पुलिस रिपोर्ट : अब छैन सास्ती
काठमाडौं : ‘अघिल्लो पटक आउँदा घन्टौं लाइनमा बस्नु पर्थ्यो। प्यास लाग्दा पानी समेत पाइँदैन थियो। घामले पोल्थ्यो। तर अहिले एकदम राम्रो छ।’ रानीपोखरीस्थित महानगरीय प्रहरी परिसरमा चारित्रिक प्रमाणपत्र लिन पुगेकी दिलमाया थापाले खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘पहिला एकदमै सास्ती थियो। अहिले ठिक छ।’
विदेश जान पुलिस रिर्पोट चाहिन्छ। नेपालमै पनि कतिपय निजी कम्पनीले कामदारको चरित्रसम्बन्धी प्रमाणपत्र माग्न थालेका छन्। यसअघि राजधानीको रानीपोखरी र महाराजगञ्जमा मात्र पुलिस रिपोर्ट बनाउने सेवा पाइन्थ्यो। अहिले कालिमाटी, गौशाला, जावलाखेल र भक्तपुरबाट पनि बनाउन मिल्छ। त्यसैले पहिलेजस्तो भीड देखिँदैन। उपत्यकाबाहिर पोखरा, हेटौंडा, विराटनगर, नेपालगञ्ज र धनगढीबाट पनि प्रहरी रिपोर्टका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। विदेशमा बस्ने नेपाली नागरिकले समेत इमेलमार्फत सेवा लिने व्यवस्था भएपछि सास्ती घटेको छ।
बिहान ९ :३० बजे। महानगरीय प्रहरी वृत्त, गौशाला। कार्यालय खुल्नुअघि नै १०÷१२ जना सेवाग्राही आइसकेका थिए। ती प्राय : तन्नेरी पुस्ताका र मधेसी मूलका देखिन्थे। धनुषाका रामविश्वास रजक प्रहरी वृत्तअघि उभिरहेका थिए। उनले दुई दिनअघि फारम भरेर बुझाएका थिए। कतार जान लागेका उनी पुलिस रिपोर्ट चाँडै बनेकोमा खुसी देखिन्थे। भन्दै थिए, ‘दुई दिनमै बन्ने भयो। खुसी लागिरहेको छ।’
धनुषाकै जासुद्दिन राय पनि कार्यालय नखुल्दै पुगे। उनी साउदी अरब जान लागेका थिए। ८ महिनाअघि पनि उनी पुलिस रिपोर्ट बनाउन रानीपोखरी पुगेका थिए। त्यहाँ घन्टौं लाइन बसेर बल्लबल्ल बनाएका थिए। वर्षदिन नबित्दै प्रशासनिक काममा सुधार होला भनेर उनले सोचेकै थिएनन्। भने, ‘पहिलेभन्दा धेरै फरक भएछ। धेरै कुर्नै परेन।’

नुवाकोटका धर्मराज बोगटी पनि पहिलाको तुलनामा धेरै सुधार भएको ठहर्याउँछन्। जिल्लाबाटै प्रहरी रिपोर्ट लिन पाउने व्यवस्था भए झनै राम्रो हुने उनको भनाइ छ। सिरहाका रञ्जितकुमार साहले भने, ‘हिजोआज एकैछिनमा सबै काम हुन्छ।’ उनले एक हप्ताअघि फारम बुझाएर घर गएका थिए। उनलाई दुई दिनपछि आउनु भनिएको थियो। तर, उनी आउन भ्याएनन्। आइतबार कार्यालय पुग्दा रिपोर्ट तयार भइसकेको थियो। ‘अरु सरकारी कार्यालय भएको भए पैसा खुवाउनु पथ्र्याे होला,’ उनले खुसी हुँदै भने, ‘तर यहाँ केही गर्नु परेन।’ कार्यालय खुलेको १० मिनेटमै प्रमाणपत्र लिएर उनी बाहिरिए।
सर्लाहीका देवीकुमार यादव दुई दिनमै चारित्रिक प्रमाणपत्र हात लागेपछि दंग देखिन्थे। विगतजस्तै लामो लाइन होला भन्ने ठानेर उनी एक हप्ताको समय राखेर काठमाडौं आएका थिए। ‘यहाँ झन्झट नै भएन,’ उनले भने।
९ :५४ बजे कार्यालय खुल्यो। सेवाग्राहीको भीड थिएन। दैनिक दुई सय सेवाग्राहीले पुलिस रिपोर्ट लिने गरेको एक प्रहरी जवानले बताए।
बिहान ११ :१५ बजे। महाराजगञ्जस्थित पुलिस रिपोर्ट दिने कार्यालय पुग्दा करिब ५० जना सेवाग्राही अस्थायी टहराअघि लाइन लागेका थिए। गौशालाको तुलनामा महाराजगञ्जमा अलि बढी भीड थियो। कार्यालय व्यवस्थित थिएन। थोत्रा मोटरसाइकलको डंगुर कार्यालयअघि थियो। नागरिक बडापत्रनजिकै भित्तामा लेखिएको थियो–दलाल होसियार !

कार्यालयअगाडि फारम भर्ने स्थान बनाइएको छ। प्राय : सेवाग्राही गेटबाहिर निस्केपनि केही भने त्यहीं फारम भरिरहेका थिए। श्यामप्रसाद खरेल पनि फारम भरिरहेका थिए। उनी भन्दै थिए, ‘किन अरुलाई भर्न दिनु ? आफ्नो काम आफैँले गर्ने हो नि।’ कार्यालयभित्र ३ जना प्रहरी खटिएका थिए। एक प्रहरी जवानले भने, ‘करिब ४ सय जनाले दैनिक सेवा लिइरहेका छन्।’
दिउँसो १ बजे। रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमा करिब एक सय जना सेवाग्राही थिए। कोही प्रतीक्षालयमा बसेर फारम भरिरहेका थिए। कोही पालो कुरिरहेका थिए। अगाडि मेसिनले टोकन नम्बर बोलाउँथ्यो। तीन जना पालैपालो अगाडि जान्थे। ५ मिनेटमै फाइल बुझाएर बाहिरिन्थे।
भक्तपुर सानोठिमीका प्रकाश कटवालको पालो १२९ नम्बरमा थियो। उनी टोकन नम्बरअनुसार पालो कुरिरहेका थिए। उनी भन्दै थिए, ‘पहिला घन्टौं लाइन बस्नुपर्थ्यो। अहिले एकदम राम्रो छ।’ हातमा चारित्रिक प्रमाणपत्र बोकेर बाहिरिँदै गरेका गंगाराज पौड्याल खुसी देखिन्थे। उनले भने, ‘फारम बुझाएर दुई दिनपछि आएँ। ५ मिनेटमै पाइयो।’ कार्यालयभित्रै फारम भरिरहेका सागर भट्टराईले भने, ‘हामी पढेलेखेको मान्छेले बिचौलियालाई डाक्नु हुँदैन। आफैं काम गर्नुपर्छ। एउटा फारम भरेको ७० रुपैयाँ किन दिने ? ’
एक प्रहरी जवान प्रतीक्षालयनजिकै सेवाग्राहीलाई फारम बाँडिरहेका थिए। सेवाग्राहीलाई विनम्र हुँदै उनी भन्थे, ‘क्यापिटल लेटरमा कालो डटपेनले लेख्नुहोला है।’ एक महिला सेवाग्राहीले २ वटा फारम लगिन्। तर, भर्ने क्रममा दुवै बिगारिन्। प्रहरी जवानले तेस्रो पटक नयाँ फारम दिँदै भर्ने तरिका पनि सिकाए। उनी आफैंले पनि भरिदिए। तेस्रो फारम पक्कै सदर हुनेछ भन्दै सेवाग्राहीलाई हौस्याए। दुवैजना हाँसे। महिला सेवाग्राहीले भनिन्, ‘२ वटा फारम बिगारेँ। पैसा कति लाग्छ दाइ ? ’ प्रहरी जवानले भने, ‘सरकारले सित्तैमा उपलब्ध गराएको छ। पैसा लाग्दैन।’

झण्डै एक घण्टामा जवानले झण्डै ३० जनालाई फारम दिए। तर उनले कसैसँग पनि नमिठो वचन बोलेनन्। बरु सक्दो सहयोग गरे। कार्यालयबाहिर बिचौलियालाई फारम नभराउन सुझाए। उनीनजिकै अर्का प्रहरी जवान आए। अर्का प्रहरीले भने, ‘एउटा भाइको काम अलि छिटो गरिदिनुपर्याे।’ फारम बाँडिरहेका ती प्रहरी जवानले भने, ‘यति धेरै मान्छे बसिरहेका छन्। कसरी पालो मिच्नु ? हुँदैन यार।’
त्यहाँबाट दैनिक करिब साढे तीनसय सेवाग्राहीले सेवा लिने गरेको एक प्रहरी जवानले बताइन्।
महानगरीय प्रहरी वृत्त, कालीमाटी। समय दिउँसो २ :३० बजे। सेवाग्राहीको पातलो उपस्थिति थियो। गेटभित्र छिर्नेबित्तिकै दाहिनेतिर रहेको प्रतीक्षालयमा एक प्रहरी बसिरहेकी थिइन्। उनी एक्लै थिइन्। सेवाग्राही थिएनन्। उनको अघिल्तिर रहेको टेबलमा एउटा खाता र प्रहरी रिपोर्टको फारम थियो। उनले भनिन्, ‘आज एक जनाले मात्रै रिपोर्टको फारम बुझाए।’ अरु दिन पनि रिपोर्ट लिन आउनेको संख्या करिब ३० जना हुने उनले सुनाइन्। ‘यहाँबाट पनि पुलिस रिपोर्टको काम हुन्छ भन्ने धेरैलाई थाहा छैन,’ उनले भनिन्।
दिउँसो ३ :१५ बजे। जावलाखेलस्थित महानगरीय प्रहरी परिसरको पश्चिमी कुनाबाट पुलिस रिपोर्टको काम भइरहेको थियो। सेवाग्राहीको भीड थिएन। दुईचार जना फारम बुझाइरहेका थिए। एकजना महिला झ्यालनजिकै फारम भर्दै थिइन्। कार्यालयबाट पश्चिमतर्फको फोटोकपी सेन्टरमा तीन चार जना सेवाग्राही झुमिएका थिए। प्रहरी जवानले दैनिक करिब एकसय जनाले सेवा लिने गरेको बताए।
हटेन बिचौलिया
बिचौलियाको बिगबिगी अन्य सरकारी कार्यालयमा जस्तै पुलिस रिपोर्ट लिने कार्यालयमा पनि देखियो। कार्यालयवरपर बिचौलियाका कार्यालय छन्। सेवाग्राहीलाई फारम भरेवापत लिने शुल्क पनि आफूखुसी छ। फारम भरेवापत गौशालामा एकसय रुपैयाँ लिन्छन्। महाराजगञ्जमा ६०, रानीपोखरीमा ७० र जावलाखेलमा ५० रुपैयाँ लिन्छन्।
गौशालाको सडकपारि बिचौलियाले सटर नै खोलेर बसेका छन्। फारम बुझाउन लाइन बसिरहेकालाई तान्न आइपुग्छन्। कपाल पालेका एक बिचौलियाले एक जनालाई तानेर फारम भरिदिने बताए। उमेश नाम बताउने ती बिचौलियाले भने, ‘पुलिसले मलाई तीनपटक उठाएर लगिसक्यो। तर के गर्नु काम गर्नै पर्यो।’

महाराजगञ्जको पुलिस रिपोर्ट लिने कार्यालयनजिकै करिब दुई दर्जन फोटोकपी तथा कम्युनिकेसन सेन्टर छन्। तिनले बिचौलियाको काम गर्छन्। प्रहरीको कार्यकक्षबाहिर लेखिएको छ– अनुमतिबिना प्रवेश निषेध। तर योन्जन कम्युनिकेसनकी एक महिला सरासर कार्यकक्षभित्र पसिन्। प्रहरीसँग गफिइन्। आफ्नो काम सकेर बाहिरिइन्। दुई जना सेवाग्राही उनको पछि लागे। उनले आफ्नो सटरमा लगिन् अनि फारम भरिदिइन्।
कार्यालयको गेटनजिकै पाँच÷छ जना युवती उभिरहेका हुन्छन्। फाइल बोकेर आएका सेवाग्राही देख्ने बित्तिकै उनीहरू सल्बलाउँछन्। कतै टेबलकुर्सी नै लिएर बसेका छन्। सेवाग्राहीलाई हातमै समाएर आफ्नो सटरतर्फ लैजान्छन्। बाटोमा हिँडेका जो कोहीलाई ‘फारम भर्ने हो ? ’ भन्दै सोध्नु, अनकनाउने सेवाग्राहीलाई जोडबल गर्नु उनीहरुको काम हो। कतिपय सेवाग्राही आफैँ बिचौलिया खोज्दै पुग्छन्।
फारम सरासर भरे १० मिनेट पनि लाग्दैन। आफैँले गर्न सकिने काम पनि नगरी बिचौलिया प्रयोग गर्ने सेवाग्राही पनि भेटिए। पत्रकारितामा डिग्री गरेको बताउने एक सेवाग्राहीले बिचौलियालाई फारम भराए। उनले भने, ‘आफँै भरे पनि हुने थियो। तर फोटोकपी पनि गर्नु परेकाले भराएँ।’
कार्यालयभित्र बिचौलियाको प्रवेश कडाइपूर्वक रोक्ने प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। उनी भन्छन्, ‘कार्यालयभित्रै जथाभावी गर्नेलाई कारबाहीको दायरामा ल्याइन्छ।’ सेवाग्राहीको सुविधाका लागि अनलाइन प्रणालीलाई अझै चुस्त बनाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस !