दरवाङ–म्याग्दीखोलामा स्थानीयको लगानी
बेनी : प्रवासी म्याग्देलीहरूको नेतृत्वमा निर्माण हुन लागेको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा जिल्लाबासीको समेत लगानी जुटाउन थालिएको छ। मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा २५ मेगावाट क्षमताको आयोजना बनाउन लागेको धौलागिरि कालिका हाइड्रोले संस्थापक लगानीकर्ताका रूपमा स्थानीयलाई अवसर दिएको हो।
बेनीमा शनिबार आयोजित सामूहिक लगानीसम्बन्धी सेमिनारमा कम्पनीका अध्यक्ष विनोद कुँवरले एक अर्ब १५ करोड रुपैयाँ संस्थापक सेयर पुँजीमा जिल्लाबासीलाई पनि सहभागी हुन आह्वान गरेका हुन्। ‘रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका नेपालीका साथै जिल्लाभित्रको पँुजीलाई परिचालनका लागि कम्तीमा एक लाख रुपैयाँसम्म संस्थापक लगानीकर्ताका रूपमा अवसर दिएका छांै’, कुँवरले भने। पाँच अर्ब १५ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ।
४५ करोडको साधारण सेयर आयोजना अन्तिम चरणमा पुगेपछि जुटाइने र संस्थापकबाट जुटाउनुपर्ने एक अर्ब १५ करोड रुपैयाँका लागि जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई समेट्न लागिएको हो। मंसिर २८ गते बालौटेमा निर्माण हुने विद्युत्गृहको शिलान्यास गरिएको थियो। तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका पूर्वअध्यक्ष तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) का पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा आयोजना निर्माण हुन लागेको हो। कोरिया, जापान, अमेरिका, हङकङ, बेलायतलगायत देशका प्रवासी म्याग्देलीको लगानी छ। पूर्वाधार निर्माणको पूर्वतयारीमा रहेको आयोजनाले आगामी जेठदेखि सुरुङ, पहुँच मार्ग, बाँध र विद्युत्गृह निर्माणको काम सुरु गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हर्कमान घर्तीले जानकारी बताए।
एक अर्ब १५ करोड रुपैयाँ संस्थापक सेयर पुँजीमा जिल्लाबासीलाई पनि सहभागी हुन आह्वान गरिएको छ।
दरवाङ, देवीस्थान, ताकम र बिमको सीमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र बालौटेमा विद्युत्गृह रहनेछ। आयोजनाबाट उत्पादित विद्युत् बिमको डाँडाखेत सब स्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। प्राधिकरणले डाँडाखेतमा सब स्टेसन र त्यहाँदेखि राहुघाटसम्म प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको छ। सेमीनारमा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, बेनपाका मेयर हरिकुमार श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पश्चिम म्याग्दीको विकासको जग मानिएको यो आयोजना छिटो निर्माण सुरु गरेर समयमै सम्पन्न गरी लगानीकर्तालाई नाफा वितरण गरेर सकारात्मक सन्देश दिने वातावरण बनाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !