चौथो झापा गोल्डकप : एपीएफको कठिन जित
बिर्तामोड : विभागीय टोली शसस्त्रको एपीएफ क्लब बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मोरङ ११ एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले संर्घषपूर्ण जित दर्ता गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो हाफमा गरेको गोलनै निर्णायक बन्यो । पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरी कार्कीले गोल गरेका हुन् । खेलमा एपीएफले मोरङबाट खेल्ने खेलाडीका बिरुद्ध आयोजक समक्ष ‘पोटेक्स’ अपिल गरेपछि खेल २३ मिनेटसम्म रोकिएको थियो ।
खेलमा निर्णायक गोल गर्ने एपीएफका हरी कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यसैबीच सोमबार आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच खेल हुने आयोजकले जनाएको छ ।