चकलेट किनिदिने लोभमा बालिका बलात्कार गर्नेलाई ६ वर्ष कैद सजाय सुनाइयो
राजविराज : चकलेटको प्रलोभन देखाउँदै १० वर्षीया बालिका बलात्कार गर्ने एक युवकलाई अदालतले सोमबार ६ वर्ष कैदसजायको फैसला गरेको छ ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले राजविराज नगरपालिका–२ का ३२ वर्षीय मोहम्मद सबिरलाई ६ वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।
घरबाट किराना समान किन्न बजार निस्किएकी बालिकालाई चकलेट किनदिने प्रलोभन देखाउँदै गत असार १ गते अभियुक्तले राजविराज नगरपालिका–३ स्थित भलुवाही खोलाको किनारमा रहेको झाडीमा लगी बलात्कार गरेका थिए ।
बालिकाले घटनाबारे आमालाई बताएपछि पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइन् । सप्तरी प्रहरीले घटनाकै दिन पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गराउनुका साथै आरोपितलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालतको आदेशमा सबिर गत असार २८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।