साम्बाको सनसनी

साम्बाको सनसनी

पछिल्लो समय नेपाली महिला फुटबल खेलाडीको प्रदर्शन बेजोडको छ। तीन महिनाअघि सन् २०२० को टोकियो ओलम्पिक छनोटअन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा पुगेको महिला फुटबल टोली अहिले भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप उपाधिको नजिक पुगेको छ।

नेपालमा आयोजना हुने आसन्न महिला साफ च्याम्पियनसिपको तयारीका लागि भारतले हिरो गोल्डकपको आयोजना गरेको हो। हिरो गोल्डकपमा वास्तविक हिरो बन्ने सौभाग्य नेपालकी सावित्रा भण्डारीले पाएकी छन्। वास्तवमा सावित्राको ध्यान अहिले भारतीय सञ्चारमाध्यम र आम नेपाली फुटबल समर्थकसामु मोडिएको छ। हिरो गोल्डकपमा चार गोल गरेकी सावित्राकै सनसनीपूर्ण खेलले नेपाल उपाधिको मुखमा पुगेको हो।

पहिलो खेलमा म्यानमारसँग पराजित भए पनि नेपाली टोलीले भारतविरुद्धको दोस्रो खेल इखले खेलेको थियो। भारतलाई २–१ गोलले हराउँदा उनै सावित्राले दुई गोल गरेकी थिइन्। नेपालले लिग चरणको अन्तिम खेलमा इरानलाई हराउँदा पनि सावित्राको नाममा दुई गोल रह्यो। सावित्रा पछिल्लो समय नेपाली महिला टोलीका लागि वरदान नै हुन्। लमजुङमा एथलेटिक्स खेल्दै हुर्किएकी सावित्राले फुटबल खेल्न थालेको धेरै भएको छैन। फुटबलको सामान्य ज्ञान भएकी सावित्रा २०७१ सालमा सशस्त्र प्रहरीको एपीएफ क्लबमा आवद्ध भइन्। त्यसपछि उनको फु्टबल खेलले उडान भर्‍यो।

सावित्राकै प्रेरणाले अहिले एपीएफ क्लबले महिला फुटबलका अधिकांश राष्ट्रिय फुटबलको उपाधि चुमिरहेको छ। एपीएफमा खेल कला तिखारेकी सावित्राको बेजोड प्रदर्शनले नेपाली महिला राष्ट्रिय टोलीको स्तर पनि माथि गएको छ। एपीएफ पुगेकै वर्ष नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्राले त्यसपछि आफूलाई पछाडि फर्केर हेर्नु परेको छैन। २०७१ सालमै पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसिपमा सावित्राले माल्दिभ्सविरुद्ध डेब्यु गरेकी थिइन्। ८४औं मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेकी सावित्राले ८८ मिनेटमै डेब्यु गोल गर्दै आफ्नो छाप छोडेकी थिइन्। त्यसपछि हरेक प्रतियोगितामा सावित्रा नेपालकी खम्बा हुन्। हिरो गोल्डकपमा इरानलाई हराएर दुई गोल गरेसँगै उनले नेपालका लागि व्यक्तिगत गोल संख्या २४ पुर्‍याएकी छन्।

नेपालकी कप्तान रहेकी सावित्राको योजना फाइनलमा म्यानमारलाई हराएर उपाधिसँगै सर्वाधिक गोलकर्ताको पुरस्कार थाप्नेछ। सावित्राले भारतलाई हराउनका लागि आफूहरूले निकै मेहनत गर्दै आएको पनि बताइन्। ‘हामीले यही दिनका लागि निकै मेहनत गरेका थियौं। भारतलाई सुरुदेखि दबाबमा राख्ने हाम्रो रणनीति सफल भयो। इरानसँग पनि सबैले राम्रो खेल्यौं। भारतलाई उसैको मैदानमा दबाबमा राखेर जितेका छौं। अब भारतलाई हाम्रो मैदानमा जित्न झनै सहज हुने देखेको छु। साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ’, सावित्राले भनिन्।

इरानविरुद्धको जितपछि भारतीय सञ्चारकर्मीले सावित्रालाई नेपाल विश्व वरीयतामा पछाडि भए पनि उपलब्धि हासिल गर्न कसरी सफल भयो ? भन्दै प्रश्न गरेका थिए। सावित्राले वरीयतामा तल भए पनि नेपालीको जित्ने सोच तल नभएको उत्तर दिएकी थिइन्। नेपालका सबै खेलाडी सुपरस्टार भएकाले फाइनलमा मेहनत गरेर खेल्ने पनि सावित्राले बताएकी छन्। सावित्राको बोलाउने नाम ‘साम्बा’ हो। उनै साम्बासँग नेपालले ठूलो आशा गरेको छ।

हिरो गोल्डकपको लिग चरणमा म्यानमारसँग ३–० ले पराजित भएको नेपाललाई फाइनलमा म्यानमारसँग बदला लिने सुनौलो अवसर पनि छ। विराटनगरमा यही फागुन २८ देखि चैत ८ गतेसम्म आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिप अघि उपाधि नै जित्न सके साम्बाको कप्तानी थप सफल हुने अपेक्षा गरिएको छ। महिला साफको समूह विभाजन यसअघि नै भइसकेको छ। नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.