नूतन दृष्टिमा जीवन–जगत्

नूतन दृष्टिमा जीवन–जगत्

फरक उचाइ र फरक फैलावट बोकेर प्रकाशमा आएको छ, भीष्म उप्रेतीको निबन्ध संग्रह, ‘जब हामी कुरा गर्छौं’। लालित्यपूर्ण शैली, गहन भाव, विषयगत गम्भीरता, जनजीवनको चासो जगाउन सक्ने सिर्जना र साहित्यिक मूल्य एवं मान्यताको दृष्टिकोणले फरकपन दर्शाउने क्षमता राख्ने भएकाले पनि भीष्मका कविता, निबन्ध, नियात्राजस्ता सिर्जना पाठकको मनमा तरंग ल्याउन सक्षम छन्। अरूलाई मात्र होइन, आफैंलाई समेत नढाँटी साहित्यिक कृतिहरू रच्ने क्षमताका कारण पनि उनका सिर्जनालाई आमपाठकले हृदयदेखि नै खोजीको विषय बनाएका हुन्।

अठार निबन्ध समेटेर पुस्तकाकार दिइएको यो संग्रहले नेपाली निबन्धको क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने पक्षमा विश्वस्त हुन सकिन्छ। त्यसका केही कारण छन्। ती कारणलाई यस लेखमा संक्षेपमा प्रकाश गर्ने प्रयास गरिएको छ। कुनै पनि कृतिलाई मुख्यतः दुई आधारमा मूल्यांकन गर्न सकिन्छ। पहिलो, त्यो कृतिले समेटेका विषयवस्तु, दोस्रो, त्यो कृति रचना गर्दा लेखकले अपनाएको शैलीको मौलिकता। पाठकहरूले एकातिर सामान्यभन्दा सामान्य दैनन्दिन विषयहरूमा पनि चमत्कारपूर्ण नवीन ज्ञानको अपेक्षा गर्छन् भने अर्कातिर लेखकले उसको कृतिमा नयाँनयाँ विषय पनि समेटोस् भन्ने चाहना राख्छन्। शैलीको कुरा गर्ने हो भने पाठकले सदैव लेखकबाट नवीन शैली आओस् भन्ने कामना गर्छन्। लेखनको यी दुवै सन्दर्भसँग स्रष्टा अत्यन्त सजग छन्। त्यसै भएर उनका कृतिहरूमा विषयको गहिराइ र शैलीगत रोमाञ्चकता पर्याप्त रूपमा पाउन सकिन्छ।

वर्तमान समयमा निबन्ध एकैमात्र संरचनामा बाँधिन चाहँदैन। यो लघु वा दीर्घ कलेवरको क्रमविहीन गद्यरचनाका लागि प्रयोग हुन थालेको छ। निबन्धमा निबन्धकारले उसको निजी भाषाशैलीका आधारमा आत्मीयता वा अनात्मीयता, वैयक्तिकता वा निर्वयक्तिकताका साथ कुनै पनि विषयका सम्बन्धमा आफ्ना भाव र विचार प्रकट गर्छ। निबन्धकार पनि जब हामी कुरा गर्छौं का निबन्धहरूमा कतै प्रसिद्ध निबन्धकार मोन्तेनको भनाइजस्तो ‘म नै मेरो निबन्धको विषय हुँ’ भन्ने अर्थलाई बलियो बनाउँदै सिर्जना अघि बढाउँछन् त कतै फ्रान्सिस बेकनले भने झैं ‘विकीर्ण चिन्तन’लाई समेटेर निबन्ध मजबुत बनाउँछन्। कवि पनि भएकाले उनका निबन्ध काव्य–लालित्यले भरपूर त छँदैछन्, चिन्तनको उन्मुक्त प्रवाहमा अघि बढेर जीवन र जगत्का अनेकौं प्रसंगलाई विहंगम ढंगले कोट्याउँछन्। सुवासित पुष्प बनाएर पाठकको लागि परिपाक तयार गर्छन्।

‘मान्छे भीडमा पनि एक्लै बन्छ। संसारमा अपूर्णताहरू छन्। धेरै कुरा अपूर्ण छन्। त्यसैले सिर्जनशील छौं, कल्पनाशील छौं। यो पूर्ण नभएको प्रमाण हो र पूर्णताको खोजी पनि हो। (प्रश्न) सिमाना भत्काएर बाहिर निस्कने आँट र साहसले सफलताको शिखर चुम्छ (सिमानाका कुरा)। प्रेम गर्न, संवेदनालाई सम्हालेर राख्न गाउँका हरिया, नीला, पहेला, वैजनी रङहरूले सजाएर चिटिक्क परेकी प्रकृतिबाट सिकें। अनि यी र यिनैसँग जोडिएर आउने मानिसको जीवन नलेखेर अरू के लेखौं ? (अरू के लेखूँ ?) आजै बाँच्न बिर्सेको मान्छेले भोलिका लागि उत्कृष्ट कथा कसरी बुन्छ ? (भोलिका कथाहरू), बन्धनबाट मुक्त भएपछि मान्छे सम्भावनाले घेरिन्छ। 

(जब हामी लेखकका बारेमा कुरा गर्छौं)।

यी त केही उदाहरण मात्र हुन् भीष्मका लेखनशिल्पका। उनका यी निबन्धले दार्शनिक वकालत गर्छन् र जीवन र जगत्लाई नूतन दृष्टिले प्रस्तुत गर्छन्। यी निबन्धलाई काव्यनिबन्धभन्दा पनि फरक पर्दैन। हरेक अक्षर र शब्दहरू कविता बनेर उभिन्छन्। काव्यात्मक चमत्कार चखाएर पाठकको मन र मस्तिष्कमा मद्धिम झंकार छोडिरहन्छन्। जब हामी कुरा गर्छौं– यो शीर्षक आफैंमा विचार र कल्पनाको उद्घाटन जस्तो लाग्छ। निबन्धमा प्रत्यक्ष वा परोक्ष रूपमा लेखकको समय, जीवनवृत्त, समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश जुर्मुराइरहेको हुन्छ। भीष्मका यी निबन्ध पनि एक दशकको दर्पण वा दस्तावेजको रूपमा उभिएका छन्।

अनुभव, अनुभूति, ज्ञान, दर्शन र चिन्तन ढाँचा सबल रूपमा उद्घाटन हुन्छन् भीष्मका निबन्धहरूमा। सर्जक सकारात्मक सोच भएका, लोभ, डाह, ईष्र्या र भयबाट मुक्त भएका अत्यन्त सुधो र अत्यन्त उज्यालो मनका लेखक हुन् भन्न सकिन्छ। अझ उनी निर्दोष र पूर्वाग्रहहीन बालकजस्ता लाग्छन्। उनी प्रकृति, प्राकृतिक सुन्दरता र प्राकृतिक रहस्यहरूमा मनैदेखि रमाउने स्रष्टा हुन् भन्ने बुझ्न सकिन्छ। 

नकारात्मक सोच भएका लेखक तथा पाठकले यो कृति पढे भने अलिकति भए पनि मिर्मिरेतिर मोडिनेछन्।

संग्रृहीत निबन्धमध्ये केही संस्मरणात्मक, केही नियात्रात्मक, केही वर्णनात्मक र बहुसंख्यक विचारात्मक, भावात्मक, आत्मपरक र वैयक्तिक छापका निजात्मक निबन्धहरू समावेश छन्। कतिपय निबन्धकार निजात्मक निबन्धको नाममा व्यक्तिगत कुण्ठा, व्यक्तिगत गथांसो र व्यक्तिगत घटनामात्र जोडेर पाठकलाई भाग्न बाध्य गराउँछन्। भीष्म ती सबै अवगुणबाट मुक्त छन्। उनले अनुभव र अनुभूति गरेका विषयलाई जीवन र जगत्का इन्द्रेणी रङहरूसँग घोलेर सामाजिकीकरण गर्नमा भीष्मको लेखनी माहिर छ। उनका प्रत्येक हरफहरू सूत्रजस्ता, मन्त्रजस्ता र कविताका लालित्यपूर्ण अंशजस्ता लाग्छन्।

हरेक मान्छेसँग आत्मीयता साटासाट गर्ने कला र हरेक प्राकृतिक निर्जीव वा सजीव वस्तुहरूलाई मानविकीकरण गरेर जीवनको अपरिहार्य सहयात्री बनाउन सक्ने खुबी भीष्मको नियात्रा पठनले धेरै दिन्छ। निबन्धमा भावुकताको मुस्लो सुमधुर रूपमा उठ्दै जान्छ। एउटा निर्दोष बालकले नढाँटी बके झैं यथार्थ परिणामहरू झरीपछिको घाम झैं खुलिहाल्छ। यो सिर्जनात्मक लेखनमा बेजोड शक्ति हो उनको।

उप्रेती ‘अध्यात्मवादी दर्शनबाट उत्प्रेरित हुँदै लेख्ने लेखक हुन्’ भनेर यो कृतिले बुझाउँछ। जीवन र जगत् भौतिक वस्तुहरूबाट सञ्चालित भइरहेछ भन्ने एउटा धारा र यो सबै कुनै अदृश्य शक्तिबाट सञ्चालित छ भन्ने अर्को धारा संसारमा आआफ्नै ढंगले अघि बढिरहेछन्। भीष्म जीवन र जगत् आध्यात्मिक सोचबाट अघि बढ्नु पर्छ भन्ने मान्यता त राख्छन्। यद्यपि प्राकृतिक सर्वोच्चता, प्राकृतिक सौन्दर्य, प्राकृतिक महानताको महिमा गाएर पनि थाक्दैनन्। यस हिसाबले भीष्म अत्यधिक मात्रामा आध्यात्मिक दर्शनबाट र प्रकृतिको उपस्थिति, प्राकृतिक गतिविधि र प्राकृतिक पौरखको पक्षमा भने भौतिकवादी चिन्तनलाई पनि अघि सार्दै उचाइमा चढिरहेका देखिन्छन्।

भीष्मका यी निबन्ध राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि प्रतिस्पर्धाको सामथ्र्य राख्छन्। निबन्धमा सरल ढंगले भन्दै जाने र गम्भीर रूपमा सोच्न बाध्य बनाउने भीष्मको निबन्धलेखनको अर्को वैयक्तिक कला पनि यी निबन्धहरूमा उदाहरणको रूपमा उभिन्छन्। नेपाली निबन्ध भण्डारमा यो लालित्यपूर्ण र अर्थपूर्ण निबन्ध संग्रह हो। जसको पठनले पाठकको चिन्तन, चेतना र चरित्र निर्माणमा अहम् भूमिका खेल्ने पक्षमा दुईमत नहोला।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.