किरातबारे बहस
काठमाडौं : किरात इतिहास, भाषा, संस्कृति, धर्म, साहित्यबारे काठमाडौंमा बहस भएको छ । किरात राई प्रज्ञा परिषद्को आयोजनामा शुक्रबार दुईदिने प्राज्ञिक गोष्ठी सुरु भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गोष्ठी उद्घाटन गरे । किरात जातिको इतिहास अझै अपूर्ण रहेको कुलपति उप्रेतीले बताए । ‘नेपाल भनेको विभिन्न सांस्कृतिक समूहबाट बनेको राष्ट्र हो’, उनले भने, ‘पहिचानका क्रममा हाम्रो अवस्था, अहिलेसम्मका इतिहास, चर्चा, परिचर्चा मौखिक छन्, अनुसन्धान कम छन् ।
किरात जातिको इतिहासको खोजी अझै अपूर्ण छ ।’ प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, पूर्वकुलपति वैरागी काइँला, भाषाशास्त्री प्रा.डा. नोबलकिशोर राई, किरात राई यायोक्खाका अध्यक्ष तिलक राई, भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीलगायतले किरात इतिहास, भाषा, संस्कृतिको चर्चा गरेका थिए ।
किरात इतिहासबारे मञ्जुल याक्थुम्बा, प्रा.दिनेशराज पन्त, कमलजंग र डा.लाल रापचाले कार्यपत्र प्रस्तुत गरेका थिए । आजको किरात समाजबारे जितपाल किरात, डा. डम्बर चेम्जोङ र डा. विष्णु राईले समूहगत छलफल गरेका थिए ।