बुर्काभित्रको राजनीति

बुर्काभित्रको राजनीति

तलत राजनीतिको ‘फेवा’सम्म पुगेकी छन्, यिनलाई ‘सागर’मा पुगेर मोती टिप्नु छ र अझै चम्काउनु छ बुर्काभित्रका सुन्दर सपनाहरूलाई।


बुवाले भन्नुभयो, ‘तिमीहरूको उमेरमा १७ वर्षको फरक छ।’ उनले सोधिन्, ‘बुवा यदि त्यो केटा डाक्टर या इन्जिनियर भएको भए हजुरले यही कुरा भन्नुहुन्थ्यो त ? ’ जब छोरीको सबालमै जवाफ भेटियो, बुवा नाजवाफ हुनु भो। छोरीको जिन्दगी उसकै रोजाइ भनेर हाँसी हाँसी बिदाइ गर्ने बुवाको छोरी हुन पाउनु उनको भाग्य...। मैले भनिदिएँ।

थाहा छैन उनले भाग्यलाई विश्वास गर्छिन् कि नाई। तर जरुर विश्वास गर्छिन् आफ्नो प्रेमलाई। आफैंलाई विश्वास गर्नु जतिको सन्तुष्टि अन्त कहाँ मिल्छ र ? आफ्नो मनलाई जितेर उत्सव मनाउने अवसर पनि निकै थोरैले पाउँछन्, जसरी मुस्लिम युवती तलतले पाएकी छिन्। अवसर पाएको पनि के भन्नु, यिनले त अवसरको सिर्जना गरेकी हुन्, आफ्नो प्रेमका लागि।

जब मन मिल्छ, मिलेको मनलाई न अनमेल उमेरले छेक्दो रैछ, न त पढाइले। त्यसैले मास्टर्स पास तलत ९ कक्षा पढ्दापढ्दै बीचैमा छोडेर सीमापारि हानिएका मोहम्मद अवसर खानसँग प्रेममा परिन्। प्रेम विवाहमा बदलियो। तलतले माइती छोडिन्, खान घर फर्किए, एउटा सुन्दर घर र उत्तिकै सुनौलो जिन्दगीको सपना बोकेर।

सानैमा बुवाआमा गुमाएपछि र साथमा भएका एउटै दाजुले पनि बेवास्ता पछि गोरखपुर पुगेका मोहम्मद पनि यस कहानीका मुख्य नायक हुन्। तर अहिलेलाई तलतकै कुरा...।

कंक्रिटको घर वास्तविक घर बन्नका लागि त्यहाँ जीवन भरिनुपर्दाे रहेछ। जब गन्तव्य ठानिएको ठाउँ बिसौनी मात्रै बन्छ, नयाँ यात्रा जरुर सुरु हुन्छ। नेपालगन्जको घर तलतका लागि गन्तव्य होइन, बिसौनी भइदियो। अनि उनले थालिन्, नेपाली राजनीतिको लम्बेतान यात्रा र सुरु भयो संघर्षको अर्काे इनिङ।

‘एकदिन मन्त्री बन्छु।’ तलतको बोलीमा विश्वास फक्रिन्छ। मैले सोधें, ‘सजिलो छ र ? ’ जवाफ दिइन्, ‘खुर्सानी टोकेपछि पिरो हुन्छ।’ उनको आँखा तेजिला छन्, म मुसुक्क मुस्काउँछु। नेपालगन्जमा आएपछि श्रीमान्को नामबाट नागरिकता बनाउन ठूलो लडाइँ लड्नुपर्‍यो। सासू ससुराको पहिले नै निधन भइसकेको थियो। सनाखत गर्ने जेठाजुको सहयोग पाइनन्। श्रीमान् त अञ्जान नै थिए, बाहिरी दुनियाँ चिनेकी तलतलाई पनि हम्मेहम्मे पर्‍यो। फेरि यो समाजमा नागरिकता त यस्तो औजार हो, यो बिना एक पाइला हिँड्न पनि कठिन हुन्छ। अझ तराईंको मुस्लिम, मधेसी समुदायका लागि झन् ठूलो पिरलो।

‘मेरा आफन्तजनसँग केही स्वार्थ छ होला तर समग्रमा नेपालका मान्छे धेरै सहयोगी रहेछन्। हामीलाई साथ दिए। र, त श्रीमान् श्रीमतीले नै नागरिकता बनायौं।’ नागरिकताका लागि उनले लडेको लडाइँ उनको जीवनमा अहिलेसम्मको सबैभन्दा ठूलो युद्ध भन्ने उनलाई नै लागेको छ। ‘पराईसँगको लडाइँ त बरु जसरी पनि वार कि पार गर्न सकिन्छ, तर आफ्नासँग लड्न बहुत कठिन हुँदो रैछ।’ तलतको अनुभव बोल्यो। तलतले श्रीमान्को नामबाट वैवाहिक अंगीकृत नागरिकता पाएकी छिन्।

तलतको सपना

तलतलाई मुस्लिम समुदायमा दाइजो र तलाक सबैभन्दा ठूलो समस्या हो भन्ने लागेको छ। हुन पनि बाँके प्रहरीको महिला सेलमा पुगेको उजुरीमध्ये उल्लेख्य संख्यामा छ, श्रीमान्ले तीनपटक तलाक भनेर घरमा बस्न नदिएपछि उजुरी गर्न आएका महिलाको संख्या। यो समस्याले निस्किने हिंसाको स्वरूप असाध्यै डरलाग्दो छ। गत साउनदेखि पुसको पहिलो सातासम्म बाँके प्रहरीको महिला सेलमा दर्ता भएका दुई सय ७५ महिला हिंसाका उजुरीमध्ये एक सय १३ उजुरी मुस्लिम महिलाका छन्। अझ बाहिर आउन नसकेको हिंसाको आकार भयानक छ भन्छिन्, तलत।

उनले केही नयाँ कुरा सुनाउन खोजेझैं गरिन्। भन्छिन्, ‘हाम्रा अग्रजहरूले कुरानको पनि अपव्याख्या गरेका छन्।’ उनका कुराले मेरा कान ठाडा भए। ‘जसरी कुरानअनुसार तलाक भनेपछि तलाक हुन्छ भन्छन्, त्यसैगरी खुला भनेपछि महिलाले पनि सम्बन्ध त्याग्न पाउँछिन्।’ तलतका अनुसार आफूलाई बिहे गरेको श्रीमान्को शारीरिक अवस्था एकदमै कमजोर, चित्त नबुझ्दो आर्थिक अवस्था र श्रीमान्को व्यवहारमा चित्त नबुझेपछि कुरानको कानुन मानेर महिलाले पनि ‘खुल्ला’ भन्न पाउँछिन् अर्थात् सम्बन्ध अन्त्य गर्न सक्छिन्। तर यसको कुरा त कसैले गर्दैन। त्यसैले, तलतलाई दिक्क लाग्छ। ‘त्यसैले पनि मैले राजनीतिमा लागेर केही न केही गर्नुछ।’ उनले आफूले राजनीति सुरु गर्नु पर्नाको कारण खुलाउँछिन्।

यही माटोमा खेलेर हुर्किएका छोरीहरूलाई त राजनीतिमा स्थापित हुन कठिन छ, झन् पारिबाट आएकी बुहारी तलत। चुनौतीका चाङ, न गनेर साध्य छ, हिसाब गरेर। तै पनि राजनीतिमा उनको यात्रा किशोरवय अवस्थामा छ। उपलब्धिभन्दा संघर्ष धेरै छन्। धाप मार्ने हत्केलाभन्दा खुट्टा तान्ने पाखुरीहरू सल्बलाई रहन्छन्। तै उनले हिम्मत हारेकी छैनिन्। पार्टीको विभिन्न संगठनमा रहेकी तलतलाई बैठकमा जानै पनि कहिलेकाहीँ भ्याइनभ्याइ हुन्छ। हतारहतार ढोका थुनेर निस्किन खोज्छिन्, छिमेकीले प्वाक्क भनिहाल्छन्, ‘ऊ कस्टमर खोज्न हिँडी।’ पाइला टक्क अडिन्छ, मन कटक्क दुख्छ, रगत उम्लिन्छ ! तर रोकिन्नन् उनका पाइला। यसैगरी नरोकिएरै अघि बढिरहेको १३ वर्ष भइसक्यो।

२०६३ मा तत्कालीन नेकपा एमालेको सदस्यता लिएपछि अनवरत राजनीतिक यात्रामा छिन् तलत। मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की अध्यक्ष हुन्। प्रदेश सभाको चुनावमा एमालेले उनलाई समानुपातिकका लागि सूचीमा पारेको थियो। तर रोजाइमा कपिलवस्तुकी फौजिया खातुन परिन्। फौजिया ८७ सदस्य रहेको ५ नम्बर प्रदेश सभामा एकमात्रै मुस्लिम महिला सदस्य हुन्। उसो त तलत सम्बद्ध नेकपाको दुई सय तीन सदस्यीय प्रदेश कमिटीमा ६ जना मुस्लिम छन् तर महिलाको उपस्थिति शून्य छ।

आफ्नै समुदायकै महिलाको पक्षमा सुरु गरेको राजनीतिक तीरले अहिलेको राजनीतिक संरचना तितरबितर पार्नेछ भन्ने विश्वास डगमगाएको छैन तलत प्रवीन खानको। यसपालि स्थानीय तहको चुनावमा नेपालगन्ज उपमहानगरिपालिका वडा नम्बर १० मा महिला वडा सदस्यको लागि टिकट पनि पाएकी थिइन् उनले, मात्रै तीन भोटले हारिन्। तर हार्नु भनेको सकिनु होइन, बरु सुरुआत हो। त्यसैले जुरुक्क उठिन् यी ३१ वर्षीया युवती, पिठ्यूभरि लागेको धुलो टकटक्याइन् र बैठकको लागि दौडिइन्। तलत राजनीतिको ‘फेवा’सम्म पुगेकी छन्, यिनलाई ‘सागर’मा पुगेर मोती टिप्नु छ र अझै चम्काउनु छ बुर्काभित्रका सुन्दर सपनाहरूलाई।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.