झापामा आजदेखि ‘साहित्य उत्सव’
बिर्तामोड : काठमाडौंमा हुने कार्यक्रमले मोफसलको कला, साहित्य र सिर्जनालाई ओझेलमा पारिरहेको आरोप लागिरहन्छ। काठमाडौंमा हुने कार्यक्रम मात्र राष्ट्रिय कार्यक्रम हुन्, त्यहाँ मात्र राष्ट्रिय व्यक्तिको उपस्थिति हुन्छ भन्ने बुझाइ पनि धेरैमा छ। त्यही भ्रम चिर्न र मोफसलमा कार्यक्रम आयोजना गरी साहित्य, कला र राजनीतिक क्षेत्रका प्रख्यात व्यक्तित्वलाई उपस्थित गराएर सिर्जनाको बहस झापामा हुने भएको छ।
केन्द्रमा नभई नेपालको अन्तिम सिमाना नजिकै झापाको काँकडभिट्टामा शनिबारदेखि २० गतेसम्म कला साहित्य उत्सवको चौथो शृंखला रिडर्स झापाले आयोजना गर्न लागेको हो। उत्सवमा लेखकहरू अर्चना थापा, अमिना सिंह, सुप्रिया मानन्धर, वन्दना ढकाल, प्रणिका कोयू, सरस्वती प्रतीक्षा, डा. रेमिका थापा, सुबिना श्रेष्ठ, श्रद्धा घलेलगायत सहभागी बन्नेछन्। उत्सवमा साहित्यिक, प्राज्ञिक, कला, नाटक र सांस्कृतिक विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन्।
प्रत्युष वन्त, नारायण वाग्ले, शिव गाउँले, सञ्जीव उप्रेती, आहुति, खगेन्द्र प्रसाई, राजेन्द्र महर्जन, जेबी विश्वकर्मा, युग पाठक, पुण्यप्रसाद खरेल, भाष्कर गौतम, विष्णु सापकोटा, झलक सुवेदी, महेन्द्र पी लामा, सुधीर शर्मा, अखिलेश उपाध्याय, राम कार्की, वसन्त बस्नेत, संगीत श्रोता, दीपक सापकोटा, अभय श्रेष्ठ, विनोदविक्रम केसी, सीके लाल, खगेन्द्र संग्रौला, प्रदीप गिरी, अनुभव अजित, डा. विश्व पौडेल पनि आउने कार्यक्रम छ। उत्सवमा पुस्तक मेला, देही आर्टको कला प्रदर्शनीका साथै परिवर्तन थिएटरले तयार पारेको ‘बिटुलो आख्यान’ नाटक मञ्चन हुनेछ ।
रिडर्स झापाले हरेक दुई÷दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सव २०७५ मा भने १४ वटा विषयमा छलफल गरिने उनको भनाइ छ। यो वर्ष कला प्रदर्शनी, चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने छ। कला साहित्य उत्सव केवल लेखक र साहित्यकारमा मात्र लक्षित नभई विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको आयोजक समितिका सचिव सौरभ मैनालीले जानकारी दिए।
उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवं पर्यावरण जस्ता विषयमा चर्चा–परिर्चचा गरिने बताइएको छ। कला साहित्य महोत्सव सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।