महिला फुटबलको उपाधि ताप्लेजुङलाई
बिर्तामोड : प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ ।
सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको आयोजनामा अर्जुनधारा–९ स्थित नमुना सामुदायिक वन उपभोक्ता समुहको खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पारिजात महिला फुटबल क्लब झापालाई २–१ गोल अन्तरले पराजित गर्दै ताप्लेजुङले उपाधि जितेको हो ।
विजेता टीमको लागि खेलको ६१ औं र ६६ औं मिनेटमा सुष्मा खातीले गोल गरेकी थिइन् । यता उपविजेता टीमको लागि खेलको ६४ औं मिनेटमा संरचना श्रेष्ठले गोल गरेकी थिइन् ।
जितसँगै विजेता ताप्लेजुङ र उपविजेता झापाले क्रमश नगद एक लाख एक हजार र ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको वुमन अफ दी टुर्नामेन्ट संरचना श्रेष्ठ (झापा), बेस्ट गोलकिप्पर यमुना गुरुङ (ताप्लेजुङ), बेस्ट डिफेन्स खुस्मा राई (झापा), बेस्ट मिडफिल्डर सम्झना लावती (झापा), बेस्ट फरवार्ड सुष्मा खाती (ताप्लेजुङ) घोषित भए ।