राजपा बैठकमा प्रदेश मन्त्री हटाउन रस्साकस्सी

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रिय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ। स्थानीय राजदरबार होटलमा शुक्रबार बसेको बैठक बसेको हो।
पहिलो सत्रको बैठकमा राजपाका केन्द्रिय अध्यक्ष मण्डल, प्रदेश २ का तीन मन्त्री र तीन राज्यमन्त्रीबीच प्रदेश सरकारको समीक्षा गरिएको छ। बैठकमा सहजीकरणका लागि बनाईएको समन्वय समितिमा पार्टीका महासचिव डा. विजय सिंह, उपाध्यक्ष शेखर सिंह, वरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादवको सहभागिता थियो।
अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको भनाई उदृत गर्दै बैठकमा सहभागि एक सदस्यले भने,' प्रदेश सरकारमा राजपाको भूमिका सोचे अनुसार भएन, मन्त्रीहरुको कामकारवाही सन्तोषजनक हुन सकेन।’ जनता र पार्टी कार्यकर्तामा सरकारको अनुभूतिनै हुन नसकेको टिप्पणीसमेत संयोजक यादवले गरेका थिए।
यादवले विषय प्रवेश गराएपछि राजपाको तर्फबाट प्रदेश २ को सरकारमा सहभागी भएका मन्त्रीहरु जितेन्द्र सोनल, रामनरेश राय र नवलकिशोर साहले आफ्ना समस्या र चुनौतीहरु राखेका थिए।
संयुक्त सरकारको अनुभव, विकास निर्माण, कानुन निर्माणसहितका विषयमा हामीले कुरा राख्यौं,’ मन्त्री जितेन्द्र सोनलले भने, 'सरकारसँग कसरी मिलेर काम गर्ने, जनताको नजरमा कसरी उत्तिर्ण हुने भन्ने विषयमा हामीले आफ्नो विचार राखेका छौं।’
मन्त्रीले बोलेपछि राज्यमन्त्री उनीहरुको विरोधमा खनिएका थिए। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका राज्यमन्त्री सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाए। मन्त्रीले राज्यमन्त्रीसँग समन्वयनै नगरी काम गरेको उनीहरुले गुनासो गरे। मन्त्रीले मनमौजी काम गर्ने गरेको, कार्यविभाजन नगरेको, मन्त्रालयको कामहरु निकै सुस्त रहेको आरोप राज्यमन्त्रीले लगाएका छन्।
सामाजिक विकास मन्त्री नवल किशोर साह र उद्योग, वन तथा पर्यटन मन्त्री रामनरेश रायले केही कामनै नगरेको भन्दै राज्यमन्त्रीहरुको टारगेटमा परेका थिए। भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको काम अपेक्षाकृत राम्रो भएको बताए। एक राज्यमन्त्रीले नाम नखोलाउने सर्तमा भने, 'प्रदेशको समृद्धिको आधार उद्योग, पर्यटन र कृषिलाई बनाइएको छ तर त्यसमा लगानी छैन। यस्ता विषयमा पनि गहन छलफल भयो।’
दोस्रो सत्रको बैठकमा अध्यक्ष मण्डल, प्रदेशका मन्त्री तथा राजपाका प्रदेशसभा सांसदहरुबीच सरकारले गरेका कामको समीक्षा भएको थियो। प्रदेशसभा सदस्यहरु सम्मिलित छलफलमा मन्त्रीहरुको निकै विरोध गरे। मन्त्रीहरुको कामकारवाहीप्रति असन्तुष्टी व्यक्त गर्दै प्रदेशसभा सदस्य तथा महासचिव मनिष सुमनले भने, 'मन्त्रीज्यूहरुले पासमार्क पाउने काम पनि गर्नुभएको छैन, उहाँहरुलाई फिर्ता बोलाउनुपर्छ।’
हाल भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर २५ वटा सांसदमध्येबाट मन्त्रीको जिम्मेवारी दिनुपर्ने वा राज्यमन्त्रीलाई कार्यविभाजन गरी अधिकार दिनुपर्ने माग अधिकांस सांसदहरुको थियो। पार्टीको समग्र कार्यसमीक्षा, प्रदेश सरकारको काम, प्रगति र विकासका एजेन्डाहरुको विषयमा पहिलो दिनको बैठकमा छलफल भएको राजपा संयोजक महेन्द्र राय यादवले बताए। बैठकको आईतबार सकिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
