नेपालबाट भारततर्फ अवैध मदिरा निकासी

नेपालबाट भारततर्फ अवैध मदिरा निकासी

राजविराज : भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध भएपछि नेपालबाट सस्तो मूल्यका मदिराहरु निकासी हुन थालेको छ। आइतबार भारततर्फ निकासी हुन लागेको लाखौं मूल्यको मदिरा प्रहरीले सप्तरीको नर्घोबाट नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार मदिराले भरिएको को.१ ख २८५९ नम्बरको मिनी ट्रक, स.१ ह १९२७, स.१ ह २७२२, स.१ ह ३०८२ नम्बरको टेम्पो नियन्त्रणमा आएका छन्। मदिरा ओसार्न प्रयोग गरिएका सवारी साधनसँगै सप्तरी प्रहरीले ट्रक चालक उदयपुर चौदण्डी–५ का छेवनारायण चौधरी, टेम्पो चालकहरु सप्तरीको राजगढ गाउँपालिका–३ का शत्रुघन यादव, शालिग्राम साह र शिवकुमार यादवलाई नियन्त्रणमा लिएको छ।

भारततर्फ निकासी हुन लागेको मामाश्री ३४७ कार्टुन, दिलवाले ११० कार्टुन, कस्तुरी १८ कार्टुन, उमंग रक्सी १५ कार्टुन र गौरव मदिरा पाँच कार्टुन गरी चार लाख ३६ हजार बराबरको मदिरा विशेष सूचनाका आधारमा बरामद गरिएको एसपी राजेन्द्र विष्टले बताए। तर, मदिरा डिलरका संचालक सुरेन्द्र यादवले भने वैधानिक रुपमा भ्याट बिलसहित सप्तरीकै विभिन्न पसलहरुमा सप्लाई दिन पठाएको मदिरा प्रहरीले सीमा भन्दा सात÷आठ किलोमिटर उत्तरतर्फबाटै जबरजस्ती नियन्त्रणमा लिएको गुनासो गरे। 

मदिरा व्यावसायी संघ सप्तरीका कोषाध्यक्ष गंगासागर गुप्ताले वैधानिक रुपमा पसलहरुका लागि लगिएको मदिरा विष्णुपुर चोकबाट नै नियन्त्रणमा लिई दशगजा क्षेत्रबाट बरामद भएको भनेर प्रहरीले व्यापार बन्द गर्ने अवस्था ल्यउन खोजेको आरोप लगाए। अर्कोतर्फ प्रहरीले भने नर्घो क्षेत्रबाट समातेको दावी गरेको छ। बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले भारततर्फ निकासी गर्न लगिरहेको मदिरा नियन्त्रणमा लिएको प्रहरीले प्रष्ट पारेको हो। 

विहार राज्य सरकारले रक्सीको विक्री वितरण तथा उत्पादनमा रोक लगाएपछि सिमावर्ती नेपालका विभिन्न बजारबाट मदिराको अवैध निकासी फस्टाएको छ। भारतीय मदिरा प्रेमीहरुका लागि सिमावर्ती बजार र भन्सार कार्यालय आसपास प्रशस्त मात्रामा अवैध मदिराका पसलहरु खुलेका छन्।

सप्तरी प्रहरीले यसअघि डाकनेश्वरी नगरपालिका–४ स्थित नेपाल भारतको दशगजा सीमाबाट भारततर्फ लैजादै गरेको एक सय २८ कार्टुन विभिन्न ब्राण्डको मदिरा बरामद गरेको थियो। त्यसअघि हनुमाननगर कंकालिनी–१४ स्थित डलवाबाट समेत प्रहरीले दुई लाख ५० हजार मूल्य बराबरको २० बोरा मदिरा बरामद गरेको थियो। 

दिनहुँ जसो सिमावर्ती नेपालका बजारमा आएर मदिराको प्यास मेटेर फर्किने गरेका भारतीय मदिरा प्रेमीहरुको भारतीय सीमा सुरक्षा बलका प्रहरीले निरिक्षण गर्न थालेपछि निम्नवर्गका मानिसहरु नेपाल आउन कम भएको छ। हुनेखाने भारतीयहरु भने आफन्त र होटलमा रातभरी रक्सी सेवन गरी भोलिपल्ट घर फर्किने गर्न थालेका छन्।

प्रहरीले माघ १५ गते तिलाठी कोइलाडी–५बाट अटो रिक्सासहित ४० कार्टुन, पुस ५ गते हनुमाननगर कंकालिनी–९ बाट साइकलसहित एक सय ८० बोतल, सोही दिन राजगढ–१ बाट मोटरसाइकलसहित एक सय ५० बोतल, पुस ६ गते छिन्नमस्ता–२बाट टाउकोमा बोकी लैजाँदै गरेको ६ सय चार बोतल, पुस १ गते छिन्नमस्ता–३ बाट सिटी रिक्सासहित दुई हजार दुई सय ५० बोतल, मंसिर २७ गते हनुमाननगर कंकालिनी–१४ बाट ११ वटा साइकलसहित तीन हजार दुई सय ४० बोतल विभिन्न ब्राण्डका मदिरा नियन्त्रणमा लिएको जनाएको छ। 

भारतको विहार राज्यमा २०१६ मार्च ३० तारिखमा शरावबन्दीको कानुन पारित भएर अप्रिल १ तारिखदेखि कडाइका साथ कानुन लागू भएता पनि नेपालमा सेवन गर्न आउने र रातको समयमा अवैध ढंगले निकासी हुने गरेको स्थानीय पंकज झाले बताए। 

शरावबन्दी कानुनमा मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म र १० वर्षसम्म कैद सजायको व्यवस्था छ। मदिरा ओसार्नेहरुले सीमा क्षेत्र नजिक स्टक गरेर राति प्रहरी नभएको मौकामा भारततर्फ निकासी गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.