मौलिकता बचाउन रुकुममा पैंसेरु नाच प्रतियोगिता
रुकुम पश्चिम : स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा बढवा दिने उद्देश्यले रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगर स्तरीय पैंसेरु नाच प्रतियोगिता आयोजना गरिएको छ। 'मौलिक कला संस्कृतिको संरक्षण र विकास गरौं, सांस्कृतिक रुपान्तरण सहितको पर्यटन प्रवद्धनमा अघि बढौं।' भन्ने मुल नाराका साथ अन्तर वडा स्तरीय प्रतियोगिता आयोजना गरिएको हो।
मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमले मंगलबारदेखी आयोजना गरेको पैंसेरु नाच प्रतियोगिता यहि फागुण ९ गते सम्पन्न हुने आयोजक संस्थाले बताएको छ।प्रतियोगितामा मुसीकोट नगरपालिका भित्रका १४ वटै वडाबाट कलाकारको उत्साहपूर्वक सहभागी देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अमित परियारले बताए।
प्रतियोगितामा पहिलो हुने समुहलाई ३० हजार नगद, दोस्रो हुने समुहलाई २५ हजार नगद र तेस्रो हुने समुहलाई २० नगदका साथमा प्रमाण पत्र प्रदान गरिने पनि अध्यक्ष परियारको भनाई छ।साथै प्रतियोगितामा सहभागी समुहमध्ये उत्कृष्ट पोषक आकर्षण, दर्शक ध्यानकर्षण र बाद्यवाधनलाई पनि प्रहोत्सानस्वरुप तीन÷तीन हजार प्रदान गरिने छ।
आयातित संस्कृतिले बजार ढाकेका बेला यहाँको मौलिक संस्कृति जोगाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले स्थानीय कला-गलाको संरक्षण गरेर सांस्कृतिक पर्यटनको विकास गर्दै अगाडी बढ्नुपर्ने बताए। पैंसेरु नाच रुकुम पश्चिमको सांस्कृतिक नाचहरु मध्येको एक हो।
समुहमा लहरै लागेर मादल, डम्मरु, झ्याली र नेवरको तालमा नाचिने यो नाच विभिन्न स्थानीय चाडपर्व, मेला, महोत्सव र अन्य जमघटमा साथै सर्वजनिक खुसियाली साट्न नाचिन्छ। यो नाचका साथै यहाँ सिंगारु, बनगारी, ख्याली र टप्पा नाच पनि नाचेर सर्वसाधारण रमाउने गर्दछन्।