मकुनाको मनमौजीमा हामी

मकुनाको मनमौजीमा हामी

यात्राले यसै थकित ! त्यसमाथि सात घण्टाको। बाटो नेपालको, भन्ने परेन। अगाडि–पछाडि, माथि–तल सबैतिर पुग्न पाइन्छ सिटैमा बसीबसी। एकअर्कालाई घच्चा दिन र पिङ खेल्न पनि पाइन्छ। हस्याङफस्याङ गर्दै साँझ टरेपछि होटल पुगेका हामी सुत्ने तरखरमा थियौं। त्यत्ति नै बेर, ठूलै हल्लाखल्ला मच्चियो। भूकम्प र परकम्पले झस्किइरहेका हामी। लाग्यो, भुइँचालै आएछ। हत्तपत्त तल झ¥यौं र बाहिर निस्कियौं। झट्काले थकान क्षणभरमै कुलेलम ठोके झैं भयो। भूकम्पको भूत होइन रहेछ, बरु अजंग हात्तीको स्वरूप चाहिँ सामुन्ने देख्यौं।

हल्लाखल्लाभित्रको रहस्य: हामी बसेको होटल भिस्टा चितवनका कर्मचारी अञ्जन भन्दै थिए, ‘जंगली हात्ती...!’ हात्ती त सबैले देखेकै हो, अचम्म मान्नुपर्ने र आत्तिनुपर्ने नै त केही होइन। तर जंगली हात्तीले छिनमै हंगामा मच्चाएका घटनाले सबैलाई तर्सित बनायो।

स्वदेशीसँगै विदेशी पर्यटक सबै बाहिर निस्किए। कोही डरले होटलको कौसीबाट हेर्न थाले। हल्ला मच्चिएको खास रहस्य तल पुगेपछि थाहा भयो, होटलको पर्खाल नै भत्काउँदै रहेछ त्यो हात्ती। मन चाहिँ अचम्मित भयो। जंगली हात्ती होटलभित्र किन पस्न खोज्दैछ ? संरचना नै फोडेर !

हात्ती कुर्न बसेका माउतेदेखि कर्मचारी सबैको भागभाग भयो। नहोस् पनि किन ? उसै त जंगली हात्ती त्यसमा पनि भाले हात्ती ! त्यो पनि रातको समय ! ‘जंगली हात्तीमा पोथीको तुलनामा भाले अलि उग्र नै हुन्छन् रे’, कसैले भन्यो। अर्कोले थप्यो, ‘त्यसमा पनि मत्त भएको बेला झनै उग्र हुन्छन् यिनेरु !’

लक्ष्यमा अर्जुनदृष्टि थियो सायद त्यो हात्तीको। सरासर भित्र पस्यो। हामी बाहिर। गर्न सक्ने केही होइन त्यो अजंगको जन्तुलाई। केही समय गोठमा बस्यो। आपसी कुरामा भुल्यौं हामी, ऊ उता। सेर त्यो जंगली हात्ती बाहिर निस्कियो। 

हामीले पनि होटलको कौसीबाट अझै हेर्ने प्रयास गर्यौं तर अँध्यारोमा छायाँमात्रै देखियो।

‘ए भाग भाग !’ हात्ती जति जति पर पुग्थ्यो, त्यति त्यति मधुर यस्तै आवाज आइरहे। तोरीलगायतका बालीनाली नष्ट गर्दै त्यो हात्ती अर्कातिर लाग्यो। जताजता जान्थ्यो, त्यतात्यता भागदौड सुरु हुन्थ्यो। होटलका तिनै कर्मचारी अञ्जनले नै ‘मकुना’ नामको हात्ती हो यो भनेर सुनाए। सबै लाखापाखा लागे थाकेका ज्यानहरू। उनले सुनाए, ‘पोथी हात्ती पालेको गोठमा जंगली हात्ती आउँछ बेलाबखत।’

भाले हात्तीको ठूलो दाह्रा हुन्छ तर मकुना भाले हात्ती भए पनि दाह्राबिनाको रहेछ। कसैले यो ‘छक्का’ भएको पनि बताए। होटलका सञ्चालक रमेश सिलवालले पनि पछिल्लो समय मकुनाले साह्रै दुःख दिएको गुनासो हामीसँग गरे। 

‘सौराहामा कुन दिन कस्लाई मार्ने हो, त्राहिमाम हुन्छ बेलाबखत’, उनले दुःखेसो पोखे।

घटना माघ २ गतेको हो यो। अर्को रात पनि मध्यरातमा ऊ आयो। त्यही मकुनाले रातको करिब १ बजे हल्लाखल्ला गराइदियो। हाम्रो निन्द्रा नै गायब गर्दियो। गत सोमबार त साँझमै सौराहामा आएर मकुनाले झनै ठूलो ताण्डव गरेछ।

गैंडा र बाघ हेर्ने रहर: माघ ३ गते बिहानै हामी जिप सफारीमा निस्क्यौं। हामीलाई सौराहामा सफारी गर्दा हुलका हुल गैंडा, हात्ती र बाघ देख्न पाइन्छ भन्ने लागेको थियो। तर चितवन राष्ट्रिय निकुञ्जको मुख्य विशेषताको रूपमा रहेको गैंडा देखेनौं। त्यसपछि सफारीमा रहेका गाइडसँग गुनासो ग¥यौं। उनी जसरी पनि हामीलाई गैंडा देखाउँछु भन्दै थिए।

हाम्रो सफारीमा दुई विदेशीसहित १२ जना थियौं। पहिले मयूर देख्यौं। मयूरको फोटो खिचेर अगाडि बढ्यौं। त्यसपछि हामीले लुइचे, गिद्ध, चिल, झुन्डका झुन्ड जंगली मृग, जरायो, हरिणहरू हेर्न अवसर पाइयो। राप्ती नदीको छेउछेउमा गोही, हाँस पनि हेर्न रमाइलो भइरहेको थियो। समूहमा तीनजना केटाकेटी थिए। तिनका अभिभावक आआफ्ना सन्तानलाई नेपाली र अंग्रेजी दुवै भाषामा यात्रा विवरण बताउँदै थिए। करिब दुईदेखि अढाई घण्टाकोे सफारी सकिन लाग्यो। तर पनि गैंडा र बाघ दुवै देख्न पाएनौं। निरस हँुदै गर्दा अचानक गैंडासँग जम्काभेट भयो। ओहो ! कस्तो गजब रमाइलो महसुस भयो। गैंडालाई यति नजिकबाट यति मजाले हेर्न पाइयो।

अब भने जंगलभित्र पर पर नदेखेकोमा कुनै गुनासो बाँकी रहेन। त्यसको छाला कस्तो मजाले मिलाएर बनाइएको जस्तो हुँदो रैछ ! हेर्दै अलि बाक्लो खाले छाला पनि ! हामीभन्दा अलिकति अगाडि भएको गाडीले पनि यति छिटो ब्याक ग¥यो कि हामी त हेरेका हेरै भयौं। सायद त्यो खतरा हामीले रमाइलोको सुरमा पत्तै पाएनौं। त्यो गैंडा पनि यति छिटो हानिँदै आएको थियो कि मानौं त्यसले हामीलाई नै ताकिरहेछ। बिहान चिसो भएको र भर्खर घाम लागेकाले त्यो घाम ताप्न आएको हुनुपर्छ।

अलिकति अगाडि सफारीमा आउने टोलीले चाहिँ तीनवटा डमरुसहितको बाघ देखेका रहेछन्। जुन होटल फर्किएपछि हाम्रै होटलमा बसेका ती विदेशी पर्यटकले बाघका अनेक फोटो देखाए, मानौं हामीलाई तिनले लोभ्याइरहेका थिए। फोटो त हेर्न पाइयो तर बाघ देखिएन। लोभियौं नि मजैले। हाम्रो समूहले बाघ हेर्न पाएन त के भो त्यो टिमले गंैडा देख्न पाएनछ। विगतमा बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ हेर्ने अवसर मिलेको थियो तर चितवनमा भने बाघ हेर्ने धोको यसचोटि पनि यसै भयो।

बुढी राप्तीमा ढुंगा सरर: बुढी राप्तीमा डुंगा सयर गर्दा आनन्द पनि त्यस्तै हुने रहेछ। सुरुवातमा साँघुरो नदी र सानो काठको डुंगामा खाँदाखाँद पर्यटकलाई राख्दा अलि असहज महसुस भयो। त्यसमा पनि डुंगा चढ्दै गर्दा देखिएका 

धेरै गोहीले आङ नै जिरिङ बनाए। एकछिन त छोरो निकै डरायो। हामी पनि डराउन बाध्य भयौं। तर डुगामा अघि बढ्दै जाँदा मृग, चखेवाजस्ता वन्यजन्तु, पशुपन्छी देखेपछि भय हराउँदै गयो। आनन्द महसुस भयोे।

डुंगामा सयरका क्रममा हामीसँगै रहेका गाइड ६५ वर्षीय केशव श्रेष्ठको पशुपन्छी, वन्यजन्तुसम्बन्धी जानकारीले थप आनन्दित भयौं। उनले ३५ वर्षको गाइडिङ अनुभव सुनाउँदै पशुपन्छी र वन्यजन्तुको एक÷एक जानकारी दिए। हामीसँगै रहेका दुई विदेशी पयर्टक त श्रेष्ठको अनुभव र जानकारी सुन्दा मन्त्रमुग्ध भए। उनले हामीलाई मृग, घडिया गोहीदेखि चखेवा, मयूरलगायतका चराचुरुंगीका साथै पर्यावरणीय विषयको जानकारी दिए। आधा घण्टाको डुंगा सयर आनन्ददायक भयो।

जनावरको गोबर (डंग): डुंगाबाट झरेपछि गाइड   श्रेष्ठले बाघ, गैंडालगायतका जनावरको गोबरको बारेमा जानकारी दिए। उनले विदेशी पनि सँगै भएकाले अंग्रेजीमा र घरीघरी नेपालीमा पनि जनावरको गोबरको विशेषता बारेमा सुनाए। यही बखत उनले आफ्नो ३४–३५ वर्षको गाइड अनुभव र त्यो बीचमा जनावरका आक्रमणबाट जोगिएको अनुभव पनि सुनाए।

त्यसपछि हामी हात्ती प्रजनन केन्द्र खोरसोरमा पुग्यौं। प्रजनन केन्द्रको स्थापनादेखि नेपालमा पाइने हात्ती र अन्य देशमा पाइने हात्तीको विषयमा पनि गाइड श्रेष्ठ बताए। हात्तीलाई खुवाइने घाँसको विषयमा भन्दै थिए। त्यहाँ धुवाँ लगाइएको थियो।

हात्ती भएको ठाउँमा किन धुवाँ लगाइँदो रहेछ त भन्ने विषयमा पनि उनले भने। हामी भुसुना र कमिलाबाट हात्ती डराउँछ भन्ने सुनेका। तर पत्याएका थिएनौं। आगो बालेर धुवाँ लगाउनुको कारण भुसुना र कमिला भगाउनकै लागि रहेछ।

इफ यु आर लक्की, देन...!: श्रेष्ठले ‘इफ यु आर लक्की, देन यु क्यान सि द वाइल्ड इलिफेन्ट रोनाल्डो !’ भनेका थिए। नभन्दै त्यत्तिकैमा खोरसोरमा अलिपर जंगलतिरबाट एउटा हात्ती आउँदै गरेको देखियो। उनले त्यो हात्ती रोनाल्डो नै भएको यकिन गरे। बिस्तारै त्यो रोनाल्डो खोरसोरमा अरू घरपालुवा हात्ती भएको स्थानमै आइपुग्यो। त्यहाँ धेरै स्वदेशी र विदेशी पर्यटक थियौं। गाइड नै पछि हट्न हामीलाई सुझाउँदै थिए। केही पछि हटे पनि।
त्यहाँ रहेका केही पर्यटक अटेरी बनेर रोनाल्डोको फोटो र भिडियो बनाउन थाले। पछिल्लो समय रोनाल्डोले पर्यटकलाई सेल्फी लिँदा र फोटो खिच्दासमेत कुनै अवरोध गरेन। सायद उसको मुड...! रोनाल्डो त्यहाँ आउनुको कारण प्रजननकै लागि रहेछ। ६० को दशकदेखि नै रोनाल्डोले खोरसोरमा रजगज गरेको रहेछ। दुई दशकमा उसको संसर्गबाट धेरै पोथी हात्ती गर्भवती भएका रहेछन्। धेरै छावा पनि जन्मिए रहेछन्। विशेष त खोरसोरमा मंसिर, पुस र माघमा रोनाल्डो आउँदो रहेछ। यो समय हात्तीको सक्रिय हुने समय रहेछ।

थारु नाच: हामी बसेको होटलको अगाडि नै थारु कल्चरल भिलेज नामको रिसोर्ट रहेछ। साँझ एक घण्टा थारुका विभिन्न नाच हर्ने अवसर पनि सौराहाले जुरायो। सौराहा थारु गाउँ भन्ने नाम दिएर खोलिएको यो ठाउँमा थारुका धेरै संस्कृति देखिए। थारु गाउँ जस्तै गौरु जोत्दै गरेको, विभिन्न थारु जातिका कला, संस्कृति काल्पनिक बनाएर राखिएको रहेछ। दिनहुँ बेलुका हुने थारु नाचले सौरहालाई थप रौनक दिएको रहेछ।

अतिथि देवो भवः: हामी बसेको होटलमा एक जोडीको सरप्राइज स्वरूप वैवाहिक वर्षगाँठ मनाइदियो। होटलले नै केक ल्याएर काटिदियो। एनिभर्सरी होस् वा जन्मदिन, होटलले नै मनाइदिने व्यवस्था पनि त्यहाँ रहेछ। जहाँ ती जोडीसँगै अन्य पर्यटकले पनि आनन्द लिए। यस्ता कामले पर्यटकलाई सौराहा आकर्षण गर्ने रहेछ। वारपाक्यु पनि गराउने रहेछन्। शाहाकारीलाई पनिर र मांंशाहारीलाई खसी वा कुखुराको वारपाक्यु ! प्रत्येकजसो होटलमा घरपालुवा हात्ती भएकाले हात्तीसँग फोटो हेर्न र फोटो खिच्न सहज छ। यसैगरी, सौराहामा वन्यजन्तु संग्रहालय छ। जसमा हात्ती, बाघ, सर्प र चरालगायत विभिन्न जीवजन्तुको अवशेष छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.