बाकसभित्रको मान्छे

बाकसभित्रको मान्छे

विदेश जानेलाई फर्कौं भने ऋण लिएर गएको छ, काम गरौं पढेलेखेको छ तर बालुवा चाल्ने र सिमेन्ट मुछ्नेजस्ता काम गर्नुपरेको छ


पशुपतिनाथको भजन र आरती आर्यघाटदेखि पूर्वतिर बागमती नदीपारि भव्यरूपमा हुने गरेको रहेछ। २०६४ को दसैंतिहारलगत्तै मलाई सो आरती र भजनमा आयोजकबाट सामेल हुन बोलाइयो। २०७३ मा राष्ट्रपति पनि उपस्थित हुनुभएको रहेछ। त्यो धेरै अघिदेखि सुरु भएको आध्यात्मिक कार्यक्रम रहेछ, जहाँ भक्तजन आउने र भजन गर्ने गर्दा रहेछन्। प्रारम्भमा आमन्त्रित व्यक्तित्वबाट बागमती नदीको पूजाआजा गरिँदो रहेछ, त्यसपछि भजन र अन्त्यमा भव्य आरती गरिँदो रहेछ पशुपतिनाथतर्फ फर्केर। त्यो दिन नदीपारि आर्यघाट सुरुमा सुनसान थियो। लाग्यो, आज कुनै व्यक्तिको शव जलेको रहेनछ। त्यहाँ कोहीकोही बसेका वा हिँडेका देखिन्थे।

केही न्यायाधीशसहित महत्वपूर्ण व्यक्तिको सद्गत हुँदा आर्यघाट जाने गरेको थिएँ। केही समयको शून्यतापछि विस्तारै मानिस जम्मा हुँदै थिए, करिब—करिब सयजना जतिको भीड लाग्यो। कुनै गन्यमान्य व्यक्तिको शवदाह रहेछ भन्ने लाग्यो। मेरो ध्यान भजनभन्दा पनि आर्यघाटतिर केन्द्रित भयो। भजनको तालमा ताल मिलाई दुई हातले थपडी बजाउँदै थिएँ, तर मेरा आँखा भने आर्यघाटतिरै थिए। पौने पाँच बजेको हुँदो हो, दुईजना पुरुष एउटा काठको बाकस बोक्दै आए। त्यसको पछिपछि ६०-६५ वर्षका वृद्ध एक पोका फूल र रामनामीको पट्याएको कात्रो बोक्दै आए।

 वृद्धको हिँडाइ ठीक थिएन, उनका खुट्टा लर्खरिएका थिए, दुब्ला र चाउरिएको अनुहार। सम्भवतः मृतकका स्वजन थिए र अनुमान प्रस्ट भयो कि बाकसमा शव हुनुपर्छ। त्यो शव अरब भूमि वा मलेसिया कहींबाट आएको हुनुपर्छ। उपस्थित मलामी तथा शवको पछि-पछि आउने वृद्धलाई हेर्दा क्षेत्री अथवा ब्राह्मण परिवार हुन भन्नेमा दुईमत थिएन।

मलामीले काठको बाकस खोलेर झन्डै पाँच फिट छ-सात फिटको शव निकाली बाँसको खटमा राखे। मृतकको उमेर २५ देखि २८ वर्षको हुनुपर्छ। शव हेर्दा जवानजस्तो देखिन्थ्यो। त्यति मात्र होइन, शव धेरै दिनको जस्तो सुकेको पातलो थियो कुनै औषधिमा धेरै दिनसम्म राखी नसड्ने बनाई ल्याएजस्तो देखिन्थ्यो।

शवलाई बाँसको खटमा राखेपछि वृद्ध मानिस ढुनमुनिदै बसेको ठाउँबाट उठे र उनलाई मलामीमध्येका कसैले भर दिए। वृद्धले मृतक युवकको शवमा फूलको माला र अबिर लगाइदिए, धूप बाले सिरानीतिर त्यसपछि सेतो कात्रो ओढाए अनि माथिबाट रामनामी ओढाइदिए। वृद्ध त्यसपछि लासको छेउमै भुइँमा ढलेका थिए। त्यसबेला यति बुझ्न कठिन भएन कि वृद्ध मृतकको पिता नै हुनुपर्र्छ। उनलाई केही आफन्तले भुईंबाट उठाई पेटीतिर लगे।

फेरि उठे र हुरिँदै शवतिरै गए। तिनले तल बागमतीको पानी अजुलीमा राख्दै तीनपटक तिलाञ्जली दिए। मृतक शवको अनुहार पुछे र म्वाइँ खाए पटकपटक। त्यसपछि अंकमाल गरे, उपस्थित आफन्तले लासबाट वृद्धलाई छुटाउँदै बोकेर यथास्थानमा पुर्‍याए। त्यहाँ पुगेपछि वृद्ध डाँको छोडेर रोए, ‘मेरो बाबु, छाडिस् मलाई।’ आफन्त सम्झाइरहेका थिए। सम्भवतः परिवारको गर्जो टार्न बिदेसिएको जिउँदो छोरो केही नबोल्ने गरी काठको बाकसमा बन्द भई फर्केको थियो। त्यो छोराको शव पाउन पनि कयौं दिन संघर्ष गर्नुपर्‍यो होला। परदेशबाट बाकसमा हाली ल्याउन त्यति नै परिश्रम गर्नुपर्‍यो होला। विधिको विधान बाबुको शवलाई छोराले काँध दिनुपर्नेमा छोराको शवलाई अघि लगाएर पछिपछि बाबुले जानुपर्‍यो। छोराको शव खटमा राखी दक्षिणतर्फ जलाउन जाँदा वृद्धलाई आफन्तले बोक्दै लतार्दै लगेको दृश्य मार्मिक थियो।

मुलुकभित्रको भ्रष्टाचारको ताण्डव नृत्य झनै भयावह छँदै छ। वैदेशिक रोजगारबाट उठाएको रकमको खर्च तिनै पीडितलाई निवृत्तिभरणका रूपमा दिँदा उत्तम हुन्छ। तर यहाँ सरकारमा बस्नेहरूले भ्रमणमा, भोजमा, सुविधायुक्त साधनहरूमा खर्च गर्छन्।

काठमाडौं विमानस्थलमा दैनिक तीनचारवटा काठका बाकस आउँछन्, जुन वैदेशिक रोजगारमा काम गर्नेहरूको प्रायः शव हुन्छन्। सामान गुडाउनेमा काठको बाकस राखिन्छ अनि कुनै जवान युवती त्यही बाकसमाथि टाउको राखी रोइरहेको देखिन्छ। यस्ता दृश्य प्रायः देखिन्छन्। नौजवान कामदारी पतिको अकाल मृत्यु हुँदा त्यस्ता नवयुवतीको भविष्य अन्धकार हुनु स्वाभाविक छ।

 अझ तिनको लालनपालन र भविष्य के हुने ? जवान विधुवा कुनै पनि जातिको किन नहोस्, त्यो अवस्था सबैका निम्ति कठिन हुन्छ। त्यसरी पति, छोरा, दाजुभाइ वा पिता जोसुकै होस्, जिउँदो गएको मानिस मुर्दा बनी काठको बाकसमा बन्द भई आउँदा पत्नीको भविष्य छोराछोरी, वृद्ध बाबुआमाको भावी दिन सदाका निम्ति बन्द हुनु स्वाभाविक हो। नेपालमा यस्ता दुखान्त घटना पहाड, तराई सहरमा भएकै छन्। अर्कोतर्फ हत्या मामलामा अनाहकमा फस्ने गरेको वा गर्मी आदिका कारण मौसम नमिली अकाल मृत्यु भएका प्रशस्त उदाहरण छन्।

नेपालमा रोजगार

नेपाल कुनै बेला कृषि आयमा आधारित मुलुक थियो। अब रेमिटेन्सले धेरै हकमा धान्न थालेको छ। हाम्रो मुलुकका ठूलाबडा नेता गर्वका साथ भन्छन्, रोजगारका निम्ति यति युवा वैदेशिक रोजगारमा गएका छन्। त्यसको विप्रेषणले यतिसम्म धानेको छ। हाम्रो गरिब र भोकलाई देशभित्रको स्रोत र साधनले कहिल्यै पनि पूरा गर्न सकेन। राणा शासनकालमा १५ वर्षका नाबालकदेखि युवा जवान ब्रिटिस सेनामा गल्लावालामार्फत पुर्‍याइन्थे।

त्यसबापत तत्कालीन शासकहरूले ब्रिटिसबाट रोयल्टी लिने गरेका थिए। विदेशी सेनामा नेपाली जाने क्रम जारी छ। यसलाई हाम्रा जनता परम्परागतसरह ठानी गौरव मान्छन्। नेपालीले गरिबी मेटाउन सदैव पलायन हुन बाध्य हुनुपरेको छ। बहादुरको कालो धब्बा नेपालीको निधारमा सदैव कायम रह्यो। अब कमाउने ठूलाठूलाका निम्ति वैदेशिक रोजगारका नाममा मानव बेचबिखनको धन्दा छ। जति पनि म्यानपावर एजेन्सी छन्, तिनमा लगानी पावरवाला ठूलाठालुकै छ।

वैदेशिक रोजगार व्यवसाय

वैदेशिक रोजगार यथार्थमा मानव तस्करीको पर्यायवाची रूप नै हो। यसमा तस्करको सञ्जाल छ।   श्रमिकलाई एउटा राम्रो कामको प्रलोभन दिने तर त्यसको निदानमा शोषण गर्ने।               श्रमिकबाट पैसा लिने र तिनलाई बिक्री गर्ने। श्रमिकबाट पनि पैसा, दलालबाट पनि पैसा। राम्रो होटेल वा सेक्युरिटी गार्डको कामको प्रलोभन दिने, कामचाहिँ विषादीको फ्याक्ट्री वा वनजंगलमा काठ काट्ने वा काठ बोक्ने काम दिने। राम्रो काम दिने भन्ने तर बँधुवा मजदुर बनाई उँट र भेडा चराउने काम दिने। कतिपय  श्रमिक वर्षौंदेखि अरबको बालुवा भएको मरुभूमिमा पशुसरह जीवन बिताइरहेका छन्।

कतिको जीवन यसकारण जोखिममा हुन्छ कि फर्कौं भने ऋण लिएर गएको छ, काम गरौं पढेलेखेको छ तर बालुवा चाल्ने र सिमेन्ट मुछ्नेजस्ता काम गर्नुपरेको छ। वैदेशिक रोजगारमा पैसा लगानी गरी ठगीबाट दोब्बर÷तेब्बर कमाउने मानिस धेरैजसो नेपाली नै हुन्। लगानीकर्ता त प्रतिष्ठित व्यक्ति नै छन्। आश्चर्य छ, पैसाका निम्ति गरिने अन्याय त्यो पनि आफ्नै देशभित्रका नेपाली बन्धुवान्धवविरुद्ध। पैसा लिने, छलछाम गरी मान्छे बिक्री गर्ने र तिनलाई मृत्युको मुखमा पुर्‍याउने। अनि ती बिदेसिएका युवकले आफ्नो मुलुकमा खान नपाइआएको भन्ने आरोप स्थानीयबाट सुन्दा पनि नेपाली दलाललाई त्यसले मर्म नपुर्‍याउने। कस्तो विडम्बना ?

  मुलुकमै रोजगारको सृष्टि

हाम्रो मुलुकबाट वैदेशिक रोजगारका नाममा बिदेसिने कारण मुलुकमा रोजगारको अभाव हो। अर्कोतिर सानातिना काम व्यवसाय गर्नेहरूप्रति मुलुकमा सम्मान छैन। दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिकी सात सयदेखि एक हजारसम्म छ। महिनाभर जोड्दा सुब्बा र अधिकृतको हाराहारीमैै देखिन्छ। हाम्रा आम मानिस शिक्षित छैनन्। कति लगाउने, कति खाने भन्नेबारेमा पनि हिसाबकिताब छैन। महँगी अकासिँदो छ। उत्पादन गर्नेले उत्पादित वस्तु बिक्री नभएपछि फ्याँक्नुपर्ने अवस्था छ। तर आमजनताले त्यही वस्तु किनेर खाँदा महँगोमा खरिद गर्नुपर्नेछ।

 श्रमिकलाई आयव्ययको हिसाब सिकाउने, सस्तो बजारको प्रबन्ध गर्ने, सुलभ मूल्य, स्वास्थ्य सेवा र तिनका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्न जरुरी छ। आज कमायो आजै उडायो, भोलि कमायो भोलि उडायो। यस्तो प्रवृत्ति हटाउनुपर्‍यो। भरसक               श्रमिकका निम्ति छुट्टै बैंक खोल्न जरुरी छ, जसमा त्यही तल्लो वर्गको लगानी होस् र जसको मुनाफा तिनका हितमा खर्च होस्।

कृषि व्यवसायमा बढोत्तरी

कृषिमा ठगी धन्दा छ। मल र बीउवीजन नक्कली वितरण गर्नु भएन। सिँचाइमा सहुलियन प्रदान गर्नुपर्‍यो। किसानको उत्पादन कौडीको भाउमा खरिद गर्ने र त्यही वस्तु चार दोब्बरमा व्यापारीबाट बिक्री गराउने व्यवस्था हुनुभएन। ऋणको वितरण गर्दा दलगत नजरबाट हेर्नुभएन। कृषि ऋणमा ब्याजको ब्याज र ब्याजको पनि स्याज गरी लिनुभएन। उत्पादनको वितरण उत्पादक र उपभोक्ताको हितमा गर्नुपर्‍यो।

कुनै वस्तु एक ठाउँमा बढी भएमा अभाव भएको ठाउँमा लगेर वितरण गराउने योजना बनाउनुपर्‍यो। कृषिले धेरैलाई रोजगार दिन्छ। कृषिमा व्यापक शोषण छ। सरकारी निकाय र सरकारी कर्मचारीको मिलोमतोमा व्यापारीसमेत मिली हुने भ्रष्टाचार र शोषणको कारण युवा जनशक्ति कृषितर्फ आकर्षित हुन सकेको छैन। लागतसम्म पनि नउठ्ने अवस्था हुन्छ भने हिलोमा किन डुब्ने ?        कृषिमा पुरातन परम्परागत व्यवस्था छ, आधुनिकीकरण छैन। एकदुईजना दलीय नेता पन्ध्र असारका दिन खेतमा गएर नाच्दैमा अन्न उत्पादनमा बढोत्तरी हुन सक्दैन।

सामाजिक रूपमा भयावह

यस वर्ष मात्र वैदेशिक रोजगारमा गएका ८ सय ७८ जना युवाले ज्यान गुमाएका छन्। त्यसमा ३५ जना महिला छन्। सबभन्दा बढी मलेसियामा ३ सय २२ जना मरे भने साउदी अरेबियामा २ सय ८ जना। अन्य मुलुकमा पनि मरिरहेका छन्। यसमा विकलांग, मानसिक रूपमा होस गुम्नेहरूको हिसाबकिताब छैन। कति महिला परदेशमा हुने शोषणका कारण गर्भ बोक्न बाध्य छन्। अनावश्यक गर्भपतन गराउने क्रममा मृत्युवरण गर्नुपरेका घटना पनि कम छैनन्। कति महिला वैदेशकि रोजगारको नाममा बिक्री भएर शारीरिक शोषणमा परेका छन्।

मुलुक केही समयपछि वैदेशिक रोजगारका नाममा र त्यसले ल्याएको विकृतिको दुषप्रभावमा पर्नेछ। सरकारले वैदेशिक रोजगारबाट आएको विप्रेषणको रकमलाई लिएर गौरव त गर्छ, तर समाजमा पर्ने नकारात्मक प्रभावबारेमा थाहा पाएर पनि नीच मारेको देखिन्छ। वैदेशिक रोजगारको चोर बाटोबाट जानेको कथाव्यथा झनै भयावह छ। मानव तस्करले जातमा फसाई बेचेका सोझा नेपालीको कारुणिक व्यथा झनै दयनीय छ।

मुलुकभित्रको भ्रष्टाचारको ताण्डव नृत्य झनै भयावह छँदै छ। वैदेशिक रोजगारबाट उठाएको रकमको खर्च तिनै पीडितलाई निवृत्तिभरणका रूपमा दिँदा उत्तम हुन्छ तर यहाँ सरकारमा बस्नेहरूले भ्रमणमा, भोजमा, सुविधायुक्त साधनहरूमा खर्च गर्छन्। त्यति मात्र होइन, कमिसन र भ्रष्टाचारको खेल हाकाहाकी छ। ती पढेलेखेका सरकारी कर्मचारी नै मरेकाको क्षतिपूर्ति पचाएको उदाहरण छ। सेवाका निम्ति भनी उठाएको रकम रोजगारका क्रममा पीडित हुनेलाई दिए भलो हुने थियो, तर त्यो विचार कोहीकोहीमा पलाएन।

       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.