५ वर्षपछि नयाँ ५ सयका नोट
काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरको नयाँ नोट सार्वजनिक गरेको छ। असार ३ गतेदेखि लागु हुने १० लाख थान नयाँ पाँच सयका नोट चलनचल्तीमा ल्याएको हो। राष्ट्र बैंकले करिब पाँच वर्षपछि नयाँ पाँच सयका नोट ल्याएको छ। मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचना अनुसार यो नोट साविककै आकार तथा रंगमा उपलब्ध छ। यो नयाँ नोटको संकेत नम्बर झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्म रहेको छ।
नोटको मुख्य विशेषताका रूपमा यसको अग्र भागमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।
यस नोटको मध्यखण्डमा नेपाल सरकारको जमानत प्राप्त प्रतिज्ञामूलक वाक्यांश समेटिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र दृष्टिविहीनहरूका लागि नोट पहिचान गर्न सहज होस् भनी पानीछापको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन्। सुरक्षाका दृष्टिकोणले यसमा ३.५ मिमि चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ। साथै, सगरमाथा हिमालको दायाँतर्फ अन्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्रसमेत अंकित छ।
राष्ट्र बैंकले यसअघि २०७८ साल पुस ९ गते पाँच सय दरको नयाँ नोट सार्वजनिक गरेको थियो। उक्त समयमा संकेत नम्बर छ/४२ ०००००१ देखि झ/३८ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनिए तापनि प्राविधिक कारणवश छ/३७ ०००००१ देखि झ/३८ २४८००० सम्म मात्र बजारमा ल्याइएको स्पष्ट पारिएको छ। यसको भनाइ २ लाख ४८ हजार थान नोट मात्र बजारमा आए।
प्रतिक्रिया दिनुहोस !