छिमेकीबाटै बालकको हत्या भएको पुष्टि, २०७३ मा भएको थियो घटना
राजविराज : आठ वर्षीय बालक दुर्गानन्द साहको अपहरण गरी निर्ममतापूर्वक हत्या गर्ने छिमेकीहरू नै रहेको अदालतले पुष्टि गरेको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ हरीपुरका बालक साहलाई अपहरण गरी सोही ठाउँका २९ वर्षीय चुडामणि ठाकुर र २१ वर्षीय रामबाबु गुप्ता साहले हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत सप्तरीले बुधबार सर्वस्वसहित जन्मकैद सजायको अन्तिम फैसला गरेको छ।
जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले ठाकुर र साहलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गर्नुका साथै फिरौती रकम असुल गर्न प्रयोग भएको मोबाइलको सिमकार्ड प्रकृया नपुर्याई बिक्री गर्ने एक व्यापारीलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ।
अदालतका अनुसार सप्तरीको बोदे बर्साइन नगरपालिका ५ देउरी घर भई राजविराज नगरपालिका ८ कञ्चनरुप रोडस्थित मनीषा कम्युनिकेसन सञ्चालन गरी बसेका २४ वर्षीय कपिलदेव दासले कागजी प्रकृया नपुर्याई ठाकुरलाई सिमकार्ड बिक्री गरेका थिए।
बालक दुर्गानन्दलाई ०७३ मङ्सिर ११ गते राति छिमेकी ठाकुरले अपहरण पश्चात हत्या गरेपछि ०७३ मङ्सिर १६ गते ९८१६७१११६१ नम्बरबाट म्यासेज पठाएर बालकका आमासँग पाँच लाख फिरौती मागेका थिए। बालकका बुवा वृद्ध र सुस्त मनस्थितीका रहेको तथा दाजु वैदेशिक रोजगारमा कतारमा रहेकोले सहजै फिरौती रकम असुल हुने अपेक्षाबमोजिम ठाकुरले योजनाबद्ध अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानपश्चात पक्राउ परेकाहरुले बालकको हत्या गरी बोरामा बाँधेर छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी ट्याङ्कमा फालेको बताएपछि हत्याको १९ औं दिन सडेगलेको अवस्थामा बालकको शव फेला परेको थियो। हत्या गरी अर्का छिमेकी पन्नालाललाई फसाँउन उनको शौचालयको शेफ्टी ट्याङ्कीमा अभियुक्तले फालेका थिए। शवको फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ०७३ पुस १ गते पोस्टमार्टम गरिएको थियो।
हत्याका आरोपितहरूलाई प्रहरीले ०७३ मङ्सिर २९ गते पक्राउ गरेकोमा जिल्ला अदालतले ठाकुर र साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। दासलाई भने अदालतले २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो।
प्रहरीको अनुसन्धानबाट बालकले अपहरणकारी छिमेकीको पहिचान गर्ने भएकोले अपहरण लगत्तै बालकको हत्या गरेको दावी गरिएको छ। बालकको हत्यापछि साहको सहयोगमा दासको मनीषा कम्युनिकेशनबाट आवश्यक कागज प्रकृया पुरा नगरी मोबाइलको सिम निकालिएको प्रहरी अनुसन्धानले जनाएको छ। प्रहरी अनुसन्धानअनुसार हत्यापछि निकालिएको सिम र मोबाइलबाट मृतककी आमालाई फिरौतीका लागि म्यासेज पठाउनु बाहेक अन्यत्र प्रयोग गरिएको छैन। म्यासेज पठाएपछि ठाकुरले मोबाइलबाट सिम निकालेर सुत्ने खाटको खुट्टामुनी च्यापेर राख्ने गरेका थिए।
फोटोमा हत्या भएका बालक दुर्गानन्द साह।