यसरी सुरु भयो मिथिलाको महाकुम्भ (फोटो फिचर)
जनकपुरधाम : मिथिलाको धार्मिक तथा ऐतिहासिक १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु भएको छ।
मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव मध्यमा परिक्रमालाई 'मिथिलाको महाकुम्भ’ पनि भनिन्छ। फागुन औंसीको दिनदेखि विधिवत रुपमा सुरु हुने यस परिक्रमामा लाखौं यात्रीहरू सहभागी हुने गर्दछन्। १५ दिनसम्म १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागु पूर्णिमाको दिन परिक्रमा जनकपुर आइपुग्छ। र, त्यसको भोलिपल्ट होली मनाउने चलन छ।
बुधबार धनुषाको ठेरा कचुरी गाउँमा रहेको मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोला हजारौँ यात्रीहरूसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा पुग्छ। त्यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमान गढी पुगेर विधिवत रुपमा १५ दिने यात्रा सुरु हुन्छ।
परिक्रमाको दोस्रो दिन रामसीताको डोला सहित यात्रुहरू भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन्। त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गर्ने गरिन्छ। तेस्रो दिन भारतकै गिरिजास्थान पुग्ने यात्रीहरू चौंथो दिन महोत्तरीको मटिहानी पुग्छन्। मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
मटिहानीबाट डोला जलेश्वर पुग्दछ। जलेश्वरनाथको दर्शनपछि पञ्चमी तिथिमा परिक्रमा यात्री मडै गाउँ पुग्ने गर्दछन्। मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। त्यहाँबाट ध्रुवकुण्ड हुँदै डोला कञ्चनवन पुग्छ। कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा यात्रीहरूले होली खेल्ने गर्छन्।
त्यसपछिको पडाव पर्वता हुन्छ। पर्वताबाट धनुषाधाम पुग्ने गरेका यात्रुहरूले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन्। दशमी तिथिमा सतोषर भन्ने स्थानमा यात्रीहरू बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी विश्राम गर्छन्। फागु पूर्णिमाको दिन डोला जनकपुर पुगेर यहाँ अन्तरगृह परिक्रमा गरी समापन हुने गर्दछ।
इतिहासकारहरूका अनुसार वि.स. १८१० देखि आरम्भ भएको यो परिक्रमा पहिला ५ दिनको अवधीमा सकिने गरिन्थ्यो। तर, पछि सीताकुण्डका सन्त सीयाराम दासले यसलाई १५ दिनको बनाएका हुन्। नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो यस परिक्रमाको पैदल यात्रामा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्दछन्।
पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःखकष्टको निवारण भई पाप नष्ट हुने जनविश्वासका रहेको छ जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव बताउँछन्। उनी भन्छन्, यो दुई देश बिचको सांस्कृति सम्बन्धको ठूलो पुल हो। यस परिक्रमाले दुई देशको सभ्यता र संस्कारलाई सम्बृद्ध बनाउने काम गरेको छ। परिक्रमाका सबै पडाव स्थलहरू रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानको रुपमा रहेका छन्।
परिक्रमा अवधिभरी सहभागी यात्रुहरूले चोखो खानेकुरा खाने, लहसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाई धुवाई गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियमहरू बनाइएको हुन्छ। यस परिक्रमाले नेपाल भारतको सम्बन्धलाई समेत परापूर्वकालदेखि प्रगाढ बनाएको महन्थ नवलकिशोर दासको भनाई छ।
जनकपुरमा फागू पूर्णिमाको दिन होलिका दहन पश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकि परिक्रमा समापन हुने गर्दछ। १५ दिवसीय परिक्रमामा सहभागी नभएकाहरू पनि अन्तरगृहमा सहभागी भई माध्यमिकि परिक्रमाको सहयात्री बन्ने गर्छन्। अन्तरगृह परिक्रमा सम्पन्न भएपछि जनकपुरमा होली आरम्भ हुन्छ। मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा र लब्धी गरी तीन प्रकारका परिक्रमा गरिने उल्लेख छ।
हेर्नुस् फोटोहरूः