएनसीटीआर) ले पहिलोपटक सन् २००८ मै नेपालमा भ्याक्सिन लगाउन सुरु गरेको थियो।
विद्यालय जाने उमेरका ८ देखि १० कक्षासम्म अध्ययनरत झन्डै तीस हजार किशोरीलाई खोप लगाइयो। यही कार्यक्रमअनुसार नेपालमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई खोप लगाउन सकिने रहेछ भन्दै खोप तालिकामा समावेश गर्न छलफल भइरहेको छ।
‘यो भ्याक्सिन भिœयाउन सरकारी प्रयास हुनुपर्छ। नेपालमा पनि पोलियो हुन नदिन भ्याक्सिन लगाए झैं पाठेघरको क्यान्सर हुन नदिन भ्याक्सिन लगाउन सकिन्छ। यस कार्यक्रमलाई नियमित रूपमा सरकारी तालिकामा ल्याउन सके नयाँ पुस्तालाई पाठेघरको क्यान्सर हुनबाट बचाउन सकिन्थ्यो’, डा. शाहको सुझाव छ।
किशोरीहरूलाई भ्याक्सिन लगाउने र गाउँगाउँमा पाठेघरको जाँच गराउने व्यवस्था गर्नुपर्ने खाँचो रहेको डा. श्रेष्ठ बताउँछिन्। ‘जनचेतना जगाउनुपर्ने खाँचो धेरै छ। यसतर्फ ध्यान दिनुपर्छ’, उनले भनिन्। सञ्चारमाध्यमले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरविरुद्ध जनचेतना जगाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ।
प्रतिक्रिया दिनुहोस !