एक अर्ब लगानीमा सेन्ट्रल मल
![एक अर्ब लगानीमा सेन्ट्रल मल](https://annapurnapost.prixacdn.net/media/albums/Central-Mall_20190305034130_tWz30vMgXA.jpg)
विराटनगर : प्रदेश १ को अस्थाई राजधानी विराटनगरमा एक अर्ब रुपैयाँको लागतमा सेन्ट्रल मल सञ्चालनमा ल्याइएको छ।
व्यापारिक प्रयोजनका लागि तीनवटा व्यावसायिक समूह देवेनरा, हाईलाइफ र विशाल ग्रुपको संयुक्त लगानीमा तीनतले सुविधा सम्पन्न मल सञ्चालनमा ल्याइएको हो। ५० वर्षसम्मको परिकल्पना गरेर सञ्चालन गरिएको मल वातानुकूलित रहेको जनाइएको छ। यसको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार उद्घाटन गरेका थिए। यही भवनभित्र ११ करोड लागतको चलचित्र हल पनि छ। हल पूर्वक्षेत्रकै अत्याधुनिक रहेको जनाइएको छ।
मल सञ्चालनमा आएसँगै खानाका परिकार, लत्ताकपडा, बालबालिकाका लागि आवश्यक पर्ने वस्तु, विभिन्न देशका ब्रान्डेड कम्पनीका लुगा, जुत्ताचप्पल, कस्मेटिक, दैनिक उपभोग्य वस्तु, सुन तथा चाँदी र त्यसबाट बनेका गरगहना, विलासिताका सामानलगायत एकै ठाउँबाट खरिद गर्न मिल्ने जनाइएको छ। मलका सञ्चालक प्रकाश मुन्दडाले विश्वका सातभन्दा बढी मुलुकले उत्पादन गर्ने सामान मलभित्रै खरिद गर्न पाइने जानकारी दिए। उनका अनुसार मलभित्रै बालबालिकाका लागि गेम जोन, कपाल काट्ने शैलुन र रेस्टुरेन्ट पनि सञ्चालनमा छन्। मल १५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको छ। दुई वर्षअघि निर्माण सुरु गरिएको मलमा एक सय चारवटा कोठा छन्। उद्घाटनका दिनसम्म आइपुग्दा ७० प्रतिशत कोठा भाडामा लिएर पसल सञ्चालन हुन थालेको मुन्दडाले बताए।
उनका अनुसार पसलहरू ७० देखि एक सय ५० स्क्वायर फुटका दरमा भाडामा लगाइएका छन्। वैशाखसम्म सबै पसल भाडामा लागिसक्ने मुन्दडाको भनाइ छ। उनका अनुसार सेन्ट्रल मलमा ६० वटा गाडी र दुई सय ५० मोटरसाइकल पार्किङ क्षमता छ। प्रदेश १ का प्रमुख सहरी क्षेत्र इटहरी, धरान, दमक, इनरुवासहित पहाडी जिल्ला र भारतीय ग्राहकलाई लक्ष्य गरी मल निर्माण गरिएको जानकारी मुन्दडाले दिए। उनले ओमेगा हाउजिङ, सेन्ट्रल बजार र सेन्ट्रल मल्टिप्लेक्सको एकीकृत रूप नै मल भएको जानकारी दिए।
मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए। लगानी सम्मेलन गरेर निजी क्षेत्र र दातृ निकायसँग प्रस्तुत हुन चाहेको बताए। प्रदेश सरकार विकास र समृद्धिमा केन्द्रित भएकाले निजी क्षेत्रसँगको सहकार्यमा मात्रै त्यो सम्भव रहेको उनले बताए। प्रदेशको विकासका लागि ठूलो आँट र साहसको आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ छ।
उनले मल सञ्चालनमा आएसँगै प्रदेशलाई व्यापारिक हब बनाउन मद्दत पुगेको बताए। राईले औद्योगिक नगरीमा मल तथा सपिङ कम्प्लेक्सको निर्माणले व्यापारमा प्रतिस्पर्धा बढाउने बताए। मुख्यमन्त्री राईले व्यापारिक प्रतिस्पर्धामा उपभोक्ताको हितमा सधैं सचेत रहन आग्रह गरे।
नेपालबाट भारतको जोगबनीतर्फ गई किनमेल गर्ने संस्कार बढ्दै गएका बेला सुविधासहित सुपरमार्केट र मल सञ्चालनमा आउन थालेपछि उपभोक्ता आकर्षित हुने अपेक्षा सञ्चालकले गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)