प्रेम बाँड्ने मौसम

प्रेम बाँड्ने मौसम

आफूलाई मन परेको मान्छेसँग पहिलोपटक भेट्दै हुनुहुन्छ ?  पक्कै पनि तपाई केही नर्भस हुनुभएको होला ?  के गरौं ? कसो गरौं उकुसमुकुस भएको होला। डर लागिरहेको होला, मुटु जोडजोडले धड्किरहेको होला। कान राता भएका होलान्।

प्रेमको सुरुआती अवस्थामा यस्तै हुन्छ। हेरूँहेरूँ लाग्ने, भेटूँभेटूँ लाग्ने। उनको आगमनमा मौसम बदलिएजस्तो लाग्छ। धर्तीमा सुन्दरता थपिएजस्तो लाग्छ। प्रेम अद्भुत छ। मनमा एक किसिमको छटपटी पैदा हुन्छ। बेग्लै ऊर्जा थप्छ प्रेमले। प्रेमको तागत अलौकिक छ। प्रेम अमूर्त हुन्छ।

प्रेमका विषयमा लाखौं पुस्तक लेखिएका छन्। अनेकौं फिल्म बनेका छन्। अनगिन्ती महल बनाइएका छन्। हजारौं किस्सा र किंवदन्ती चलेका छन्। तर, आजसम्म कसैले पनि प्रेमको पूर्ण परिभाषा दिन सकेको छैन। प्रेमको अनुभूति न कुनै दुःखले रोक्छ, न त कुनै अप्ठ्यारोले।

यही अलौकिक प्रेम जोड्ने पर्व ‘भ्यालेन्टाइन डे’ बिहीबारदेखि सुरु भएको छ। पहिलो दिन रोज डे, अनि प्रपोज डे, चक्लेट डे, हुँदै टेडी डे, प्रमिस डे, हग डे, किस डे र १४ फेब्रुअरी भ्यालेन्टाइन डे।

प्रेम दिवस पादरी सन्त भ्यालेन्टाइनको बलिदानीसँग जोडिएको छ। तत्कालीन रोमन स्रमाट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। त्यसपछि चर्चका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए। उनलाई इसापूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। उनको सम्झनास्वरूप संसारभर भ्यालेन्टाइन डे मनाउन सुरु गरियो।

नेपालमा पनि पछिल्लो पुस्ताले भ्यालेन्टाइन डे मनाउन थालेका छन्। हरेक दिनलाई विशेष पर्वका रूपमा मान्छन्। अहिले सहरभर प्रेमसँग जोडिएका सामग्रीको बिक्रीवितरण बढ्दो क्रममा छ। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाले पनि प्रणय दिवसलाई उत्तम साइतका रूपमा लिने गरेका छन्।

कलेज पढ्ने युवकयुवतीमा प्रेम दिवस अझ बढी चर्चाको विषय बन्छ। यसपटकको भ्यालेन्टाइन डे कसरी मनाउँदै छन् त युवकयुवती ? यस्तो छ केही प्रतिनिधि युवकयुवतीको अनुभव :

टंक जोशी

कैलालीका टंक जोशीले भर्खरै आफ्नो इन्जिनियरिङको पढाइ सकाए। एक प्रोजेक्टमा आबद्ध उनका लागि यसपटकको प्रेम दिवस विशेष हुनेछ। पहिलोपटक प्रेमिकाका लागि सरप्राइज गिफ्ट दिने योजनामा छन् उनी। उनी भन्छन्, ‘एकदम एक्साइटेड छु म। गर्लफ्रेन्डलाई सरप्राइज विशेष मन पर्छ। त्यसैले पनि यो प्रेम सप्ताहमा केही न केही विशेष बनाउँछु। म उनलाई कति माया गर्छु, साँच्चिकै महसुस गरून् उनले।’

यसपटकको रोज डे पनि उनको विशेष रह्यो। प्रेमिकालाई आफू बिजी छु, भेट्न समय मिल्दैन भनेर म्यासेज गरेका थिए। तर, उनको कलेज सकिने बेला गेटमा गुलाबको फूल लिएर पर्खिरहेका थिए टंक। उनी मुस्कुराउँदै सम्झन्छन्, ‘एक्कासि आफूलाई कलेजमा देखेर उनी दंग परेकी थिइन्। दौडँदै आएर अँगालो हालिन्, यो पल सबैभन्दा सुन्दर पल थियो मेरा लागि। सँगै खाजा खाएर छुट्टियौं हामी।’

अन्य वर्षमा प्रेम दिवस खासै नमनाएका टंक अहिले रियल प्रेमिका भेटेको भएर पनि विशेष लागिरहेको बताउँछन्। पहिलो डेट पनि उनको विशेष थियो। फोनमा, म्यासेजमा कुराकानी भइरहन्थ्यो तर भेट भएको थिएन। टंक कामको सिलसिलामा लामो समय बाहिरी जिल्ला गएका थिए। काठमाडांै आएर एउटा रेस्टुरेन्टमा बोलाए प्रेमिकालाई। पत्याएका थिएनन् तर केही बेरपछि भेट्न आइन्। निकै नर्भस भएकी थिइन् उनी। टाउको झुकाएर लजाएकी थिइन्। टंकलाई उनी लजाएको हेर्न अत्यन्तै आनन्द लाग्छ।

सबिना शर्मा

रिलायन्स कलेजमा कक्षा ११ मा पढ्दै छिन् सबिना। सर्लाहीकी सबिनालाई प्रेम दिवस मनाएको भने खासै अनुभव छैन। करिब चार वर्षसम्म होस्टलको बसाइपछि यस वर्ष मात्रै उनले कलेजको स्वतन्त्र लाइफ सुरु गरेकी हुन्। मन पर्ने मान्छेसँग समय बिताउने डेको रूपमा उनले प्रेम दिवसलाई बुझेकी छन्। कलेज बिदा नभएकाले पनि साथीहरूसँग रमाइलो गर्ने र घुम्न जाने योजना छ उनको। प्रेम गर्न र प्रस्ताव राख्न कुनै विशेष दिन कुर्नुपर्छ भन्ने उनलाई विश्वास लाग्दैन।

सन्ध्या सिग्देल

खोटाङकी सन्ध्या सिग्देल हाल पेप्सीकोलामा बस्छिन्। मोडलिङमा विशेष रुचि राख्ने सन्ध्या सीसीआरसी कलेजकी विद्यार्थी हुन्। माया गर्ने व्यक्तिलाई माया देखाउने र फिल गराउने दिनका रूपमा प्रेम दिवसलाई बुझेकी छन् उनले।

केटा र केटीबीचको इमोसन आदानप्रदान गर्ने, एकअर्का प्रतिको बुझाइलाई बढाउने दिनका रूपमा प्रेमदिवसलाई लिनुपर्ने उनको बुझाइ छ। पहिलोपटक कोहीप्रति भएको आकर्षणलाई उनी यसरी सम्झन्छिन्, ‘कोही मान्छे यति धेरै मन पथ्र्यो कि आफूलाई सम्हाल्न सकेकी थिइनँ। केही भन्न चाहन्थे तर बोल्नै नसक्ने, भेट्न चाहन्थे तर अगाडि जानै नसक्ने, सम्झँदा मात्र पनि खुब आनन्द लाग्ने। भन्नै नसक्ने, अर्के दुनियाँमा पुगिने। अजिब खालको फिलिङ थियो त्यो।

मान्छे हेरेर भन्दा पनि उसको व्यवहार र चालचलनले आफूलाई बढी प्रभाव पार्ने उनी बताउँछिन्। भन्छिन्, ‘म कोहीलाई अत्यन्तै माया गर्छु भने मेरा लागि हरेक दिन प्रेम दिवस। प्रेमका लागि भ्यालेन्टाइन डे कुरिराख्नुपर्छ जस्तो लाग्दैन मलाई। यति हो, यो दिन व्यक्त गरेको प्रेम सदैव उस्तै रहोस्। प्रेम दिवसको दिन साथीको उपहार दिने लिने भए पनि कसैसँग विशेष डेट गएको अनुभव छैन उनीसँग।

आयुष ठाकुर

जनकपुरका आयुष ठाकुरले प्रेम दिवसलाई सम्पूर्ण माया गर्ने जोडीहरूको उत्सवका रूपमा बुझेका छन्। पे्रम विशुद्ध मन र इमोसनसँग जोडिने भएकाले यसलाई परिभाषामा समेट्न नसक्ने उनको बुझाइ छ।

पहिलोपटक कक्षा १० मा पढ्दा नै उनको एकोहोरो प्रेम बसेको थियो सहपाठीसँग। तर कहिल्यै पनि उनले भन्न सकेनन्। केटी हेर्न कयैाँ पटक कक्षा बंक गरेका थिए उनले। एक शब्द बोल्न अनेकाैं बहाना बनाएका थिए। भन्छन्, ‘प्रेममा जे कुरा पनि जायज हुने। एकछिन भेट्न महिनौं पर्खन सकिने, एकपटक देखेपछि धेरै दिनसम्म आनन्द लागिरहने।’ अब भने प्रेम गर्न आफू परिपक्व भएको बताउँदै खुला मनले आउने प्रस्ताव स्वीकार गर्ने सोचमा आफू रहेको उनले बताए।

आकाश गिरी

भक्तपुरका आकाश गिरी प्लस टु सकाएर विदेश जाने तयारीमा छन्। प्रेम दिवस आउँदै गर्दा उनलाई पनि रमाइलो लागिरहेको छ। कक्षा ६ मा पढ्दा पहिलोपटक डेट गएको याद छ उनलाई। स्कुलबाट भागेर पानीपुरी खान गएका थिए। उनी सम्झन्छन्, ‘उनीसँग भेट्दा डर लागेको थियो। नजिक हुन मन लाग्ने, उनको घरतिर गइरहन मन लाग्ने।’

यसपटक मन पर्ने साथीलाई प्रेम प्रस्ताव राख्ने र कतै घुम्न लैजाने सोचमा छन् उनी। अबको प्रेम जिन्दगीभरका लागि हुने भएकाले रमाइलोसँगै जिम्मेवारी पनि थपिने भएकाले पनि प्रेमको मामिलामा सिरियस छन् उनी। प्रेमको चर्चा गर्दै उनी भन्छन्, ‘प्रेम विल्कुल अद्भुत चिज हो जसले हरेक पल सकारात्मक हुन सिकाउँछ।’

मुनस्टोन आचार्य

ट्रिनिटी कलेजमा विज्ञान विषयकी विद्यार्थी हुन् मुनस्टोन आचार्य। हामीले जसलाई माया गर्छौं उनीहरूसँगै माया बाँड्ने डेका रूपमा प्रेम दिवसलाई बुझेकी छन् उनले। आफू सचेत भएर, सोचविचार गरेर मान्छेलाई राम्रोसँग बुझेर मात्र प्रेम गर्नुपर्ने उनको धारणा छ। अहिलेसम्म कसैको प्रेम स्वीकार नगरेकी आचार्य यसपटक साथीसँगै रमाइलो गर्ने सोचमा छिन्। भ्यालेन्टाइन डेमा जस्तै तीन सय ६५ दिन नै जोडीहरूमा प्रेम हुनुपर्ने उनको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.