छोरीको हत्यापछि दास परिवारलाई ऋणको बोझ

छोरीको हत्यापछि दास परिवारलाई ऋणको बोझ

तस्बिरहरू :  किशोर बुढाथोकी/जितेन्द्रनारायण ठाकुर 

विराटनगर : विराटनगर महानगरपालिका-८ बलुवाई पुग्दा वरिपरि टाटीले बेरेको सानो घरको पिँडीमा ४० बर्से रामप्रसाद दास र उनकी पत्नी ३६ वर्षीया मुन्नादेवी झोक्राएर बसिरहेका थिए। पुर्पुरोमा हात लगाएर बसेका उनीहरू राम्ररी बोल्नसमेत सकिरहेका थिएनन्। आँसु खसाल्दै उनीहरू भन्दै थिए, ‘कुन पापीले मेरी लाउँलाउँ र खाउँखाउँ उमेरकी छोरी मार्‍यो। त्यसको पनि बाँचुन्जेल भलो नहोस्।’

माघको चिसोमा आङभरि कपडा नलगाएकी १३ वर्षीया रूपा पनि बाआमाकै छेउमा टोलाएर बसिरहेकी थिइन्। उनलाई बहिनी रूपमती कहिल्यै फर्किने छैनन् भन्ने थाहा छ। ‘अरुभन्दा अलि ठूली र कुरा बुझ्ने भएकाले होला, सम्झाउँदा पनि रुन छाडेकी छैन’, रामप्रसादले भने, ‘सँगै खाँदैखेल्दै रमाउने बहिनीको लाश आँखै अगाडि देखेर पनि होला, उसले मन थाम्न सकिरहेकी छैन। ऊ रुन थालेपछि हामी पनि थामिन सक्दैनौं।’

रूपमती टिभी हेर्न गएको छिमेकीको घर ।

पातलो कपडा लगाएका ८ बर्से शिवा र शरीरमा एउटा धरो पनि नभएका ५ बर्से बमबम जाडोमा सिउसिउ गर्दै आँगनमा खेल्दै थिए। शिवा अलि कुरा बुझ्छन् भने बमबम धेरै कुरा बुझ्दैनन्। दुवैले दिदी रूपमतीलाई खोजेको धेरै दिन भइसक्यो, बाआमासँग दिदी कहिले आउँछे सोध्दा उनीहरू कुनै जवाफ दिन सक्दैनन्। ‘रूपमती दुवै भाइलाई माया गर्थिन्। भाइहरू पनि उनी भनेपछि हुरुक्कै हुन्थे,’ रामप्रसादले भने। ठूली छोरी रूपा बाआमालाई सघाउँथिन्। दुई भाइ र घरको रेखदेख रूपमती गर्थिन्।

ठेला चलाएर र ज्याला मजदुरी गरेको कमाइले परिवार धान्न मुश्किल परिरहेको दास परिवारमाथि छोरीको हत्याले ठूलो बज्रपात भयो। ६ जनाको परिवार धान्ने कमाइ नभएकाले दास दम्पत्तीले सन्तानलाई राम्ररी पढाउन पनि सकेको छैन। दुवै जनाले दिनभरि काम गरेर कमाउने रकमले ४ सन्तानको पालनपोषण र बिहान बेलुका दुई छाक राम्ररी खान पनि पुग्दैन। रामप्रसादले भने, ‘कालगतिले भए चित्त बुझाउने ठाउँ हुन्थ्यो होला। विभत्स हत्या गरिएपछि मन बुझाउने कुनै उपाय छैन।’

दास परिवाको घर।

गएको शनिबार राति छिमेकीकोमा टीभी हेर्न जान्छु भनेर आमा मुन्नीदेवीसँग बिदा मागेर निस्किएकी रूपमती फेरि फर्किनन्। विराटनगर महानगरपालिका-८ र कटहरी गाउँपालिका-२ को सिमानामा पर्ने सिंघिया खोलामा माघ १३ गते दिउँसो निर्वस्त्र उनको शव फेला परेको थियो। उनका अनुसार टीभी हेर्न जाने छिमेकीको घर टाँसिएको भए पनि घुमेर जानु पर्ने भएकाले १५ मिटर जतिमा पर्छ। घटनाले छरछिमेकी समेत आतंकित छन्। ‘छोरीको हत्यापछि दास दम्पत्ती काममा जान सकेका छैनन्’, स्थानीय प्रकाश रायले भने, ‘काममा नजाँदा भोकभोकै छन्।’ उनले रूपमतीको हत्यापछि बाँकी रहेका तीन सन्तानको समेत बिचल्ली भएको बताए।

खोलाकिनारबाट रूपमतीको शव उठाउँदै प्रहरी र घटनामा संलग्न अब्बास अन्सारी र चन्दु महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गरिंदै। 

दास परिवारलाई ऋणको बोझ पनि थपिएको छ। छोरीको अन्त्येष्टि गर्न परिवारले छिमेकीसँग १० हजार रूपैयाँ ऋण लिएको छ। ‘छोरीको काजकिरिया गर्दा १० हजार ऋण लाग्यो’, मुन्नीदेवीले भनिन्। पोस्टमार्टम गर्न शव धरान पठाउँदाको ७ हजार रुपैयाँ प्रहरीले बेहोरिदिएको थियो। २ सय रुपैयाँ मात्र बोकेका रामप्रसादलाई प्रहरीले केही खर्च पनि दियो। तर शव ल्याउन ६ हजार रूपैयाँ लाग्यो।

५ हजार शववाहनलाई तिरेको र पोस्टमार्टम गर्ने कर्मचारीलाई हजार रुपैयाँ कमिसन खुवाउनु परेको उनले बताइन्। ‘सुरूमा २ हजार नभए लान दिन्नँ भन्दै थिए,’ उनले भनिन्, ‘पैसा छैन भनेपछि हजार लिएर छाडिदिए।’

आफ्नो पीडा सरकारले सुनिदिनु पर्ने पीडित परिवारको माग छ। ‘हामी यति ठूलो पीडामा पर्‍यौं,’ रामप्रसादले भने, ‘तर दुःख पर्दा साथ दिन्छौं भन्दै भोट मागेर जितेका कोही पनि नेता भेट्न आएनन्।’



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.