'गाडी कुदेको हेर्ने रहर छ'
ताप्लेजुङ : सिरिजंघा गाउँपालिका-६ मामाङ्खेका ७६ वर्षीय टेकबहादुर मावोले आफ्नो जीवनको साढे ६ दशक भारी बोकेरै बिताए। सानो छँदा बाबुसँग नुन लिन धरान पुगे। पछि बिर्तामोड, इलाम र फिदिमसम्म गाडी चल्न थालेपछि उनको नुन र चामल बोक्ने दूरी छोटिदै गयो।
दुई वर्षअघिसम्म गाउँपालिकाको केन्द्र तेल्लोकबाट खाद्यान्न ओसारे।मावो जति पटक ढाकर बोकेर गाउँलेबाट सहर पुग्थे। उति नै पटक सम्झन्थे यस्तो बाटो र यस्ता गाडीहरु मेरो गाउँमा कहिले पुग्छन् होला। अब उनी भारी बोक्न सक्दैनन्। तर, गाउँमै गाडी गुडेको हेर्ने सपना भने बोकी रहेकै छन्। भन्छन्, 'बुढेसकालमा अरु केही सपना छैन, गाउँमै गाडी आएको हेर्ने रहर छ।' अबको पुस्ताले आफ्नो जस्तो दुःख गर्न नपरोस् भन्ने, इच्छा उनको छ। उनले भने, 'म त दुःखै दुःखमा मर्ने भएँ, यी छोरा नातिको जीवन पनि भारी बोकेरै नबितोस्।'
मामाङ्खे सडकको पहुँचका हिसाबले ताप्लेजुङको सबैभन्दा दुर्गम वडा हो। कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा रहेको यहाँ सडक पुग्न सकेको छैन।अहिले पनि दुई दिनसम्म हिँडेर भारी बोक्नैपर्ने बाध्यता छ, मामाङ्खेवासीको। ९५ प्रतिशतमावो(लिम्बू)हरुको यहाँ बासोबास छ।
तेल्लोकको फुन्द्रुवाबाट खच्चर र मान्छेले खाद्यान्न ढुवानी गर्छन्। सडक नभएकै कारणले धेरै समस्या भोग्नु परेको स्थानीय विरबहादुर मावो बताउँछन्। गाउँपालिकाको केन्द्र तेल्लोकबाट पेदाङ हुँदै मामाङ्खे जाने सडक निर्माणभ इरहेको छ । उक्त सडकको ट्रयाक पेदाङ छेउसम्म पुगेको छ। 'त्यहाँबाट अगाडी ठूला र कडा चट्टानसहितको भीर छ, त्यसलाई छिचोल्न मोटो बजेट आवश्यक पर्ने हुँदा संघ र प्रदेशबाट बजेट विनियोजन गरिदिनुहोस्,' केहि दिनअघि मामाङ्खे पुगेका जिल्लाबाट निर्वाचित सांसादलाई वडाध्यक्ष शुक्रराजमावोले अनुरोध गरे।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-६ मामाङ्खे पुगेका प्रदेशसभा सदस्य टंक आङवुहाङ र स्थानीय।
यहाँका नागरिकको आम्दानीको मुख्य स्रोत अलैंची हो। त्यहि अलैंची पनि एकातिर खडेरीले वर्षेनी मर्दैछ भने अर्कोतिर मूल्य लगातार ओरालो लागिरहेको छ। सडक पछि सिँचाईको अभाव रहेको स्थानीय नेत्र भट्टराईले बताए। 'हाम्रो बाँच्ने आधार नै अलैंचीहो,' उनले भने, 'यै पनि नभए के खाउँला?' गाउँको बीचमा रहेको हाङ्खोलाको पानीबाट देउराली र सुधापदुवैतर्फ अलैंची सिँचाई योजना निर्माण गर्न पाए अलैंची बचाउन सकिने गाउँलेको ठम्याई छ। जसका लागि बजेट विनियोजन गरि दिन सरकारसँग मामाङ्खेवासीको माग छ।
ठूलो र अप्ठ्यारो भूगोल भएको वडामा निजी स्रोतमा सञ्चालित एउटा मात्रै प्रस्तावित मावि छ। उक्त माविमा शिक्षकको दरबन्दी सृजना र कक्षा १२ सम्मको पढाइ सुरु भए धेरै राहत हुने प्रधानाध्यापक लक्ष्मीप्रसाद मावो बताउँछन्। 'गाउँमा प्लटुको पढाइ नहुँदा छोराछोरी लाखौं खर्च गरेर अन्यत्र पठाउनुपर्ने अवस्था छ,' प्रअ मावोले भने, 'यसमा माननीय ज्यूहरुको ध्यान जाओस्।'
दुर्गम गाउँका समस्याबारे जिल्लाका सांसदलाई ध्यानाकर्षण गराउन युवाहरुले आफैं पैसा संकलन गरेर माघको पहिलो हप्ता 'मामाङ्खे महोत्सव' आयोजना गरेका थिए। महोत्सवमा संघीय सांसद योगेश भट्टराई, प्रदेश सांसद टंक आङवुहाङ, बलबहादुर साम्सोहाङ र होमकुमारी साँवाले सहभागिता जनाए।
बारीको गरामा कार्यक्रम गरिएको थियो।'गाउँकै विकासका लागि भनेर हामीले प्रत्येक वर्ष मेलाको आयोजना गरिरहेका छौं,' मामाङ्खे युवाक्लवकी सचिव सुनिता मावोले चारैजना सांसदलाई ज्ञापन पत्र बुझाउँदै भनिन्, 'मैदान नहुँदा व्यक्तिको बारीमा कार्यक्रम गर्नुपरेको छ, एउटा खेलमैदानको लागि बजेट छुट्याइदिनुस्।' स्थानीयका कुरा सुनेका सांसदले सबै माग पूरा गर्ने प्रतिबद्धता जनाए।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-६ मामाङ्खे पुगेका प्रदेशसभा सदस्य टंक आङवुहाङ(फोटो १) र प्रतिनिधिसभा सदस्य योगेश भट्टराई(फोटो २) सँग आफ्ना समस्या सुनाउँदै स्थानीय। तस्बिर : सीताराम गुरागाई