हराएको सातापछि मादीमा भेटिएका प्रहरीको मृत्यु ‘शंकास्पद’
दमौली : हराएको एक सातापछि एकजना प्रहरी मृत भेटिएका छन् । अस्थायी प्रहरी चौकी कलेस्तीमा कार्यरत प्युठान घर भएका प्रहरी जवान २४ वर्षीय ठगेन्द्र घर्ती मगरको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेका छन् ।
ड्युटी सकेर घुम्न निस्किएका कलेस्ती अस्थायी प्रहरी चौकीका एक प्रहरी जवानको साता दिनपछि शव भेटिएको थियो । उनी गत फागुन १५ गते मंगलबार ड्युटी सकेर राति घुम्न निस्किएका थिए ।
मगर बेपत्ता भए पछि खोजी थालिएको थियो । उनको शव मंगलबार हराएको भनिएको ठाउँबाट केही मिटर पर डुबेको अवस्थामा भेटिएको थियो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण कुरिनटारका गोताखोरले शव झिकेका थिए ।
घटनालगत्तै प्युठानबाट आएका आफन्तले घटनास्थलको निरीक्षण गरेका थिए । उनीहरुले नदी तर्दा बगाउने अवस्था नदेखिएको भन्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।
मृतकका आफन्त एवं नेविसंघ प्युठानका अध्यक्ष एनपी मगरले घटनाको निष्पक्ष छानविन गर्न माग गरे । ‘हामीलाई यो घटना दुर्घटना भन्दा जानीजानी गरिएको घटनाजस्तो लागेको छ,’ उनले भने,‘यसको निष्पक्ष छानविन हुनुपर्छ ।’
पुल छाडेर किन मादी तरे ?
राति १० बजेतिर ड्युटी सकेर आफू बस्ने घरका घरबेटी शैलेन्द्र घिमिरेसँग मादी पारी चिन्टुटार गएका थिए । फर्कने क्रममा उनी बेपत्ता भएको सार्वजनिक भएको थियो ।
कलेस्तीबाट मादी तरेर जानुपर्ने चिन्टुटार जाँदा नजिकैको झोलुंगे पुलबाट तरेका मगर फर्कंदा भने मादी तरेर आएको सँगै गएका घिमिरेको बयान उद्धृत गर्दै प्रहरीले बताएको छ ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घटनाको राति फर्किएका घिमिरे पनि भिजेको अवस्थामा भेटिएका थिए । तर नजिकै भएको झोलुंगे पुल चढ्न छाडेर उनीहरु मादी नदी हिंडेरै तर्नुको कारणबारे भने प्रष्ट भएको छैन । जवान मगर कलेस्तीमा ड्युटी खटेको करिब तीन महिना मात्र भएको छ ।
प्रहरीले घटनाका बेला मगरसँगै गएका साथी घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ‘अनुसन्धान थालेका छौं,’ उनले भने,‘पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानका आधारमा निष्कर्षमा पुग्न सकिन्छ ।’