संस्था खोलेरै धर्म प्रचार

संस्था खोलेरै धर्म प्रचार

ललितपुर : ललितपुर भनिमण्डलस्थित ‘टिच नेपाल’ नामक गैरसरकारी संस्थाले पुसमा शिक्षकका लागि विज्ञापन खुलायो। त्यसले संस्थालाई विवादमा तान्यो। कारण थियो, शिक्षक बन्न क्रिस्चियन परिवारको हुनुपर्ने, क्रिस्चियन कलेजमा अध्ययन गरेको र चर्चको प्रमाणीकरण चिठी चाहिनेलगायत मापदण्ड। विज्ञापनलाई लिएर संस्थाले इसाई धर्म प्रचार गरेको गुनासो आयो। र जिल्ला प्रशासन कार्यालय ललितपुरले टिच नेपाललाई निलम्बन पनि गर्‍यो।

ललितपुर धोबीघाटमा ०७२ सालदेखि सञ्चालित ‘मातृभाषा अनुवादक समाज’ नामक संस्थालाई पनि धर्म प्रचार, धर्म परिवर्तनका गतिविधि सञ्चालन गरिरहेको आरोप लागेको छ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै एक व्यक्तिले माघ ६ गते उजुरी हालेका थिए। उजुरीका आधारमा प्रधानमन्त्रीको कार्यालयबाट जिल्ला प्रशासन कार्यालयलाई कारबाही अघि बढाउन निर्देशन भएको छ। उजुरीमा संविधान र कानुनमा धर्म परिवर्तनका लागि कुनै किसिमका गतिविधि गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि विदेशी दाताबाट करोडौं रकम लिएर मातृभाषामा बाइबल अनुवाद गरी वितरण गरिरहेको र खुलेआम धर्म परिवर्तन उद्योग सञ्चालन गरिरहेको उल्लेख छ। साथै कानुनविपरीत संस्था सञ्चालनका लागि अनुमति दिएको भन्दै प्रश्न उठाइएको छ।

समाज ०७२ साल कात्तिक १६ गते दर्ता भएको हो। त्यति बेला चित्रबहादुर रुपाचा संस्थाका अध्यक्ष थिए। देवराज भण्डारी, बुद्ध घिसिङ, अष्टकुमारी लमिनी, धनबहादुर थापा, पेन्नुरी शेर्पा, सानी शेर्पा, ईश्वरचन्द्र काप्री र माधव रमण पौडेल पदाधिकारी थिए।

हुन त संस्थाले दर्ताकै क्रममा आफ्ना उद्देश्य प्रस्ट उल्लेख गरेको छ। त्यसलाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत पनि गरेको छ। संस्थाले आफ्ना उद्देश्यमा मातृभाषामा बाइबल तथा इसाई धर्मसम्बन्धी पुस्तक, पुस्तिका अनुवाद गरी वितरण गर्ने भन्ने उद्देश्य प्रस्ट लेखेको छ। बाइबल अनुवादसम्बन्धी विभिन्न आधारभुत तथा गहन तालिम सञ्चालन गर्ने, भाषा विज्ञान तथा ईश्वरशास्त्रसम्बन्धी ज्ञान लिई विशेष सहयोग गर्नेलगायतका उद्देश्य उल्लेख छन्।

संस्थाका निर्देशक बुद्ध घिसिङले ‘संस्था दर्ता ऐन २०३४’ बमोजिम दर्ता भएको बताएका छन्। संस्था दर्ता गर्दा नै मातृभाषामा बाइबल उल्था गर्ने भन्ने प्रस्ट पारिएको उनको दाबी छ। ‘यसैअनुसार थारू, मगर, तामाङ, बोटे, माझीलगायत जनजातिका नौ भाषामा बाइबल उल्था गरिरहेका छौं’, उनले भने।

कानुनविपरीत संस्था सञ्चालनका लागि अनुमति दिएकोमा पनि विरोध भएको छ।

गाउँघरमा रहेका चर्चमा आफूहरूले अनुवाद गरेका पुस्तक त्यहाँ प्रयोग हुने उनको भनाइ छ। जनजातिहरूले नेपाली भाषा नबुझ्ने भएकाले उनीहरूको मातृभाषामा बाइबल अनुवाद गरिएको उनले बताए। आफूहरूका लक्षित वर्ग क्रिस्चियन धर्मावलम्बी भएकाले यसले कुनै समुदाय र धर्ममा आघात नपुग्ने उनको दाबी छ। अहिले संस्थाले ६० लाख रुपैयाँ बजेट छुट्याएर काम गरेको घिसिङले जानकारी दिए। प्रत्येक भाषा अनुवाद गर्न चार जना गरी कम्तीमा ५० जना त्यसमा काम गरिरहेको उनको भनाइ छ।

तर संस्थालाई जिल्ला प्रशासन कार्यालयले कागजपत्र ल्याउनू भन्ने आदेश दिएको छ। संस्था दर्ता ऐन ०३४ अनुसार कुनै धर्म तथा जातिविशेषका लागि मात्रै संस्था स्थापना हुन नमिल्ने उल्लेख गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीले बताए। त्यसैले कसैले पनि ऐन तथा नियमावलीबाहिर गएर काम गर्न नमिल्ने उनको भनाइ छ। त्यस्तो गरिएको भेटिए संस्था खारेज, निलम्बन एवं अन्य कारबाही हुन सक्ने उनले बताए।

ललितपुरमा हालसम्म एक सय ३२ वटा चर्च दर्ता भएको प्रहरी परिसर जावलाखेलको तथ्यांक छ। यसअनुसार सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा चर्चको संख्या बढी छ। चापागाउँ, ठेँचो, लेले, गिम्दी, ठुला दुर्लुङ, ढोलाहिटी, नखिपोट, लुभु, भैंसेपाटी, बाडेगाउँ, हरिसिद्धिलगायत क्षेत्रमा चर्चको संख्या अत्यधिक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.