किन सीमा कटाइन्छन् यति धेरै गाई ?

किन सीमा कटाइन्छन् यति धेरै गाई ?

राजविराज : हरेक दिनजसो सयौं गाई सीमा कटाएर भारततिर लगिन्छ। कतिपयलाई प्रहरीले रोक्छ। धेरैजसो थाहै पाउँदैन। तस्करी गरेर लगिने  गाई दूध खान पक्कै होइन। आखिर किन सीमा कटाइन्छ गाई ? कहाँ लगिन्छ तिनलाई ?

प्रहरीको अनुसन्धान भन्छ, ‘भारत हुँदै बंगलादेश पुर्‍याउने गरेको पाइएको छ।’ केहीयता प्रहरीले सीमा कटाउने अवैध कारोवारमाथि कडा निगरानी बढाएको छ। सप्तरी प्रहरीका अनुसार भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा जिल्लाको बलान बिहुल गाउँपालिका-४ स्थित बलान खोला नजिकबाट ४९ गाई, १२ गोरु, एक बाछा र तीन बाछी नियन्त्रणमा लिइएको छ। यो पछिल्लो घटना हो। एसपी राजेन्द्र विष्टका अनुसार डोर्‍याउँदै, हपार्दै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा गाई बरामद गरिएको हो।

यसैगरी, प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-१ बाट शुक्रबार राति ५ गाई र ४ गोरुसहित तीन जनालाई पक्राउ गरेको छ। प्रतिबन्ध गरिएको गाईसहितका गोरुहरू अवैध रूपमा लैजाँदै गरेको अवस्थामा प्रहरीले छिन्नमस्ता गाउँपालिका-४ का ४२ वर्षीय उमेश राम, ३० वर्षीय सुनील पण्डित र ४२ वर्षीय बिशु पण्डितलाई पक्राउ गरेको हो।

प्रहरीले तिलाठी कोइलाडी-३ बाट साताअघि दुई गोरु, राजगढ गाउँपालिका-१ झुटकीबाट माघ ६ गते दुई गाई, पुस २५ गते चार गोरु, कात्तिक ४ गते पाँच गाई र एक गोरु, भदौ १ गते विष्णुपुर ५ बाट १७ गाईसहित अग्निसाइर कृष्णसवरण- १ जण्डौलका सफरुद्धिन मियाँ र रसिद मियाँलाई नियन्त्रणमा लिएको थियो।

गोरु निर्यात गर्न पाइए पनि गाई प्रतिबन्धित छ। नियन्त्रणमा लिइएका गाई-गोरुलाई भन्सार कार्यालयसम्म पुर्‍याउन र त्यहाँ राख्न समस्या पर्ने भएकाले तस्करले नै सस्तोमा डाँक कबोल गरी किन्ने गरेका छन्। पछिल्लो पटक प्रहरीले भन्सार कार्यालयमा बुझाएकै दिन नौ गाईगोरु नौ हजार रुपैयाँमा र ६५ गाईगोरु ९७ हजार रुपैयाँमा सकारेर लगेको बेल्ही भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले बताए।

सेटिङ मिलेकै कारण बुझाएकै दिन अति कम मूल्यमा तस्करलाई दिने गरिएको नागरिक सञ्जालका अध्यक्ष सुरखराम यादवको भनाइ छ। ‘प्रहरीले गाईगोरु भन्सार कार्यालयमा बुझाएकै दिन तस्करले कुखुराको मूल्यमा लैजान्छन्, अरूले थाहै पाउँदैनन्’, उनले भने। नेपालमा २५ हजारदेखि ३० हजार रुपैयाँमा खरिद गरिने गाईगोरु बंगलादेशमा एक लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको बताइन्छ।

पशु चौपाया ढुवानीको मापदण्ड, २०६४ अनुसार पशु क्वारेन्टाइन चेकपोस्टले अनुमति दिए आवश्यक कागजपत्र पुर्‍याई गाईसहित चौपाया नेपाल ल्याउन र गाई बाहेकका चौपाया निकासी गर्न पाइने कानुनी प्रावधान छ। भन्सार कार्यालयका प्रमुख चौरसियाले भने, ‘क्वारेन्टाइनको अनुमति मिलेपछि एउटा लगे पनि सयौं लगे पनि एक पटकमा एक सय १३ रुपैयाँ भन्सार दाखिला गरेपछि नेपालबाट गाईबाहेक चौपाया निकासी गर्न पाइने प्रावधान छ।’ तर, तस्करले गोरु भन्दै गाई लैजाने गरेका छन्। भारतीय एक व्यापारीले भने, ‘सेटिङ मिल्यो भने कागजमा गाईलाई गोरु लेखेपछि जति पनि निकासी गर्न पाइन्छ।’

मुलुकभित्र गाईगोरु ओसारपसार गर्न पाइने भएकाले दिनको समयमा विभिन्न बजारबाट खरिद गरी सीमा क्षेत्रमा ल्याउने र राति सीमानाका कटाउने गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका एसपी खेम थापाले बताए। सशस्त्र प्रहरीले असोज २० गते राजगढ गाउँपालिका-१ झुटकीबाट ६२ गाई र आठ गोरु नियन्त्रणमा लिएको थियो। ०७५÷७६ को अवधिमा सशस्त्र प्रहरीले ९६ गाई र ९१ गोरु नियन्त्रणमा लिएको एसपी थापाले बताए।

‘विभिन्न ठाउँबाट ल्याएका गाईगोरुलाई यहाँ जम्मा गरी लैजाने गरिएको छ’, तिलाठी कोइलाडीका मुकेश यादवले भने, ‘ट्रकमा हालेर र हिँडाएर गाईगोरु कसले, के उद्देश्यले भारत लैजान्छ हामीलाई थाहा छैन।’ भारतका कतिपय नाकाबाट सहजै भित्रिने गाईगोरु पनि राजमार्ग हुँदै झापा भएर बंगलादेश पुग्ने गरेको पाइएको छ। गाईगोरुको व्यापारमा आम्दानी राम्रो हुने भएकाले मासिक नजराना बुझाएर लामो समयदेखि केही व्यापारी यसै व्यवसायमा संलग्न रहेको पूर्वप्रहरी विनोद झाले बताए।

सीमानाकामा प्रशासनले अनुगमन नगर्दा जिल्लामा गाईको अवैध व्यापार फस्टाएको गौ संरक्षण अभियान राजविराज-६ का खुसीलाल यादवको गुनासो छ। जिल्लाका कतिपय सहायक नाकाबाट ट्रकमै लोड गरेर गाईगोरु निकासी गरिन्छ भने त्यत्तिकै संख्यामा गाईलाई हिँडाएर भारत लगिन्छ।

सप्तरीको हनुमाननगर कंकालिनीको गोबरगाढा, पलार, रम्पुरा मल्हनिया, डलवा, भारदह, कोसी ब्यारेज, कञ्चनरुपको वैरवा, तिलाठी कोइलाडीको तिलाठी, छिन्नमस्ताको मोहनपुर, लालापट्टी, बलान बिहुलको रामनगर, बेल्ही, तीनकुने, राजगढको झुटकी, बोदे बर्साइनको काचन, बैरहाईलगायतबाट गाईको अवैध व्यापार हुने गरेको यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.