हक्की प्रतियोगिताको उपाधि गण्डकीलाई
बिर्तामोड : शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। झापाको मेची रंगशालामा बुधबार सम्पन्न फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै गण्डकीले उपाधि जितेको हो। गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
उपविजेतामा चित्त बुझाएको आर्मीले १५ हजार प्राप्त ग¥यो। फाइनलमा आर्मी र गण्डकीले आक्रामक खेल खेलेका थिए। तेस्रो क्वार्टरसम्म दुवै टोलीले गोल गर्न सकेनन्। खेलको अन्तिम समयमा गण्डकीका श्रवण कुमारले पेनाल्टी कर्नरमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए। कुमारले डीबक्सभित्र गोलकिपरलाई बिट गर्दै ५७औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच गण्डकीका गोलकिपर प्रकाश खानियाँ घोषित भए।
यसैगरी प्रदेश १ लाई सडनडेथमा ७–६ गोलले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हात पारेको छ। सुदूरपश्चिमले पाँच हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी गण्डकीका श्रवण कुमार, सर्वाधिक गोलकर्ता आर्मीका राम साह, गोलकिपर आर्मीका पुरन एल र उदीयमान खेलाडी प्रदेश १ का अनिष मगर घोषित भए। उनीहरूले जनही पाँच हजार पुरस्कार प्राप्त गरे। राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेशबाहेक ६ प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता थियो।