अमेरिकामा नेपाल प्रवर्द्धन गर्न बोर्ड उदासीन
न्युयोर्क : नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या दुई छिमेकी भारतीय र चिनियाँपछि तेस्रो नम्बरमा छ। सन् २०१८ मा संयुक्त राज्य अमेरिकाबाट नेपाल भ्रमण गर्ने पर्यटक अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढेर ९१ हजार सात सय ८५ पुगेको छ। अमेरिकामा नेपाल प्रवर्द्धन गर्न सक्ने हो भने पर्यटक संख्या अझै बढ्ने न्युयोर्कस्थित महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई बताउँछन्।
‘सात समुद्रपारको अमेरिकासँग हाम्रा तुलनात्मक लाभबाहेक वस्तु व्यापारमा ठूलो लाभ हासिल गर्ने सम्भावना छैन। पर्यटन र लगानी प्रवर्द्धनमा काम गर्न सके यसले तुरुन्त लाभ पनि पुर्याउँछ’, भट्टराई भन्छन्। संयुक्त राज्य अमेरिकाका न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यलाई कार्यक्षेत्र बनाएको महावाणिज्यदूतावासले त्यहाँका चेम्बरको सहकार्यमा नेपाली वस्तुको प्रवर्द्धन, प्रदर्शनी, व्यापार मेलामा सहभागी भएर द्विपक्षीय व्यापार प्रवर्द्धन गर्दै आएको छ।
कार्यबाहक महावाणिज्यदूत भट्टराई भने पर्यटन र लगानी प्रवर्द्धन गर्न स्रोत नपाएको गुनासो गर्छन्। ‘पर्यटन प्रवर्द्धनको अथाह ठाउँ छ। मुलुकले तुरुन्तै लाभ पाउने क्षेत्र पनि हो तर पर्यटन बोर्डले स्रोत दिँदैन’, उनले भने। गत महिना अमेरिकाको लोकप्रिय समाचारपत्र न्युयोर्क टाइम्सले आयोजना गरेको ‘न्युयोर्क टाइम्स ट्राभल सो’ मा नेपालको उपस्थिति प्रभावकारी हुन सकेन। ‘महावाणिज्यदूतावासले आफ्नै स्रोतले केही स्टल राखेर पर्यटन गन्तव्यको प्रवर्द्धन ग¥यौं’, उनले भने, ‘पर्यटक आगमनका हिसाबले पनि संयुक्त राज्य अमेरिका प्राथमिकतामा पर्नुपर्ने हो। तर, इमेलमार्फत् जति सम्पर्क गर्ने कोसिस गर्दा पनि पर्यटन बोर्डले चासो दिँदैन। ’
पर्यटन बोर्डले मलेसिया, टर्कीलगायत चीनका विभिन्न सहरहरूमा हालसालै पनि ट्राभल सोहरूमा भाग लिँदै आएको छ। तर, पर्यटक बढ्न सक्ने सम्भावना भएको अमेरिकामा पर्यटन बोर्डले प्रवर्द्धनका लागि चासो नदेखाउनुको कारण रहेछ, बोर्डका कर्मचारीको भ्रमण र भ्रमणभत्ता। नेपाली दूतावास र महावाणिज्य दूतावास रहेका देश र सहरहरूमा तिनै निकायमार्फत् पर्यटन प्रवर्द्धन गर्नुपर्ने भएकाले युरोपेली देश र महावाणिज्य दूतावास नभएका चिनियाँ सहरहरू बोर्डका कर्मचारीको रोजाइमा पर्दै आएका छन्।
न्युयोर्क टाइम्स ट्राभल सो संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो ट्राभल सो हो। जनवरी महिनाको अन्तिम साता आयोजना भएको ट्राभल सोमा विश्वभरका पर्यटन उद्योगले सहभागिता जनाएका थिए। यस ट्राभल सोमा पर्यटकको रूपमा विभिन्न देश, भूगोल, समाज, संस्कृतिका सम्बन्धमा जान्न÷बुझ्न खोज्नेले पनि भ्रमण गर्छन्। जसमा विश्वभरमा १,३०० सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए भने पर्यटन उद्योगका १० हजारभन्दा बढी हस्ती उपस्थित थिए। जसले पर्यटन क्षेत्रमा लगानी, साझेदार र सहकार्यको सम्भावनासमेत उजागर गर्न सहयोग पु¥याउने भएकाले आगामी वर्षमा पर्यटन बोर्डले यस ट्राभल सोलाई विशेष ध्यान दिनुपर्ने कार्यबहाक महावाणिज्यदूत भट्टराई बताउँछन्।
पर्यटन बोर्डले अमेरिकामा नेपाल प्रवर्द्धन गर्न चासो नदेखाउनुको कारण बोर्डका कर्मचारीको भ्रमण र भ्रमणभत्ता बाधक बनेको छ।
त्यस्तै, सरकारले चैतको १५ र १६ मा लगानी सम्मेलन आयोजना गर्दै छ। लगानी सम्मेलनका सम्बन्धमा महावाणिज्य दूतावासलाई पत्राचार पनि भएको छैन। सरकारले केही देशबाट लगानीकर्तालाई बोलाएर द्विपक्षीय रूपमा केही परियोजना निर्माणका लागि सम्झौता गर्ने तयारी गरिरहेको छ। तर, नेपालको सौर्य ऊर्जा क्षेत्रमा एक अर्ब अमेरिकी डलर लगानी गर्न चासो देखाएको भनिएको अमेरिकी कम्पनी स्काई पावर ग्लोबलसँगको संवाद भने अघि बढ्न सकेको छैन।
गत वर्ष मन्त्रिपरिषद्को निर्णयबाट महा वाणिज्यदूतमा सहसचिवको दरबन्दी सिर्जना भएपछि महावाणिज्यदूत नियुक्त भएर आएका सहसचिव मधुकुमार मरासिनीले अमेरिकी कम्पनी स्काई पावर ग्लोबललाई सौर्य ऊर्जामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने गरी नेपाल लैजान पहल गरेका थिए। वर्तमान सरकारले सात महिनाअघि न्युयोर्कको महावाणिज्यदूतको दरबन्दी खारेज गरी कार्यबाहक महावाणिज्यदूतमात्रै राख्ने निर्णय लिएको छ।