भाषणमा मात्र एकता : नेता–कार्यकर्ता भन्छन् - ‘व्यवहारमा प्रतिस्पर्धीजस्तै देखियो’

भाषणमा मात्र एकता : नेता–कार्यकर्ता भन्छन् - ‘व्यवहारमा प्रतिस्पर्धीजस्तै देखियो’

सिन्धुली : बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने उद्घोषसहित फागुन १ गते जनयुद्धमा होमिएको तत्कालीन माओवादी र नेपाली समाजको लोकतन्त्रीकरण प्रक्रिया विचार र शान्ति प्रक्रियाबाटै हुनुपर्छ भन्ने तत्कालीन एमाले कार्यकर्ताले बुधबार विभिन्न कार्यक्रम गर्दै ‘जनयुद्ध एवं जनआन्दोलन दिवस मनाएका छन्। बन्दुकको नाल उठाउने र त्यसलाई दबाउने दुवै पार्टीबीच एकता भए पनि व्यवहार भने प्रतिस्पर्धीझैं देखिएको छ।

जनयुद्ध दिवसमा पार्टीको केन्द्रीय तहदेखि जिल्लातहसम्म भएका कार्यक्रममा तत्कालीन माओवादी र एमालेले ‘जनयुद्ध दिवस’ र ‘जनआन्दोलन दिवस’ मध्ये कसलाई आफ्नो स्वामित्व लिने भन्ने प्रतिस्पर्धाका कारण जनयुद्ध कि जनआन्दोलन भन्नेमा ब्यानरदेखि सहिद तस्बिरसम्म विवाद देखिएको नेकपाका नेता तथा कार्यकर्ताले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रममा ‘जनआन्दोलन तथा जनयुद्धका सहिद’ को सम्झना लेखिएको ब्यानर जिल्लासम्म आइपुग्दा जनयुद्ध एवं जनआन्दोलन दिवसमा तयार पारिएको थियो। ०५२ साल फागुन १ गते जनयुद्धको उद्घोषपछि जनयुद्धमा समर्पित हुँदा सहादत प्राप्त नेता–कार्यकर्ताको मात्र तस्बिर राखेर माल्यार्पण गर्दै सम्झने तत्कालीन माओवादी नेता–कार्यकर्ताले यसपटक जनआन्दोलनका सहिदहरूको समेत तस्बिर एकसाथ मञ्चमा राखेर उनीहरूलाई सम्झेका छन्।

फागुन १ लाई माओवादी भूमिगत युद्धमा सामेल योद्धाहरूको सम्झनाकै रूपमा जनयुद्ध दिवस मनाउने चलन छ। यसपटक भने दुवै पार्टी एकतापछिको पहिलो कार्यक्रम भएकाले जनआन्दोलनका सहिदलाई पनि एकै पटक सम्झेर तस्बिर सँगै राख्नुपरेको नेकपाका नेता हरिबोल गजुरेलले बताए। ‘सांगठनिक एकता भए पनि भावनात्मक एकता भइनसक्दा पार्टीभित्र केही कुरामा असहमति कायमै रहेका बेला पार्टीको केन्द्रीय निर्णयअनुसार नै जनयुद्ध र जनआन्दोलन दिवस एकैपटक गर्नुपरेको हो,’ उनले भने।

तर, नेकपाका नेता तथा सांसद विनोद खड्काले भने पार्टीभित्र अझै पनि भावनात्मक एकता भइनसकेका कारण जनयुद्ध र जनआन्दोलनको स्वामित्व कसले लिने भन्ने विषयले एकरुपता पाउन नसक्दा ब्यानरदेखि सहिदका तस्बिरसम्म विवाद देखिएको उल्लेख गरे।

माओवादीले जनयुद्धबाटै लोकतन्त्र स्थापना गरेको दाबी गर्दै जनयुद्ध दिवसलाई भव्य रूपमा मनाइरहँदा तत्कालीन एमाले नेता–कार्यकर्ता भने जनआन्दोलनको उपलब्धि नै लोकतन्त्र र गणतन्त्र भएको दाबी गरिरहेका छन्। जनयुद्ध दिवसकै दिन जनआन्दोलन दिवसलाई पनि जोड्नु राम्रो नहुने भन्दै यसलाई माओवादीको जनयुद्ध भन्ने शब्द एमालेले स्विकार नगरेको र जनआन्दोलन भन्ने शब्दलाई माओवादीले सामान्य अर्थमा ठानेको भन्ने छर्लंगजस्तै देखिएको कार्यक्रममा सहभागी नेकपाका जिल्ला नेता विनोद विकले टिप्पणी गरे।

उनले भने, ‘दुवै आन्दोलन नेपाल र नेपालीका लागि समयअनुसार आवश्यकता थिए। तिनैका भरमा आज यो व्यवस्था सम्भव भएको हो। तर, जनयुद्ध दिवसका दिन जनयुद्ध र जनआन्दोलन दिवसका दिन जनआन्दोलन दिवस मनाएको भए नेता कार्यकर्ता सबैमा राम्रो पथ्र्यो। तर, आज एकै दिन दुवै शब्दलाई एउटै ब्यानरमा राख्नु राम्रो थिएन।’

पार्टी एकताका बेला तत्कालीन माओवादी कार्यकर्ताले ‘एमाले हाबी भएको’ भन्दै भंग गरेको राष्ट्रिय सभागृहको एकता घोषणा कार्यक्रमकै शृंखला अहिले पुनरावृत्ति भएको छ। जनयुद्ध दिवसको कार्यक्रममा तत्कालीन एमालेका नेता–कार्यकर्ताले आफ्नो अरूचिका कारण जनआन्दोलन दिवस शब्द राखेर चित्त बुझाएको र जनयुद्ध दिवसका दिन जनआन्दोलन शब्दलाई सँगै जोड्नुपर्दाको गरुँगो भारी बोकेरै भए पनि आफ्नो सशस्त्र क्रान्तिको शंखघोष गरेको दिनलाई तत्कालीन माओवादीले बिर्सन नसकेको प्रस्ट देखिएको तत्कालीन माओवादीका कार्यकर्ता बताउँछन्।

अर्का माओवादीका पुराना नेता शान्तिमान कार्कीले भने दुई पार्टीबीचका पुराना तुष अझै नमेटिएकाले यस्तो अवस्था आएको हुन सक्ने आकलन गरे। उनले भने, ‘दुवै पार्टीमा केही तुष अझै बाँकी छन्। तर, जनयुद्ध र जनआन्दोलन दुवै आवश्यक थिए। दुवै दिवस एकै पटक मनाए पनि जनआन्दोलन र जनयुद्धको मर्म बिर्संदै इतिहासलाई साथ छाड्दै जाँदा जनयुद्ध र जनआन्दोलनको मर्म मेटिँदै जानु अत्यन्त दुःखद पक्ष हो।’

यसअघि पनि पटक–पटक ब्यानरकै विषयमा नेताबीच विवाद र मतभेद् देखिन्थ्यो। जुन अहिले पनि भएको छ। जुन कार्यक्रमबारे तत्कालीन एमाले नेताले खुलेरै विरोध जनाउँथे। आज त्यही ‘जनयुद्ध दिवस’ ‘डाइभर्ट’ भएर ‘जनआन्दोलन तथा जनयुद्धका सहिद’को सम्झनामा रूपान्तरण भयो।

नेकपा नेता तथा सांसद प्रदीप कटवालले भने यो कार्यक्रम दुवै अध्यक्षको निर्णयबाट भएको बताए। ‘जनयुद्ध’भन्दा अगाडि जनआन्दोलन कि जनआन्दोलनभन्दा अगाडि जनयुद्ध भन्ने विषयमा विवाद गर्नुभन्दा पनि इतिहासको मर्मलाई बुझेर नेता–कार्यकर्ता सबैले काम गर्नु राम्रो हुन्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.