मन्टेश्वरी मनोविज्ञान

मन्टेश्वरी मनोविज्ञान

भाइबहिनीहरू, सरस्वती पूजा अर्को साताको आइतबार परेको छ। सरस्वती पूजा नजिकिँदै गर्दा मन्टेश्वरी वा प्रि–स्कुलहरूमा विद्यार्थी भर्नाको अभियान पनि सुरु भइसकेको छ। धेरैले आ–आफ्ना विद्यालयका विशेषता देखाउँदै स–साना नानीहरूलाई तान्ने सक्दो प्रयास गरिरहेका छन्। त्यसैगरी सरस्वती पूजाकै दिन यी विद्यालयहरूमा बालबालिकालाई अक्षरारम्भसमेत गराइन्छ। अक्षरारम्भ गराउने विद्यार्थीलाई भर्ना शुल्कमा छुट दिनेलगायतका अफर पनि राख्दै आकर्षित गराउने गरेको पाइन्छ।

सहरभित्र प्रत्येक पाँच/दश मिनेटको अन्तरालमा मन्टेश्वरी स्कुलहरू स्थापना भएको देखिन्छ। तर न्यूनतम् मापण्डसमेत पूरा नगरी खुलेका यस्ता मन्टेश्वरीको अनुगमन भने हुन नसकेको डिल्लीबजारस्थित मानसी किड्स प्यालेसकी प्रिन्सिपल कल्पना बिष्टले बताइन्। काठमाडौंका घरहरूमा ठूला कम्पाउन्ड नहुने हुनाले बालबालिका कोठाभित्रै खुम्चिएर बस्न बाध्य हुन्छन्। पर्याप्त खेल्ने, उफ्रने र दौडने ठाउँ नपाउँदा उनीहरूले आफूभित्र भएको शक्तिलाई सन्तुलन गर्न भित्तामा हान्ने, सामान तोडफोड, अरूलाई चिमोट्ने पिट्नेलगायतका क्रियाकलापमा खर्चिने शिक्षक बिष्टको भनाइ छ। काठमाडौंमा जन्मेहुर्केका बालबालिकाको यही समस्यालाई ध्यानमा राखेर आफूहरूले करिब तीन रोपनीको क्षेत्रफलको कम्पाउन्डमा स्कुल सञ्चालन गरेको विद्यालयकी संस्थापक एवं मन्टेश्वरी प्रशिक्षक सीता अर्यालले बताइन्।

प्रायः डेढ वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई मन्टेश्वरी कक्षामा भर्ना गर्ने गरिन्छ। बालबालिकाको शिक्षाको जग बलियो बनाउन मन्टेश्वरी आवश्यक हुन्छ। तर मन्टेश्वरीमा कार्यरत शिक्षक स्वयं प्रशिक्षित हुनु जरुरी रहेको अर्यालको धारणा छ। डेढ वर्षका बालबालिकाले भनेको शिक्षिकाले नबुझ्न पनि सक्छन् भने शिक्षिकाले भनेको बालबालिकाले। त्यसैले यस्ता बालबालिकालाई हानी नोक्सानी नहुने तरिकाले उनीहरूसँग व्यवहार गर्ने तरिका मन्टेश्वरी तालिममा सिकाइन्छ।

बालबालिकाको जन्मदेखि पाँच वर्षको उमेरसम्म उसको दिमाग सबैभन्दा बढी विकास हुन्छ। त्यसैले यो अवस्थामा उनीहरूले जे सिक्छन् त्यो जीवनभर रहन्छ। सानैदेखि शान्त स्वभावका भए भोलिका दिनमा पनि उनीहरूको स्वाभाव यस्तै हुन्छ। तर कुटेर वा पिटेर हुर्काएको छ भने भोलिका दिनमा रिसाहा स्वाभाव कायम नै रहन्छ।

हिजोआज कुटेर तर्साएर सिकाउने विधिलाई पटक्कै राम्रो मानिन्न। सम्झाएर फकाएर बुझाए मात्रै उनीहरूले मानेर त्यहीअनुसार गतिविधि गर्ने गर्छन्। निकै साना उमेरका बालबालिकाले साथीसँग मिलेर बस्नुपर्ने रहेछ, उनीहरूसँग हात मिलाउनुपर्छ, कुरा गर्नुपर्छ आदि सिक्छन्। शौचालय जाँदा लाइनमा बसेर जानुपर्नेजस्ता सामाजिक व्यवहार पनि सिक्छन्। कुनै बच्चालाई कुनै कुरा चित्त नबुझेर रुन मन लागेको छ। तर शिक्षिकाले के भयो भनेर सोध्दा उनले ‘आज एक दम आँखा दुखिरहेको छ म्याम’ भन्छन्। यसरी उनीहरूले आफ्नो भावनालाई नियन्त्रण गर्ने र अभिव्यक्त गर्ने सीप पनि विद्यालयमै सिक्छन्। कुनै पनि विषयलाई व्यावहारिक रूपमै गरेर देखाइने हुनाले बालबालिकाले यसरी देखेका कुरा लामो समयका लागि सम्झिरहने उनले बताइन्।

बालबालिकाको सम्पूर्ण विकासमा ध्यान दिनुपर्ने हुनाले बालमनोविज्ञानलाई बुझेर शिक्षकले सिकाउनुपर्ने उनको भनाइ छ। बालबालिकाको मनोविज्ञानलाई बुझेर यस बारेमा अभिभावकलाई पनि सुझाव दिनु उनी जरुरी देख्छिन्। हिजोआज नानीहरूलाई खुवाउन आमाबाबुले मोबाइल, ट्याबलगायतका ग्याजेट दिने गर्छन्। तर यस्ता ग्याजेटको प्रयोग गर्दा बालबालिकामा एकोहोरोपना बढ्ने हुनाले उनीहरूलाई कुराकानीमै अल्झाएर खाने बानी बसाल्नुपर्ने उनको सुझाव छ। बच्चाहरू खेलेर पढ्दा रमाउँछन्। तर खेलिसकेपछि सामानहरू समेटेर राख्नुपर्छ भनेर मन्टेश्वरीमै सिकाइन्छ। बालबालिकाको रुचि के छ, त्यही अनुसारका गतिविधिमा बालबालिकालाई व्यस्त गराइने शिक्षिका अर्यालले बताइन्।

बालबालिकाको दिमागमा धेरै प्रश्न उब्जने गर्छन्। यो के हो, किन यस्तो हुन्छलगायत प्रश्नका उत्तर दिन कतिपय अभिभावकसँग समय नै हुँदैन। तर विद्यालयमा शिक्षिकाको काम नै यही हुनाले बालबालिकाले प्रश्नको चित्त बुझ्दो जवाफ पाउँछन् र आफूभित्रको खुल्दुली मेटाउँछन्। अभिभावकले छोराछोरीलाई कहिले कुनै समस्या नपरोस् भन्ने चाहन्छन्। घरमा उनीहरूका अगाडि कुनै कुरामा अप्ठेरो पर्नै दिँदैनन्। घरमा छोराछोरी बोकेर आमाबाबु भर्‍याङमा ओहोरदोहोर गर्छन्।

विद्यालयमा त्यही भर्‍याङको खुड्किला चढ्नु परे बालबालिकाले पहिले त बसेर बिस्तारै बामे सरेर खुत्रुक्क ओर्लिन्छन्। भोलिपल्ट वा पर्सिपल्टदेखि म सक्छु भन्ने आत्मविश्वास बढ्छ र उनीहरू आफैं ओर्लन थाल्छन्। उनीहरूले कुनै फटाईं गरे घरमा एउटा कुरा अनि विद्यालयमा शिक्षिकालाई अर्कै कुरा गरेर झुठ बोल्ने र घुमाउने गर्छन्। तर यस्तो झुठलाई नराम्रो ढंगमा बुझ्न नहुने शिक्षिकाद्धयको भनाइ छ। उनीहरूका अनुसार, यस्ता क्रियाकलापले बालबालिकामा समस्या समाधानको सीप बढाएको भन्ने अभिभावकले बुझ्नुपर्छ।

डा. मारिया मन्टेश्वरीले यो शिक्षण विधिको अवधारणा संसारभर फैलाएकी हुन्। खेलको विधिबाट सिकाउनु नै यसको मुख्य उद्देश्य हो। यसो गर्दा उनीहरूले सिकाइलाई कुनै तनाव वा बोझको रूपमा लिँदैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.